
प्रहरीले मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्ने काभ्रे पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नपा–९ का २४ वर्षीय समीर नेपाली र सोही नगरपालिका–४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन् ।
उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं र काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार उनीहरूले कोटेश्वर बस्ने सिन्धुलीका एक युवालाई भारतको चण्डीगढ लगि झुक्याएर मिर्गौला बेचिदिएका थिए । मिर्गौला बेचेबापत उनलाई उनीहरूले ६ लाख रुपैयाँ दिने भनेका थिए । तर, कबुल गरे बमोजिमको रकम नदिएपछि पीडितले ब्युरोमा उजुरी दिएका थिए । सोही उजुरीपछि घटनामा संलग्न तीनजनालाई ब्युरोले पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले पीडितलाई प्रति महिना १० देखि २० हजार रुपैयाँ कमाइ हुने भन्दै भारतको चण्डीगढ पुर्याएका थिए । महिना दिनसम्म होटलमा राखेपछि मिर्गौला बेच्ने प्रस्ताव गरेका थिए । इन्कार गरेपछि उनीहरूले पीडितलाई चण्डिगढसम्म आएको सबै खर्च ब्यहोर्न धम्की दिएका थिए । त्यसपछि पीडित मिर्गौला बेच्न राजी भएका थिए । तर, रकम भने नेपाल पुगेपछि मात्रै दिने भनेका थिए । सोही प्रलोभनमा नेपाल फर्किएका पीडितले कबुलेबमोजिमको रकम पाउन सकेका थिएनन् ।
एसपी कुँवरले भने, ‘प्रतिवादीहरूले भारतको होटलमा काम गर्दा मासिक १० देखि २० हजार भारतीय रुपैयाँ कमाई हुन्छ भनी प्रलोभन देखाए । पीडितलाई उनीहरूले बुटवल, भैरहवा हुँदै सुनौली बोर्डर पार गराए । भारतको चण्डीगढस्थित अपार्टेन्टमा लगेपछि भोलिपल्ट नाम नखुलेको क्लिनिकमा लगी मेडिकल चेकअप गराए । एक महिना बसेपछि मिर्गौला बेच्न प्रस्ताव गरे । त्यसबापत ६ लाख रुपैयाँ दिने प्रलोभन दिए । तर, पीडित तयार भएनन् । पछि यिनीहरूले लागेको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने भनी डर त्रास देखाए । त्यसपछि पीडितले मिर्गौला दिएको देखिन्छ ।’
घटनालगत्तै भएको विशेष अपरेसनपछि प्रहरीले समिरलाई नयाँ बसपार्कबाट राकेशलाई बानियाँटारबाट र राजकुमारलाई काभ्रेबाट पक्राउ गरेको हो ।