
काम गर्न भारतको उत्तराखण्ड गएका बर्दियाका चारजना गत मंगलबारदेखि सम्पर्कविहीन भएका छन्। मजदुरीका लागि भारत उत्तराखण्डको पौडीगढवाल गएका मधुवन नगरपालिका–६ का एकै परिवारका तीनसहित चारजना सम्पर्कविहीन भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
परिवारका सदस्यले सम्पर्कविहीन हुनेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन खड्का बेपत्ता भएको उनले बताए।
त्यसैगरी, मधुवन नगरपालिका– ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता पनि मंगलबारदेखि सम्पर्कविहीन छिन्। नरेन्द्र परिवारसहित गढवालको जमपुरीमा गएको र दैनिक ज्यालादारीमा काम गर्दै आएको परिवारलाई उदृढ गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। मंगलबार दिउँसोदेखि सम्पर्क हुन सकेको छैन। ‘हामी सम्पर्क गर्ने र खोजतलासमा जुटेका छौँ,’ उनले भने, ‘बिहीबार बेलुकीसम्म सम्पर्क हुन सकेको छैन।’
स्थानीयहरूलाई भारतमा रोजगारी खोज्न सहयोग गर्ने चित्रबहादुर पौडेल पनि घटनाका वेला पौडीगढवालमै भएको जानकारी पाएको उनको भनाइ छ। ‘चित्रबहादुर पनि घटना भएकै ठाउँमा हुनुहुन्थ्यो। शौच गर्न अन्यत्र गएकाले उहाँ जोगिनुभएछ। यस विषयमा जानकारी लिने काम भैरहेको छ,’ उनले भने।
उनीहरू पहिरोमा पुरिएको आशंका छ। ‘उहाँहरू बसेको ठाउँमा ठुलो पहिरो गएको भन्ने छ। अहिलेसम्म सम्पर्कमा नआएपछि पहिरोमा पुरिएको आशंका छ,' उनले भने।