
नवनियुक्त मन्त्रीहरूको सपथ रोकेर बिहीबार बिहानै काठमाडौं पुगेका बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पताल भर्ना भएका छन् । उनलाई काठमाडौंको धापसीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका प्रेस सल्लाहकार सरिता दाहालले जानकारी दिइन् ।
बिहान पिसाबमा रगत देखिएपछि प्रदेश प्रमुख उपचारको लागि काठमाडौं गएका हुन् । प्रेस सल्लाहकार दाहालका अनुसार प्रदेश प्रमु्ख देवकोटोको पिसाबमा रगतका साथै मिर्गौलामा पथ्थरी देखिएको छ ।
परीक्षणबाट प्रदेश प्रमुखको मिर्गौलामा ५५ एमएमको पथ्थरी देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको उनले बताइन् । यस्तै, प्रदेश प्रमुखको प्रेस्टेट पनि बढेको छ । प्रेस सल्लाहाकार दाहालका अनुसार प्रदेश प्रमुखलाई १२ साउनदेखिनै स्वास्थ्यमा समस्या देखिएको थियो ।
बिहीबार दिउँसो १ बजेका लागि मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले नियुक्त गरेका तीनजना मन्त्रीहरूको सपथ कार्यक्रम तय गरिएको थियो । तर बिहीबार बिहान प्रदेश प्रमुख अस्वस्थ भएर काठमाडौं गएपछि उनीहरूको सपथ रोकिएको छ ।