मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025
शुरोजंग पाण्डे काठमाडाैं
प्रेम गौतम काठमाडाैं
२o८२ श्रावण १५ बिहीबार o९:२१:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ठुला–साना सबै दल आन्तरिक किचलोमा 

सत्तालिप्सा, शक्तिसंघर्ष र नेतृत्वमोहले सबै दलमा विवाद, अन्तरपार्टी लोकतान्त्रिक अभ्यासमा चुक्दा तनावैतनाव

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार o९:२१:oo

लोकतन्त्रलाई ‘आदर्श’ ठान्ने र जनताबाट ‘म्यान्डेट’ पाएर संसद्मा पुगेका ठुलादेखि साना दल यतिवेला आन्तरिक विवादको भूमरीमा छन् । ती दलहरूमा राजनीतिक–वैचारिकभन्दा पनि कतै नेतृत्वको कार्यशैलीको प्रश्नमा त कतै शक्ति आर्जनको होडले तनाव सिर्जना भएको छ । यति मात्र होइन, नेतृत्व छाड्नै नमान्ने र जसरी पनि लिने मनोविज्ञानले पार्टीभित्र पेचिलो शक्तिसंघर्ष देखिने गरेका छन् ।

संघीय लोकतन्त्रमाथि चुनौती थपिएको विश्लेषण गर्दै आएका मुख्य नेताहरू आन्तरिक लोकतान्त्रिक अभ्यास र पार्टी सञ्चालनमा चुक्दा ठुलादेखि साना सबै दल आन्तरिक किचलोको उल्झनमा छन् । प्रमुख नेता आन्तरिक समस्या र असन्तुष्टि समाधानमा असफल बन्दा राजनीतिक दलहरूभित्र आन्तरिक कलह चुलिँदै गएको छ ।

सरकारको नेतृत्व गरिरहेको एमाले, ठुलो दल कांग्रेस, माओवादी, एकीकृत समाजवादीदेखि राजतन्त्र फर्काउने योजनामा रहेको राप्रपासम्मका दल आन्तरिक झमेलामा छन् । यस्तै, विवाद नागरिक उन्मुक्ति र जनमत पार्टीमा पनि देखिएको छ । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध महामन्त्री धवलशमशेर राणाले मोर्चाबन्दी कसेका छन् । राप्रपा विवाद निर्वाचन आयोगसम्म पुगेको छ । राजनीतिक विश्लेषकहरूको बुझाइमा ठुलादेखि साना दलमा एकैपटक किचलो देखिनु कुनै संयोग नभएर त्यहाँभित्र रहेको लामो समयदेखिको आत्मकेन्द्रित राजनीति, सत्तालिप्सा र राजनीतिक संस्कारको कमी प्रमुख कारण हो ।

२६ असारमा १८ जना नेता–कार्यकर्तामाथि अनुशासनको कारबाहीले चुलिएको कांग्रेसभित्रको असन्तुष्टि अझै मत्थर भएको छैन । सभापति शेरबहादुर देउवाले पूर्वाग्रह साधेर कारबाही गरेको आरोपमा नेता शेखर कोइरालाले देशभर प्रतिवाद अभियान चलाइरहेका छन् । उनले यसबिचमै आफूनिकट केन्द्रीय सदस्य र सांसदहरूको समानान्तर भेला चलाएर प्रतिवाद मात्रै गरेनन्, संसदीय दलबाटै देउवालाई हटाउने गुप्त योजनासम्म बनाए । तर, तत्काल अंकगणित बलियो नदेखिँदा ‘ब्याक’ हटेका कोइरालाले देउवाको कार्यशैलीको प्रतिवाद गर्दै अभियान जारी राखेका छन् ।

तर, संस्थापन पक्षका नेता प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने कांग्रेसभित्र असन्तुष्टले बाहिरै असन्तुष्टि पोख्दै हिँड्ने कुरालाई अनौठो र अस्वाभाविक रूपमा नलिएको बताए । उनले कूटनीतिक भाषाबाट त्यस्ता गतिविधिले सभापति देउवाले कुनै ‘थ्रेट’ महसुस नगरेकोसमेत दाबी गरे । ‘उहाँ (शेखर कोइराला)ले गुनासो गर्न र असन्तुष्टि राख्न पाउनुहुन्छ । त्यस्ता कुरा पार्टीभित्र भन्दा पनि बाहिरै राख्ने चलन कांग्रेसमा चलेकाले हामीले त्यसलाई स्वाभाविकै मानेका छौँ,’ विश्वकर्माले भने, ‘उहाँले केन्द्रीय समितिमा सहमति जनाउनुहुन्छ । तर, बाहिर ठिक विपरीत गतिविधि गर्नुहुन्छ । त्यही भएर पार्टी सभापतिले नै दलकै नेता फेर्ने हो भने प्रक्रिया सुरु गरिहाल्नुस्, बेकारमा किन बाहिर हल्ला गर्नुहुन्छ म तयार छु भनेर जवाफ दिइसकेपछि हामीले त्यसमा थप टिप्पणी गरिरहन जरुरी छैन ।’ उनले पार्टी अनुशासन समितिले अनुशासनको कारबाही गरेपछि असन्तुष्टि देखिए पनि नेता–कार्यकर्ताहरूको पुनरावेदन सुनेर अन्याय नै भएको पाइए केन्द्रीय समितिले छलफल गरेर फुकुवा गर्ने तयारी गरेको पनि बताए ।

एमालेमा अध्यक्ष केपी ओलीले अबको महाधिवेशनबाट अध्यक्ष बन्ने योजनासहित पार्टीमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई प्रतिबन्ध लगाएपछि किचलो झन् चर्किएको छ । ओलीले ६ साउनमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सर्कुलर पठाएर भण्डारीको राजनीतिक सक्रियतामा सहयोग पुग्ने गरी बहस गर्न कार्यकर्ताहरूलाई रोक लगाएका छन् । जवाफमा भण्डारीले आफू नरोकिने सन्देश दिँदै हुलहुज्जतका भरमा कसैले पनि आफ्नो पार्टी सदस्यता समाप्त पार्न नसक्ने बताएर थप मुभ गर्ने जनाउ दिएकी छिन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम विवाद टुंगिएको र अब पार्टी आफ्नो कोर्समा अघि बढ्ने बताउँछन् । ‘पूर्वराष्ट्रपतिको नाममा कुनै विवाद छैन, विवादको विषय सबै टुंगियो । अब पार्टी आफ्नो कोर्समा हिँड्छ । अब सबै पार्टी सदस्यले पार्टीको निर्णय अक्षरश: कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘अन्तरपार्टी निर्देशन जारी गरेर निर्णयहरू अध्ययन गरी विधानमाथि सुझाव पनि मागेका छौँ । सुझावको आधारमा अघि बढ्छौँ । त्यसैले पूर्वराष्ट्रपतिको विषय हाललाई टुंगियो ।’ 

महासचिव शंकर पोखरेलले भण्डारीको नाममा भइरहेका टिप्पणी, अड्कलबाजी र सार्वजनिक बहसले उनको सम्मानमा आँच पुग्ने खतरा रहेको भन्दै यस्तो अभ्यासबाट टाढा रहन कार्यकर्तालाई आग्रह गरेका छन् । त्यस्तै, भण्डारीले पार्टी सदस्यता नवीकरण पनि प्रक्रिया नपुर्‍याई गरेको पोखरेलले उल्लेख गरेका छन् । 
पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीबाट भएको निर्णयलाई हुलहुज्जत र उत्तेजनामा निर्णय गरिएको टिप्पणी गर्दै ९ साउनमा पत्रकार सम्मेलन आयोजना गरेर पूर्वराष्ट्रपति भण्डारीले प्रतिवाद गरेकी थिइन् ।

संसद्को तेस्रो ठुलो शक्ति तथा प्रमुख प्रतिपक्ष दल माओवादीभित्र पनि यतिवेला विवाद चर्केको छ । माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच अन्तर्संघर्ष चलिरहेको छ । पार्टी विधिविधानमा नचलेको र तोकिएको समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण हुनुपर्ने शर्माको माग छ । यही विवादमा समेत छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबारदेखि सुरु हुने स्थायी कमिटीमा संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकता सुदृढीकरणबारे एजेन्डा तय गरिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।

बुधबार बसेको पदाधिकारी बैठकमा अन्तर्संघर्षबारे छलफल नभएको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार स्थायी समितिमा भने अन्तर्संघर्ष र सुदृढ एकताबारे छलफल हुनेछ । ‘आन्तरिक एकतालाई मजबुत बनाउनेबारे हरेक बैठकमा एजेन्डा हुन्छन् । जनार्दनजीको बारेमा आजको बैठकमा चर्चा भएको छैन । आजको बैठक संक्षिप्त भयो । स्थायी कमिटी बैठक बस्ने वेलामा यसबारे मैले व्यक्तिगत धारणा दिन वाञ्छनीय हुँदैन,’ पदाधिकारी बैठकपछि सापकोटाले भने ।

उनका अनुसार बैठकमा प्रचण्डले स्थायी कमिटीका एजेन्डाबारे मात्रै ब्रिफिङ गरेका छन् । स्थायी समितिमा प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि मध्यपहाडी अभियानलाई निरन्तरता दिने र केन्द्रीय समिति बैठकको मिति तय गर्नेलगायतका एजेन्डा छन् । माओवादीमा संस्थापन र उपमहासचिव शर्मा पक्षबिच सार्वजनिक रूपमै अन्तर्संघर्ष छताछुल्ल भएको छ । अध्यक्ष प्रचण्डले पार्टीका केही नेताहरूले सिँगौरी खेल्न खोजिरहेको भन्दै आफूले उनीहरूलाई पनि प्रशस्त ठाउँ दिएको बताएका छन् ।

एकीकृत समाजवादीमा पनि अध्यक्ष माधवकुमार नेपाल पक्ष र सम्मानित नेता झलनाथ खनाल–महासचिव घनश्याम भुसाल पक्षबिच अन्तर्संघर्ष चलिरहेको छ । शीर्ष नेतृत्वको अन्तर्संघर्षको प्रभाव एकीकृत समाजवादीको भ्रातृ संगठनहरू अनेरास्ववियू र युवा संघमा चर्को रूपमा देखिएको छ । दुवै संगठनले समानान्तर गतिविधि गर्दै आएका छन् ।

अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि स्थायी समिति सदस्य रामकुमार झाँक्रीले दिएको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादी विभाजित छ । नेपाल पक्ष झाँक्रीलाई कारबाही गर्नुपर्ने पक्षमा छ भने खनाल–भुसाल पक्ष चर्चाको विषयमा बोलेकै आधारमा कारबाही गर्न नहुने पक्षमा छ । खनाल–भुसाल पक्षले नैतिकताको आधारमा अध्यक्षले जिम्मेवारी त्याग्नुपर्ने विषय पार्टी बैठकमै उठाएको छ । नेपाल पक्षले भने राजनीतिक प्रतिरोधका कारण मुद्दा दायर गरिएकाले त्यसको प्रतिवाद गरेर जानुपर्ने अडान राख्दै आएको छ । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको र पार्टीमा पनि छलफलकै क्रममा रहेको भन्दै नेताहरू बोल्न चाहँदैनन् । राजनीतिक दलमा बहस/छलफल हुनु र कहिलेकाहीँ अन्तर्संघर्ष देखिनु सामान्य भएको एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरी बताउँछन् । ‘जीवन्त पार्टीमा बहस/छलफल हुनु स्वाभाविक हो,’ उनले भने, ‘कहिलेकाहीँ अन्तर्संघर्षजस्तो देखिए पनि संवादबाटै सबै समस्याको समाधान हुन्छन् ।’

गत निर्वाचनमार्फत उदाएको नागरिक उन्मुक्ति पार्टीमा पनि ठुलो विवाद सिर्जना भएको छ । अन्तर्संघर्ष चर्किँदै जाँदा संरक्षक रेशम चौधरीसहितको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएको छ । नयाँ अध्यक्ष भने तोकिएको छैन । नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभामा चार सिट छ । राजधानीमा बुधबार बसेको प्रथम राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई सर्वसम्मत कारबाही गरेको महासचिव ठाकुरसिंह थारूले बताए । श्रेष्ठ पोखराको लिचीबारी जग्गा काण्डमा मुछिएकी छिन् । उक्त विषयमा बैठकमा स्पष्टीकरण दिनुपर्ने माग उन्मुक्तिका नेताहरूले गरेका थिए । तर, स्पष्टीकरण दिनुको साटो उनले कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।

रञ्जिताले वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेपछि विवाद उत्कर्षमा पुगेको हो । आफू अस्वस्थ रहेको बताउँदै उनले कार्यवाहकको जिम्मेवारी तोकेको बताएकी थिइन् । गत निर्वाचनबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी पनि विवादमा फसेको छ । राउतले उपाध्यक्षमा आफ्नै दाइ जयकान्त राउतलाई मनोनयन गरेपछि विवाद भएको हो । उनले उपाध्यक्ष दीपक साहलाई कारबाही गरेका छन् । कारबाहीमा परेका उपाध्यक्ष साहले यस्तो कदमले संगठनभित्र गहिरो असन्तुलन, पात्रको उपेक्षा र कार्यकर्ताको मनोबलमा गम्भीर असर गरेको बताएका छन् ।

आत्मकेन्द्रित राजनीति र राजनीतिक संस्कारको अभावले सबैतिर किचलो : प्राध्यापक लोकराज बराल
दलहरूभित्र किचलो पूर्ण रोकिँदैन, चलिनै राख्छ । किचलोका पछाडि एक मात्र नभई बहुआयामिक कारण हुन्छन् । आत्मकेन्द्रित राजनीति, बढ्दो अराजकता, अनुशासनहीनता र राजनीतिक संस्कारको कमी पनि विवादको कारण हुन्छ । यसबाहेक परिवर्तन आत्मसात् गर्दै चल्न नसक्ने नेतृत्व र नेतृत्व हस्तान्तरण गर्न नचाहने सोचले पनि किचलो चर्किएको छ ।

एमालेभित्र केपी ओली र विद्या भण्डारीबिचको अन्तर्द्वन्द्वमा ओलीबाट पिल्सिएका उतातिर ढल्किएजस्तो देखिन्छ । कांग्रेसभित्र किचलो सदाबहार चलिरहन्छ, त्यसैले एमालेमा जत्तिको धेरै समस्याका रूपमा लिइहाल्नुपर्ने स्थिति होइन ।

माओवादीको त धेरै चर्चा आवश्यक छैन । समस्या धेरै छ, तर त्यहाँ तत्काल समाधानको सम्भावना पनि देखिँदैन । साना पार्टीहरूमा त व्यक्तिगत इगो र महत्वाकांक्षाको झगडा छ । नागरिक उन्मुक्तिमा रेशमजी र रञ्जिताबिचको झगडा त्यसैको उदाहरण हो ।