Skip This
आठ कक्षामा पढ्ने छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार २१:२७:oo
Read Time : > 1 मिनेट
समाचार

आठ कक्षामा पढ्ने छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार २१:२७:oo

कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा (बालिका) साथीहरूबाटै सामुहिक बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई सोही विद्यालयमा कक्षा नौमा पढ्ने दुई छात्रले बलात्कार गरेकाे आराेप छ । 

विद्यालयबाट घर फर्कने क्रममा तिमीसँग कुरा गर्नुछ भन्दै अघिपछि लागेका कक्षा–९ मा अध्ययनरत दुईजना दाजुहरूले जंगलमा बाटो छेकेर बलात्कार गरेको पीडितले बताएकी छिन् । ‘१९ साउनमा साढे चार बजे विद्यालयबाट म घर फर्कँदै थिएँ । एकजना दाजुले तिमीसँग कुरा गर्नुछ भने । मसँगै पढ्ने साथीहरू आ–आफ्नो घर गइसकेका थिए । एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी थिएँ,’ उनी भन्छिन्, ‘केही बेरमा उनीहरू दुईजना भए । बाटो छेकेर एकछिन हामीसँग बस भने । उनीहरूले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । बसेर चटपटे खायौँ । त्यति खाइसकेपछि बाटो नजिकै रहेको ओढारमा लगे । उनीहरुले मलाई बोल्न दिइएनन । त्यसपछि पालैपालो बलात्कार गरे । दुई पटकसम्म गरेको थाहा छ । त्यसपछि के–के गरे थाहा छैन । बिहान होस खुल्दा एक्लै थिएँ ।’

विद्यालय गएकी बालिका साथीहरुबाटै बलात्कृत भएको जानकारी पाएपछि आफन्तले २० साउनमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका छन् । विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई बाटो छेकेर सामुहिक बलात्कार गरेको पुष्टि भएपछि दोषीमाथि कानूनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराइएको बालिकाका आफन्तले बताएका छन् ।

विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान ५ः३० बजे घरभन्दा करिब पाँच सय मिटर परको राम्चेभीरस्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारेको बालिकाको दाजुले बताए । ‘१९ साउन विद्यालय गएकी बहिनी अबेरसम्म घर आइनन । रातभर खोजी गर्याेँ । फेला परिनन,’ उनले भने, ‘ओढारभित्र एक्लै झोक्राएको अवस्थामा फेला परेकी बहिनीलाई सोध्दा एउटै विद्यालयमा पढ्ने दुईजना छात्रले बलात्कार गरेको बताइन् । नाबालक बहिनीमाथि बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर जाहेरी दिएका हौँ ।’

बालिका बलात्कृत भएको उजुरी कार्यालयमा परेलगत्तै सोही राति बालिकाको स्वास्थ्य परीक्षण गराएर २१ साउनमा दुईजनाविरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए । ‘जिल्ला अस्पताल खोटाङमा लगेर स्वास्थ्य परीक्षण गराउँदा बालिका बलात्कृत भएको भन्ने प्रतिवेदन प्राप्त भएको छ । सामुहिक बलात्कृत भएको भनिएकी बालिकाको अवस्था अहिले सामान्य छ,’ उनले भने, ‘बालिकाको आफन्तले दिएको किटानी जाहेरीको आधारमा सोही विद्यालयका दुईजना छात्रविरुद्ध मुद्दा दर्ता गरेका छौँ । आरोपितहरू अहिले फरार छन् । मुद्दा दर्ता गरेलगत्तै २१ साउनमा जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी लिएर उनीहरूको खोजी कार्य सुरु गरिएको छ ।’

बालिकालाई २२ साउनमा आफन्तको जिम्मा लगाएर घर पठाएको प्रहरीले जनाएको छ । विद्यालय पोशाकमै बलात्कृत भएकी बालिकाले लगाएको पोशाकसमेत प्रमाणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर प्रहरीलाई बुझाएको आफन्तले बताएका छन् । 

मुद्दा दर्तापछि विभिन्न ठाउँबाट मिलापत्र गर्न दबाब आउन थालेको पीडित पक्षले बताएका छन् । विद्यालयले उपलब्ध गराएको जानकारीअनुसार बालिकामाथि सामुहिक बलात्कार गरेको आरोप लागेका राई थरका छात्र १५ वर्षका र विश्वकर्मा थरका अर्का छात्र १६ वर्षका छन् ।