मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
Invalid date format २१:४९:oo
Read Time : < 1 मिनेट
समाचार

राहत प्याकेजविनै सुक्खा क्षेत्र घोषणा सरकारको गैरजिम्मेवारीः प्रभु साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४९:oo

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेशलाई सुक्खा क्षेत्र घोषणा गरे पनि राहत प्याकेज घोषणा नगरेको भन्दै सरकारको आलोचना गरेका छन्। उनले यस्तो कदमलाई हावादारी र गैरजिम्मेवार भन्दै सरकारलाई जनताको पीडासँग खेलबाड नगर्न चेतावनी दिएका छन्।

बाराको कलैयामा आजपाले आयोजना गरेको कार्यक्रममा साहले जलसंकटबाट ग्रसित मधेशका जनतालाई सहयोगको साटो सरकारको घोषणा मात्र आएको बताए। ‘घोषणा गरेर मात्रै हुने होइन, समस्यामा परेका नागरिकका लागि राहत प्याकेज ल्याउनु सरकारको कर्तव्य हो,’ उनले भने।

सरकारले मधेशका आठ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि हालसम्म कुनै प्रभावकारी कदम चाल्न नसकेको उनले बताए। उनले प्रधानमन्त्री केपी ओलीले हेलिकोप्टरमा सयर गर्दै पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको स्मरण गराउँदै, ‘ती डिपबोरिङ कहाँ गाडिएका छन् ?’ भन्ने प्रश्न उठाए।

‘प्रधानमन्त्रीजी न योजना छ, न बजेट, न कार्यान्वयनको सुरुवात, केवल आश्वासन बाँडेर जनताको भावनामाथि खेलबाड नगरौँ,’ साहको चेतावनी थियो।

कार्यक्रममा आजपा बाराका अध्यक्ष राजकिशोर साहसहित केन्द्रीय नेताहरू अशोक लामा, त्रिभुवन साह, उमेश कुशवाहा, विजय यादवलगायतले पनि मधेशमा गम्भीर जलसंकट भएको र तत्काल राहत प्याकेज ल्याउन माग गरे।

हाल मधेशमा इनार र चापाकल सुकेका छन्, जनतालाई खानेपानीको अभावले पीडा भोग्नुपरेको छ। सरकारले संकटग्रस्त घोषणा गरे पनि राहत अझै नपुगेको उनीहरूको भनाइ छ।