
लामो सुक्खापछि निरन्तरको वर्षापछि जोखिम आकलन गर्दै जिल्ला विपत् व्यवस्थापन समितिले रातु नदी निरीक्षण गरेको छ । रातु नदीमा सोमबार बिहान पानीको सतह बढेपछि यसको असर बुझ्न तथा सम्भावित जोखिम आकलन गर्न समितिले अनुगमन तथा निरीक्षण गरेको हो ।
निरन्तरको वर्षाले किसानलाई फाइदा पुगे पनि चुरे क्षेत्रबाट रातु नदीमा आएको पानीले केही स्थानमा पानीको सतह बढेपछि समितिले सजग र सतर्क रहन सर्वसाधारणलाई निर्देशन दिएको छ । अत्यधिक पानीले केही बस्ती जोखिममा पर्न सक्ने सम्भावनालाई नकार्न नसकिने भन्दै समिति यसप्रति सजग रहेको र सोही सजगतालाई मध्यनजर गर्दै नदीहरूको अवस्था नियमित बुझ्दै स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए। उनले अहिलेसम्म तटबन्धहरू सुरक्षित रहेको पनि बताए ।
जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णले तटबन्धको अवस्था, सम्भावित क्षति र जोखिम न्यूनीकरणका उपायहरूबारे स्थलगत अवलोकन गर्दै आवश्यक तयारी र समन्वयात्मक पहल थालिएको बताए । उनले मधेश कहिले सुक्खाले र कहिले बाढीले पीडित हुने गरेकोमा दुवै परिस्थितिमा तयारी रह्नुपर्ने भएकोले स्थलगत अनुगमनले पूर्वतयारीमा सहयोग पुग्ने बताए।
महोत्तरीमा ४९ प्रतिशत रोपाइँ
महोत्तरीमा ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका निमित्त कार्यालय प्रमुख देवानन्दराय यादवले वर्षासँगै किसानमा आशा पलाएको र रोपाइँमा तीव्रता दिएको बताए ।
उनले पानी अभावमा आशा छोडिसकेका किसानहरू पछिल्लो तिन दिनदेखि वर्षात् भई खेतमा पानी लाग्न थालेपछि उत्साहित भएको बताए । अझै बाँचेका धानको बेर्नाहरू उखेलेर किसानहरू नयाँ बेर्ना लगाउन व्यस्त छन् ।
खेतमा पानी लाग्ने अवस्था नरहेको स्थानहरूमा समेत नहर तथा पैनीहरूमा आएको पानी मोटरले पट्याउँदै किसानहरू धान रोपिरहेको उनले बताए ।
स्थानीय तहगत रूपमा महोत्तरीको गौशाला नगरपालिकामा ८७ प्रतिशत, औरही नगरपालिकामा ८० प्रतिशत, बर्दिवास नगरपालिकामा ६५ प्रतिशत, भंगहा नगरपालिकामा ६० प्रतिशत, रामगोपालपुर नगरपालिकामा ६० प्रतिशत, सम्सी गाउँपालिकामा ६० प्रतिशत, बल्वा नगरपालिकामा ६० प्रतिशत, लोहारपट्टी नगरपालिकामा ४५ प्रतिशत, सोनमा गाउँपालिकामा ४० प्रतिशत, मटिहानी नगरपालिकामा ३५ प्रतिशत, महोत्तरी गाउँपालिकामा ३५ प्रतिशत, जलेश्वर नगरपालिकामा ३० प्रतिशत, पिपरा गाउँपालिकामा २३ प्रतिशत, एकडारा गाउँपालिकामा २० प्रतिशत र मनरा सिस्वा नगरपालिकामा १३ प्रतिशत रोपाइँ भएको छ ।