
चीनको राजनीतिक, आर्थिक तथा सामाजिक प्रणालीलाई चीनबाहिरबाट जसरी बुझ्ने गरिएको छ, चीनभित्रबाट फरक अनुभूती हुने गर्दछ। त्यही वास्तविकतालाई नजिकबाट नियाल्न र महसुस गराउन चीन सरकारले नागरिक कुटनीतिलाई जोड दिँदै संसारका विभिन्न देशका विविध क्षेत्रका मान्छेहरुलाई चीनमा बोलाएर तालिम दिने गर्दछ। उक्त तालिममा चिनीयाँ प्राचिन इतिहास, दर्शन, संस्कृति, मूल्य मान्यता, राजनीतिक तथा आर्थिक प्रणालीलगायत आधुनिक चीनको विकास र समृद्धिको बारेमा जानकारी गराउने गरेको छ। चीनको बिशाल भुगोल, लामो इतिहास, राजनीतिक तथा आर्थिक प्रणाली र आधुनिक अद्भूत विकासलाई छोटो समयको लागि तालिममा जानेको चीनप्रतिको बुझाइ पक्कै सिमित हुन्छ।यद्यपि, चिनीयाँहरुले चीनबारे अरुलाई कसरी बुझाउन चाहन्छन् र हामीले कसरी बुझ्ने भन्ने कुराको बिम्ब भने तालिमबाट प्राप्त ज्ञान र अनुभवबाट प्रस्तुत गर्न सकिन्छ।
चीन सरकारको आयोजनामा हुने वित्त व्यवस्थापन विषयक तालिममा नेपाल सरकारका तीनजना सहसचिवसहित विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कोष तथा लेखा नियन्त्रक कार्यालय, महालेखापरीक्षकको कार्यालय, जिल्ला समन्वय समिति, संसद सचिवालयलगायतमा कार्यरत अधिकृतहरुको टोली नेपालबाट गर्मीयाम श्रावण महिनामा चीनतर्फ प्रस्थान गर्यो। टोलीमा संलग्नमध्ये केही प्रतिनिधिहरुको बैदेशिक भ्रमण पहिलो थियो भने केही अधिकारीहरु चीनका लागि पहिलो र केहीका लागि चीन धेरै पटकको यात्रा थियो।कार्यक्रम आयोजकहरुसँग नेपाल छोड्नुअघि नै विच्याट ग्रुपमा जोडिएकोले उनिहरुले समयसमयमा हामीसँग सम्पर्क गरिरहेका थिए। चीनको बेइजिङ एयरपोर्टमा आउनुभन्दा अघि नै कार्यक्रम संयोजक अल्वर्टले तपाइँहरुलाई लिन हाम्रा दुईजना प्रतिनिधि एयरपोर्टको पश्चिम एक्स गेटमा हुनुहुन्छ भनेर म्यासेज गरेका रहेछन्। हामी म्यासेज नहेरी अर्को दिशातर्फ अगाडि बढेछौं। त्यहाँका एकजना कर्मचारीलाई सोधेपछि उनले उक्त ठाउँमा पुर्याइदिए। त्यहाँ हामीलाई लिन कलेज पढ्दै उक्त संस्थामा इन्टर्नसिप गर्दै गरेका तीनजना किशोरीहरु आएका रहेछन्। त्यसछि आयोजक संस्थाले व्यवस्थापन गरेको बस चढेर उनिहरुसँगै कार्यक्रम स्थलतिर लाग्यौं। कार्यक्रम स्थल बेइजिङस्थित एकेडेमी फर इन्टरनेश्नल बिजिनेश अफिसियल थियो जहाँ पुग्न विमानस्थलदेखि करिव एक घण्टा ३० मिनेट लाग्यो। एयरपोर्टबाट बाहिर बसमा आउँदा सडकको दायाँबाँया देखिने हरियाली र स्वच्छ वातावरणले मन पुलकिन बनाउँथ्यो जुन बेइजिङको वातावरणको अवस्थाबारे बाहिरबाट बुझेको भन्दा फरक थियो।
कार्यक्रमस्थान एकेडेमी फर इन्टरनेश्नल बिजिनेश अफिसियल चीन सरकारको वाणिज्य मन्त्रालयअन्तर्गत रहेको तालिम दिने एक प्रतिष्ठान रहेछ। जसलाई छोटकरीमा आइबो भनिँदो रहेछ। वरिपरी हिरियाली र शान्त वातावरण रहेको उक्त प्रतिष्ठान सुविधासम्पन्न र आकर्षित रहेछ। सहभागीहरुका लागि होस्टलसहित पौडीलगायत प्राय सबै प्रकारका खेलहरु खेल्ने सुविधासमेत छ। गएको भोलिपल्ट विहान साथीहरुले होस्टेलको बसाइ र खानपानबारे अनुभव साटासाट गर्न थाल्यौं। प्राय सबैमा नयाँ उमङ्ग थियो भने सँगै केही असहजता पनि। केही साथीहरु भन्दै थिए– यहाँको ट्वाइलेटमा त पानी नहुने रहेछ, पेपर मात्र हुँदो रहेछ। गाह्रो हुने भयो। केही साथीहरु नेपालदेखि नै खानाका बारेमा चिन्तित थिए।उनिहरु भन्दै थिए– चीनमा मसलाको बास्ना मिठो हुँदैन अरे। अलिकती चाट मसला लैजानु पर्ला त्यहाँको खानामा छुस्स हालेर खान हुन्छ। कोही साथीहरुले भनेका थिए– हैन चाउचाउ, चिउरा र सातु पो बोक्नुपर्ला, उताको खान सकिएन भने त्यही खाएर भएपनि बस्नु पर्ला।साथीहरुलाई अर्को पनि पिर थियो की कतै गाइगोरुको मासु (बिफ) मिसाएको खानेकुरा पो पर्ला की। प्रायः नेपालबाट बैदेशिक भ्रमणमा जाने हिन्दु धार्मालम्बीहरुलाई गाइगोरुको मासु खाइएला कि भन्ने ठुलो पिर हुन्छ। फरक सामाजिक साँस्कृतिक परिवेसमा कसरी समायित हुने भन्ने कुरा सोच्नु स्वभाविक हो। परिस्थितिभन्दा फरक भएर अनुमान गर्नाले कहिलेकाहीँ आफैंलाई दुख हुन्छ। केही साथीहरु बिदेश जाँदा गाईगोरुको मासु खाइएला भनेर फलफुल र बियर मात्र खाएर भोकले लखतरान परेर फर्किने पनि गर्छन् रे। हाम्रो समूहमा पनि केही साथीहरुले निकै असहज महसूस गरिरहेका थिए। म आफू चाहीँ खानामा उति धेरै छनौट नगर्ने भएकोले बिदेशी खानामा अरुची हुँदैन।
सामान्यता दुई देशबीच सम्झौता भएर सञ्चालन भएका कार्यक्रमहरुमा आयोजकले सम्बन्धित देशको सामाजिक तथा साँस्कृतिक मूल्य मान्यतालाई सकेसम्म ख्याल गरेर कार्यक्रमको व्यवस्थापन गरेको हुन्छ। अन्य देशका पनि सहभागी भएको कार्यक्रममा बिफको कुनै एक परिकार राखेको भए पनि अन्य खानाहरु रोजेर खान सकिने अवस्था हुन्छ। त्यसैले आयोजकले सोहीअनुसार खानाको व्यवस्थापन गरेको रहेछ। बेइजिङ्ग शहरमा पाइने विभिन्न खानाहरुमध्ये पेकिङ डक परम्परागत र लोकप्रिय परिकार हो। रोस्ट गरेर बनाइएको हाँसको मासु होइसिन सससँग चोबेर खान निक्कै मज्जा आउने। झाजियानमेन अर्को लोकप्रिय परिकार हो। यो चाहीँ नुडल्स जसलाई साभोरी सोयाविन पेष्टसँग मिसाएर बनाइएको हुन्छ। यो पनि स्वादिलो खाना हो। आयोजकले कहिलेकाहीँ स्थानीय खानाको स्वाद चखाउन खानामा यी परिकार समावेश गरेको भए पनि प्रायजसो भात, विभिन्न सलाद, उसिनेको फर्सि, तरुल, सखरखण्ड, मकै, भटमासको कोसा पनि खानामा समावेश गरेको रहेछन्। यति भएपछि अन्य खान नचाहने नेपाली जिब्रोको लागि पर्याप्त हुने भइहाल्यो।कार्यक्रम अवधिभर स्वस्थ्य र स्वादिष्ट खाना भएकोले नेपालदेखि खानको बारेमा चासो राख्ने साथीहरुका लागि पनि उति धेरै चिन्ता गर्ने अवस्था रहेन।
तालिम कार्यक्रमहरुमा सहभागी हुन पाउनु भनेको उक्त ठाउँ घुम्ने अवसर पनि हो।बेइजिङमा महत्वपूर्ण घुम्ने ठाउँहरु छन्। आयोजक संस्थाले नै मूख्य मूख्य ठाउँहरु घुमाउने कार्यक्रम राखेकोले हामीहरुले द ग्रेट वाल, नेपाली सुप्रशिद्ध कलाकार अरनिकोले डिजाइन गरेको बैत्य मन्दिरजस्ता ऐतिहासिक ठाउँहरु घुम्ने अवसर मिल्यो। त्यसपछि तालिम कक्षा सकिए पछि आफैं घुम्ने दैनिक कार्यक्रम नियमितजस्तै बन्यो। बेइजिङ मेट्रो सबैभन्दा सजिलो यातायात माध्यम हो। जमिन मुनी रहेको मेट्रो रेलवे देख्दा पहिलो पटक मेट्रो सवार गर्ने साथीहरु निकै रोमान्चित हुनुभयो। रेलवे स्टेशनमा राखिएका नक्सा वा मोवाइलको म्याप हेरेर दुई तीन तह भएको अन्डरग्राउड स्टेशनमा ठाउँ पत्ता लगाएर पुग्न पहिलोपटक भने निकै सकस हुने गर्दछ। यात्राको क्रममा साथीहरु हराउने र भेटिने पनि एक प्रकारको हाँसोठट्टा गर्ने क्षण बन्ने गर्छ। केही साथीहरु घुम्न निस्किँदा बाटो भुलेर पछि ट्याक्सी चढेर आएको थाह पाएर जिस्क्याउन पनि खुबै मज्जा आउने। ग्रेटवाल र बैत्य मन्दिरका साथै फरविडन सिटी, पेकिङ अपेरा, हुटङ र तियानमेन स्क्वायर बेइजिङमा घुम्म लायकका ठाउँहरु हुन्।
तियानमेन स्क्वायरमा अध्यक्ष माओको स्मारक हेर्नजान बाहेक बेइजिङ घुम्दा खासै सुरक्षा जाँच हुँदैन। चीनलाई बाहिरबाट धेरैले घुम्ने स्वतन्त्र छैन,कडा निगरानी हुनछ भन्ने गरिएको छ वास्तवमा त्यस्तो रहेन छ। घुम्नको लागि कहिँ कसैले अवरोध गर्ने अवस्था छैन। सायद शहरमा राखिएका सिसिटीभी क्यामेराले निगरानी गरिरहेको हुँदोहो। रातीको घुमघाम पनि बेइजिङ शहरमा सुरक्षित मानिन्छ। खुद्रा बजारमा सामानहरु किन्दा भने धेरै वार्गेनिङ गर्नुपर्ने रहेछ। बेइजिङ मात्र हैन चीनमा घुम्दा र किनमेल गर्दा भाषाको ठुलो समस्या हुन्छ।यहाँ प्रायले अंग्रेजी नबुझ्ने र हामीले चाइनिज भाषा नबुझ्ने। तर हिजोआज मोबाइल एप्सले धेरै सजिलो बनाएको छ। मोबाइलमा उल्था गरेर जेनतेन काम चलाउन सकिन्छ।
चीनका अधिकारीहरु जानेर पनि अंग्रेजी भाषा बोल्दैनन्, तालिम कार्यक्रममा पनि चाइनिज भाषालाई अंग्रेजीमा उल्था गरेर पढाइन्छ भन्ने गरिएको छ, तर हामी सहभागी भएको तालिम कार्यक्रममा त्यस्तो अवस्था देखिएन। तालिममा पढाउन आउने युनिभर्सिटीका प्राध्यापकलगायत सबै विद्वानहरुले प्रष्ट अंग्रेजी भाषामा नै पढाए।
यसका साथै, चीनको सञ्चार कानुनअनुसार गुगल, फेसबुकलगायतका अनलाइन जुन चीनभन्दा बाहिरबाट निर्माण गरिएका छन् त्यस्ता कुनै पनि अनलाइन प्रणालीहरु भिपिएनविना चलाउन मिल्दैन। उनिहरुले आफ्नो अनलाइन सञ्चार प्रणालीलाई आफ्नै तवरले व्यवस्थापन गरेका छन्। चीनले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा प्रणालीको रुपमा जसरी प्राचिनकालमा ग्रेट वाल बनायो त्यसरी नै साइबर सुरक्षाको लागि आधुनिककालमा आफ्नै अनलाइन प्रणाली विकास गरेर अत्याधुनिक ‘अनलाइन ग्रेटवाल’ निर्माण गरेको छ।अनलाइन प्रणालीमा पनि चाइनिज भाषा नै हुने भएकोले चाइनिज भाषा नबुझ्नेहरुका लागि अनलाइन चलाउन निकै सकस हुने गर्दछ। डिपसिक र विच्याटमा केही चीनसँग सम्बन्धित अध्ययन सामग्रीहरु खोजी गर्दा सहज प्राप्त हुने भए पनि चीनको राजनीतिक तथा सामाजिक व्यवस्थासम्बन्धी सामग्रीहरु भने संवेदनशील मानिन्छ। सायद यसको अर्थ चीनको वास्तविकतालाई तोडमोड नगरियोस् भन्ने होला। चीनको विकास र समृद्धिबारेका सामग्रीहरुमा भने सहज पहुँच छ। चिनीयाँ राष्ट्रपति सि जिङपिङ बारेको पुस्ताक ‘सि जिङपिङ : द गभरनेन्स अफ चाइना’ एकदेखि तीनसम्मको भोल्युम होस्टेलका प्रत्येक कोठाहरुमा राखिएको छ। तालिम कार्यक्रमका संयोजकले भनेका थिए– होस्टेलका कुनै पनि सामग्रीहरु लिएर नजानुहोला। तर तपाइँ चाहनुहुन्छ भने राष्ट्रपति बारेको पुस्तक भने लैजान सक्नुहुन्छ। यसले पनि के देखाउँछ भने चीनले आफ्नो राम्रो कुराहरु संसारलाई सुनाउन चाहन्छ।
चीनमा हुने तालिम कार्यक्रम कक्षा शिक्षण र अवलोकन भ्रमण दुवै हुन्छ। चाइनिज युनिभर्सिटीका विद्वान प्रोफेसर, पूर्वराजदुतहरुले चीनको इतिहास, दर्शन, सामाजिक मूल्य प्रणाली, राजनीतिक व्यवस्था तथा शासकीय प्रवन्ध, अन्तराष्ट्रिय सम्बन्ध, वाणिज्य नीति तथा कर प्रशासन, विश्व व्यवस्थामा चीनको भूमिकालगायत समसामयिक विषयमा पढाउने गर्छन्।प्रत्येक कक्षाहरुमा भएका बिषयवस्तुहरुलाई गहिरिएर बुझ्न खोज्ने र चासो दिने हो भने चीनलाई यथार्थमा बुझ्न मात्र हैन नेपालको शासकीय प्रवन्ध बारे पनि रचनात्मक तवरले सोच्न सहयोग गर्दछ।