
सर्लाहीको लालबन्दी नगरपालिकास्थित जब्दी धान रोपाइँको लागि अत्यन्त उत्कृष्ट भूमि हो । यस क्षेत्रको पूर्वी कुनाबाट बगेको फुलजोर खोला र खेतमा गाडिएका डिप बोडिङ सिँचाइको सदावहार स्रोत हुन् भने धान रोपाइँको लागि एक मात्र विकल्प आकाशको पानीको भर थियो । तर, यस वर्ष यहाँका किसानले न त आकाशको पानी पाए । न त भूमिगत पानीको भर भयो ।
यस वर्ष साउनको दोस्रो हप्ता लाग्नै लाग्दासमेत गतिलो झरी नपर्दा यहाँका किसानले धान रोप्न पाएका छैनन्। हरेक वर्ष आफ्नै खेतमा फलेको धानले अन्नको जोहो गर्ने गरेका लालबन्दी नगरपालिका–३, जब्दीका रामदेव धाँमी यस वर्ष परिवारको पेट भर्न नपाइने गुनासो गरिरहेका छन् । धामीले असारको २०–२२ गतेतिरै रोप्ने गरी धानको बिउ र खेत तयार गरेको बताए ।
‘धान रोप्ने खेत र बिउ तयार भयो,’ उनले भने, ‘आकाशबाट थोपै पानी परेन । बिउ राख्ने समयमा पनि निकै सास्ती भयो। पानी बोकेर मर्न लागेको बिउ बचाइयो । तर, अहिले रोप्ने वेलामा पानी नपरेपछि बिउ त्यसै खेर गयो।’ पानी नपरेपछि खोलामा र डिप बोरिङमा समेत पानीको सतह घटेको उनको भनाइ छ। घाम धेरै चर्किएर खडेरी परेपछि डिप बोरिङको पानीले धानखेती सम्भावना नहुने उनले सुनाए।
धाँमीजस्तै यस वर्ष पानी नपरेका कारण आकाशको पानीको भरमा खेती गर्दै आएका धेरै किसानको खेत बाझै छ। पानीको हाहाकार भएपछि यस वर्ष खेती गर्न नपाएको हरिवन नगरपालिका–४, सासापुरकी दिलमाया थोकरले गुनासो गरिन्। यसरी खडेरी पर्छ भनेर आफूले कहिलै नसोचेको उनको भनाइ थियो। थोकरले असारको सुरुमै छिमेकीको डिप बोरिङबाट पानी पटाएर ५ कट्ठा खेतमा धान रोपको बताइन्।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा मुस्किलले ४५ प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ भएको छ । त्यसमा पनि पानी अभावका कारण रोपको धानको उत्पादन क्षमता कम हुन सक्ने कृषि ज्ञान केन्द्र प्रमुख देवानन्द महतोको भनाइ छ । ढिला गरेर लगाएको, लगाएपछि पानी नपाएको धानले अन्य समयजस्तो उत्पादन दिन नसक्ने जोखिम रहेको उनले जानकारी दिए।
किसानहरूले अहिले पनि डिप बोरिङले पानी निकालेर धान रोप्ने काम गरिरहेकोले खेतीको क्षेत्रफल भने बृद्धि हुने प्रमुख महतोको अपेक्षा छ । धेरै स्थानमा धान रोप्न नपाएका किसानले अन्य बाली लगाउने मनस्थिति पुगेका लालबन्दी नगरपालिका कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले जानकारी दिए। पानी नभएर धान रोप्न नपाएका किसानहरूले अन्यबालीको लागि सल्ला गर्ने गरेका लालबन्दी नगरपालिका कृषि शाखा प्रमुख पौडेलले बताए।