
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरोकारवाला निकाय र सरकारसँग आग्रह गरेका छन्।
उनले क्रिकेट रंगशाला र खेलग्राम निर्माणको योजना लगानीको कमीले सँगै कार्यान्वयन गर्न नसकिने बताए। ‘फाप्ला चर्चामै सीमित रहने अवस्था छ। त्यत्रो लगानीको त्यति ठुलो ठुलो योजना कसरी सम्पन्न होला,’ धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सबैलाई एउटैमा राख्नुभन्दा क्रिकेटलाई मात्र छुट्टै राखेर अगाडि बढाउनुपर्छ।’
रंगशाला र खेलग्रामको योजना निर्माणमा अर्बौँ रुपैयाँ लाग्ने र स्रोतका कारण त्यो कार्यान्वयनमा समस्या हुने उनको भनाइ थियो।
फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामको डिपिआर हालै तयार भएको छ। डिपिआरअनुसार रंगशाला र खेलग्राम बनाउन २६ अर्ब लाग्ने अनुमान गरिएको छ। समग्र खेलग्रामलाई एउटैमा राख्दा क्रिकेट ओझेलमा पर्ने भन्दै क्यान अध्यक्ष चन्दले क्रिकेटलाई छुट्याएर काम सुरु गर्नुपर्ने धारणा राखे।
सुदूरपश्चिमका चर्चित र उदीयमान खेलाडीले यहीँको मैदानमा खेल्न पाए मात्र यहाँको क्रिकेटप्रतिको आकर्षण कायम राख्न सकिने उनको भनाइ थियो। ‘सुदूरपश्चिमको मैदानमा यस क्षेत्रका खेलाडी दीपेन्द्रसिंह ऐरी, लोकेश बमले खेल्नु प¥यो, नयाँ उदीयमान युवराज खत्रीलगायतले खेल्ने मौका पाउनु प¥यो,’ उनले भने ‘अहिले उत्कृष्ट खेलाडीको पुस्ता छ। यी खेलाडी रिटायर्ड भएपछि क्रिकेटको क्रेज डाउन हुन्छ। यिनैले खेल्न पाउने अवस्था बनाउन जरुरी छ। अहिले रंगशाला बनाउने उपयुक्त समय हो।’
उनले फाप्लामा क्रिकेट पूर्वाधार निर्माणबारे विकास समितिले क्यानसँगै कुनै छलफल र समन्वय नगरेकोमा असन्तुष्टि जनाए। नेपाली क्रिकेटमा यहाँसम्म पु¥याउन सुदूरपश्चिमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो। ‘नेपाली क्रिकेटलाई यहाँसम्म पु¥याउन प्रशासनिक र खेलाडीको योगदानको रुपमा सुदूरपश्चिमको सबैभन्दा ठूलो योगदान छ,’ चन्दले भने, ‘यो सुदूरपश्चिमका लागि गौरवको विषय हो।’ खेल पूर्वाधारको हिसाबले भने सुदूरपश्चिम सबैभन्दा कमजोर रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिममा एउटा पनि राष्ट्रियस्तरको राम्रो पूर्वाधार बन्न नसकेको बताए।
अध्यक्ष चन्दले नेपाल प्रिमियर लिगको पहिलो संस्करण सफल भएको दावी गर्दै दोस्रो संस्करणको तयारी भइरहेको जानकारी दिए। ‘एनपिएल आम नेपालीको साझा खेल बनेको छ। सबैले माया गरेका छन्। नेपाल प्रिमियर लिगका विवादहरु, त्यसका हिसाबकिताबका कुराहरु भनेको सामान्य कुरा हो’ उनले भने, ‘प्रकृयागतरुपमा यो सहज हुँदै जान्छ, टुङ्गिदै जान्छ।’ एनपिएलको तयारीमा पुरानै टीमले काम गरिरहेको उनले जानकारी दिए। हिसाब पारित गर्न केही समय लागेको उनको भनाइ थियो।
खेलाडीले पाउने अवसर र छनोटमा क्यानले कुनै भेदभाव नगरेको उनले दावी गरे। त्रिवि रंगशाला एनपिएलको दोस्रो सिजनअघि नै हस्तान्तरण हुने चन्दले विश्वास व्यक्त गरे।