
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको हैसियत गुमाएका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् ।
मंगलबार संसदीय दलमा भएको मतविभाजनमा पराजित भए पनि उनले मुख्यमन्त्री पदबाट भने राजीनामा दिनुपर्ने कुनै संवैधानिक बाध्यता नरहेको भन्दै आफ्नो अडान कायमै रहेको दाबी गरेका हुन् ।
मत विभाजनपछि पत्रकारहरूसँग कुरा गर्दै लामाले सरकारको नेतृत्व र संसदीय दलको नेतृत्व अकै भएको बताए । ‘सरकारको नेतृत्व एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ उनले भने, ‘गठबन्धन सरकारमा दलको नेताको हैसियतले मात्रै मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता छैन ।’
संसदीय दलमा भएको मतविभाजनमा लामा पक्षमा १५ मत मात्र परे भने विपक्षमा २२ मत परेको थियो । बहुमत गुमाएपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । लामाले पार्टीभित्रकै व्यक्तिहरूले आफूविरुद्ध प्रपञ्च रचेको आरोप पनि लगाए । ‘सबैलाई मिलाएर जाऔँ भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मेरै मन्त्रीहरू पनि त्यसको हिस्सा रहेछन् । कसैको दबाबमा यस्तो अवस्था आएको हो,’ उनले भने । उनले आफू संसदीय दलको नेतामा पराजित भए पनि संसदीय दलको नयाँ नेताको चयन प्रक्रिया बाँकी नै रहेकाले त्यसमा आफ्नो पक्षले उम्मेदवारी दिने बताए । मुख्यमन्त्री लामाले उम्मेदवार प्रदेश सांसदहरूबाट जोसुकै हुन सक्ने उल्लेख गर्दै त्यसमा पुनः आफैँ वा अर्को कसैलाई प्रतिस्पर्धामा उतार्ने बताए ।
यस्तै, मुख्यमन्त्री बहादुरसिंह लामानिकट प्रदेश सांसद रामकृष्ण चित्रकारले पनि संसदीय दलको नयाँ नेता चयन प्रक्रियामा आफूहरूको तर्फबाट कोही न कोही उम्मेदवार हुने स्पष्ट पारे । कांग्रेसभित्र बागमती प्रदेशको नेतृत्वमा अस्थिरता चुलिएको अवस्थामा लामाको यो अडानले नयाँ राजनीतिक मोड लिन सक्ने संकेत देखिएको छ ।