मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025
तारिक महमुद
२o८२ श्रावण १५ बिहीबार ११:२४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायत नश्लभेदी ‘डिस्टोपिया’मा प्रवेश गर्दै

बेलायतमा हुर्किंदै गरेको उग्र–जातीय घृणा उसैको उपनिवेशवादी इतिहाससँग गाँसिएको छ

Read Time : > 2 मिनेट
तारिक महमुद
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार ११:२४:oo

बेलायतभर नश्लीय दंगा भड्काउने साउथपोर्ट आक्रमणको एक वर्ष पूरा भइसकेको छ । ‘आक्रमणकारी मुसलमान थियो’ भन्ने झुटा दाबीले उचालिएको भिडले मस्जिद, मुसलमानको व्यापार, घर र व्यक्तिमाथि आक्रमण गर्‍यो । त्यही वेला म ‘द सेकेन्ड कमिङ’ उपन्यासको अन्तिम अध्याय लेख्दै थिएँ, जहाँ एक इसाई मिलिसियाले लन्डन कब्जा गरी इस्लाममा प्रतिबन्ध लगाउँछ र मुसलमानलाई निर्वासित गर्छ । यथार्थमा घटिरहेका घटनाले हाम्रो वर्तमान अवस्था उपन्यासको डिस्टोपियन (विपर्यय एवं त्रासद) कल्पनासँग भयावह रूपमा मेल खान थालिसकेको छ ।

यो उपन्यास लेख्दा म मेरो युवाकालीन इंग्ल्यान्ड सम्झिरहेको थिएँ, जहाँ नश्लीय हिंसा सामान्य थियो । पब बन्द भएपछि गोरा युवाले ‘पाकी ब्यासिङ’ भन्दै आक्रमण गर्थे, चक्कु प्रहार र आगजनी भइरहन्थ्यो । उग्र–दक्षिणपन्थी समूह गैरश्वेत आप्रवासीलाई देशनिकाला गर्न माग गर्थे । विद्यालय जानु नश्लीय दुव्र्यवहार पार गरेर जानुजस्तै हुन्थ्यो र खेलमैदानमा समेत गोरा बालबालिकाले नश्लीय गीत गाएर घेराबन्दी गर्थे ।

विद्यार्थीकालमा विद्यालय, सडक, पब वा अन्य ठाउँमा मलाई गरिएको शारीरिक आक्रमणको कुनै हिसाबै छैन । जब म इस्ट लन्डनमा बस्थेँ म ब्रिक लेनका स्थानीय युवासँग थिएँ, जहाँ नश्लीय आक्रमण रोक्न हात हालाहालको लडाइँसम्म पुगिन्थ्यो । यस्ता आक्रमण एक्लाएक्लै भएका घटना थिएनन्, अर्थात् देशभर यस्तै दृश्य दोहोरिन्थे, जहाँ नेसनल फ्रन्ट र ब्रिटिस नेसनल पार्टीले सयौँ र्‍याली आयोजना गर्थे र श्वेत–सर्वोच्चतावादी समूहलाई थप प्रोत्साहन गर्थे ।

त्यसैवेला म र मेरा केही साथी पक्राउ पर्‍यौँ र ‘विस्फोटक बनाउने षड्यन्त्र’ अभियोगमा मुद्दा चलाइयो । हामीले दुधको बोतलमा पेट्रोल भरेर नश्लीय आक्रमणबाट आफ्ना समुदायको रक्षा गर्ने उपाय अपनाएका थियौँ । यो मुद्दा ‘ब्राडफोर्ड १२’ भनेर चिनियो । ‘ब्रिक लेन’ होस् वा ब्राडफोर्ड यी सबै संघर्ष संस्थागत नश्लीय भेदभाव र डर एवं विभाजन फैलाउन खोज्ने दक्षिणपन्थी विचारधाराविरुद्धको व्यापक संघर्षका हिस्सा थिए । 

ती वर्षमा देखिएको खुला सडक हिंसा भयावह थिए, तर त्यो हिंसा समाजको किनाराबाट आएको थियो । शासक राजनीतिक वर्ग त्यसमा संलग्न भए पनि यी समूहसँग खुला रूपमा नजोडिएको देखाउन प्रयास गर्थे । यसको उदाहरण मार्गरेट थ्याचर हुन्, जसले सन् १९७८ मा कन्जर्भेटिभ पार्टीको नेताको हैसियतले एउटा कुख्यात अन्तर्वार्ता दिएकी थिइन् । जहाँ उनले ‘यो देश फरक संस्कृतिका मानिसले पूरै डुबाइदेला भनेर मानिस साँच्चै डराइरहेका छन्’ भनेकी थिइन् । यो कुरा नश्लीय हिंसा मच्चाउने भिडप्रति एक किसिमको परोक्ष अनुमोदन थियो, तर प्रधानमन्त्री बनेपछि थ्याचरले यस्ता समूहसँग दूरी कायम राखिन् । आज त्यो दूरी हराइसकेको छ । प्रधानमन्त्री कियर स्टार्मर र लेबर पार्टीका अन्य प्रमुख नेताले उग्र–दक्षिणपन्थी भाषाशैली दोहोर्‍याउने गरेका छन् र शरण खोज्नेलाई ‘कडाइसाथ नियन्त्रण गर्ने’ वाचा गर्छन् । उनका कन्जर्भेटिभ पूर्ववर्ती ऋषि सुनक र मन्त्री पनि त्यही धारमा थिए । गृहमन्त्री सुवेला ब्रेभरम्यानले यौन शोषण गर्ने गिरोहमा ‘बेलायती पाकिस्तानी पुरुषको बाहुल्य’ छ, जसका ‘सांस्कृतिक मूल्य बेलायती मूल्यसँग पूर्ण रूपमा विरोधाभाषी छन्’ भनेकी थिइन् ।

जसरी गहुँगोरा वर्णका मानिसप्रतिको पुरानो नश्लीय घृणा अझै मरेको छैन, त्यसैगरी पछिल्ला दशकमा थप क्रूर स्वरूपको इस्लामद्वेष फैलिएको छ । अहिले पहिलेका ‘पाकी ब्यासिङ’ गर्ने समूह नयाँ प्रकारको धर्म–संघर्षको लहरले प्रतिस्थापित गरिएका छन् भन्ने लाग्छ, जहाँ इस्लामलाई आतंकवादसँग, यौन शोषणलाई पाकिस्तानीसँग र शरणार्थीलाई देशलाई डुबाउने परजीवीझैँ चित्रण गरिन्छ ।

यही बेलायती जमिनमा हाल रिफर्म पार्टीले आफ्नो जरा गाडेको छ र यो फस्टाइरहेको छ, जहाँ दिनानुदिन नश्लीय घृणा सम्मानजनक र निर्वाचनयोग्य बनिरहेको छ । जब लेबर र टोरी (कन्जर्भेटिभ) पार्टी दुवै राजनीतिक भ्रष्टाचारको जटिल जालमा फसेका छन्, त्यही वेला रिफर्म पार्टीले सरल आप्रवासन र इस्लामविरोधी सन्देशलाई ‘इमानदार विकल्प’का रूपमा प्रस्तुत गरेको छ । यही कारणले अहिले यो पार्टी जनमत सर्वेक्षणमा अगाडि देखिन्छ, अर्थात् ३० प्रतिशत मतदाताले यसलाई समर्थन गरेका छन्, जबकि लेबरको समर्थन २२ प्रतिशत र कन्जर्भेटिभको १७ प्रतिशतमा सीमित छ ।

यस्तो वातावरणमा जब दंगाको वार्षिकी नजिकिएको थियो, द इकोनोमिस्ट पत्रिकाले नश्ल र जातिसम्बन्धित विषयमाथि केन्द्रित सर्वेक्षण प्रकाशित गर्‍यो । जबकि, वास्तविक मुद्दा अर्थतन्त्रको अवनति, सामाजिक उपेक्षा वा लामो समयदेखि चलिरहेको कटौती थिए । इकोनोमिस्टको सो सर्वेक्षणमा करिब ५० प्रतिशत जनताले बहुसांस्कृतिकता देशका लागि राम्रो होइन भनेका छन् भने ७३ प्रतिशतले छिट्टै ‘नयाँ नश्लीय दंगा’ हुने अनुमान गरेका छन् ।

बेलायतमा हुर्किंदै गरेको उग्र–नश्लीय घृणा उसैको उपनिवेशवादी इतिहाससँग गाँसिएको छ । आजको नश्लीय विभेद पुरानै साम्राज्यवादी सोचबाट जन्मिएको हो, जसमा ‘जंगलीलाई सभ्य शासनद्वारा वशमा पार्नुपर्छ’ भन्ने मानसिकता विद्यमान छ । यिनै जातिवादी विचारधारा अहिले सडकमा देखिने हिंसा, प्यालेस्टाइन पक्षधरमाथिको दमन र गाजामा इजरायली बर्बरताको बेलायती समर्थनमा अभिव्यक्त हुन्छन् ।

साम्राज्यले बेलायतलाई उपनिवेशवाद जायज देखाउन नश्लीय घृणा र अमानवीकरणको अभ्यास गरायो । यही परम्पराको निरन्तरताले आज इजरायलको नरसंहारमा बेलायती साझेदारी सुनिश्चित छ । तर, यस हिंसाविरुद्ध सबै जाति, धर्म र विचारका मानिस जुर्मुराएका छन् । उनीहरूले नरसंहार रोक्न नसके पनि बेलायती सत्ताको ढोंग र झुट उजागर गरेका छन् । यस्तो ऐक्यबद्धताले मात्रै मेरो उपन्यासमा देखाइएको डिस्टोपियन यथार्थलाई रोक्न सक्छ ।

(महमुद लेखक एवं चलचित्रकर्मी हुन्) 
अलजजिराबाट