मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १५:१६:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

हुलाकी सडक चाँडै निर्माण नभए आमरण अनशन बस्ने कोशीका सांसदको चेतावनी

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:१६:oo

समयमा हुलाकी सडक निर्माण नहुँदा स्थानीय र यात्रीहरूले वर्षौँदेखि सास्ती खेपिरहनुपरेको भन्दै कोशी प्रदेश सभामा सांसदहरूले आक्रोश व्यक्त गरेका छन्। उक्त सडक चाँडै निर्माण सम्पन्न गर्न माग गर्दै सांसदहरूले अन्यथा आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

आइतबार कोशी प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सांसद भीम पराजुली र शिला दीक्षितले वर्षौँ बितिसक्दा पनि हुलाकी सडक निर्माण सम्पन्न नहुँदा पैदलयात्री र सवारीसाधनहरूले हदैसम्म सास्ती भोग्नुपरेको भन्दै चाँडो निर्माण गराउन माग गरे। कांग्रेसका सांसद पराजुलीले विराटनगरदेखि कटहरीको नयाँ बजारसम्मको आठ किलाेमिटर सडक वर्षौंदेखि अलपत्र हुँदा अन्यत्र निर्माण सम्पन्न भएको सडकको पनि उपयोग हुन नसकिरहेको बताए। सांसद पराजुलीका अनुसार आठ किलाेमिटर सडक निर्माण पूरा भए विराटनगरदेखि झापाको झिलझिलेसम्मको यात्रा सहज  र छिटो हुनेछ। 

सांसद पराजुलीलेले भने, ‘हिजो आफैँ हुलाकी मार्गबाट झापा गएको थिएँ। आठ किलाेमिटर क्षेत्रको अवस्था साह्रै दयनीय रहेछ। स्थानीयले सडकमै धान रोपेका रहेछन्। यसैले अब प्रदेश सरकार चुप लागेर बस्न मिल्दैन। यस्तै हो भने म प्रदेश सभाअगाडि अनशन बस्नेछु।’ सांसद शिला दीक्षित कार्कीले हुलाकी सडकको विराटनगर–कटहरी खण्ड जर्जर हुँदा हदैसम्म सास्ती भोग्नु परिरहेकाले संघको जिम्मेवारी भनेर प्रदेश सरकार अब चुपचाप टुलुटुलु हेरेर बस्न नहुने  बताइन्।

विराटनगरदेखि पूर्व कटहरीको नयाँ बजारसम्मको करिब सात किलाेमिटर हुलाकी सडक निर्माण गर्न २४ कात्तिक २०७६ मा श्रेष्ठ कन्स्ट्रक्सन प्रालि हेटौँडाले  निर्माण सम्झौता गरेको थियो। तर, ६ वर्ष बितिसक्दा पनि सडकको प्रगति अझै ३० प्रतिशत मात्रै भएको छ। दुईपटक म्याद थप गरिसक्दा पनि श्रेष्ठ कन्स्ट्रक्सनले अझै सडक निर्माण सम्पन्न गरेको छैन।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका अनुसार मोरङमा हुलाकी सडकको ४२ किलोमिटर क्षेत्र पर्छ। मोरङमा सात प्याकेजमा हुलाकी सडक निर्माण गर्ने ठेक्का सम्झौता भएर काम अगाडि बढाइएको थियो। जसमध्ये २६ किलोमिटर दूरी कालोपत्रे भइसकेको छ। तर, कटहरीको नयाँ बजारदेखि विराटनगरको हाटखोलासम्मको करिब आठ किलाेमिटर सडक अझै अलपत्र छ।

जिल्ला प्रशासन मोरङमा सोमबार मोरङ ४ नम्बर क्षेत्रका संघीय सांसद तथा पूर्वसामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सिडिओ इन्द्रदेव यादव, जिल्लाका सबै राजनीतिक दल, सडक विभाग, हुलाकी राजमार्ग आयोजना र जनप्रतिनिधिहरूसहितको सर्वपक्षीय बैठकबाट विराटनगरको हाटखोलादेखि कटहरी गाउँपालिकाको नयाँ बजारसम्मको सडक निर्माणमा हदैसम्म लापरबाही गरेको भन्दै ठेक्का रद्द गरी अर्को निर्माण कम्पनीमार्फत काम अगाडि बढाउनुपर्ने निर्णय भएको छ।

नयाँ बजार–विराटनगर खण्डको हुलाकी सडक निर्माण गर्ने कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनले भने समयमा भुक्तानी नपाएकाले काम सम्पन्न गर्न नसकिएको बताउँदै आएको  छ।