मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
२o८२ श्रावण १३ मंगलबार १३:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १३:o४:oo

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेको हो ।

कोही कसैले सूचनाविपरीत काँचो स्याउ टिपेको पाएमा वा बजारमा खरिद गर्ने व्यापारी र किसान दुवैलाई कानुनी कारबाही गरिने कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । 

काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र पौष्टिकता सबैमा असर पर्न जान्छ । यसको दीर्घकालीन ‘ब्रान्ड’ र बजार मूल्यमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले जिल्लाका आठवटै स्थानीय तहका कृषि शाखा र यहाँका स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गरिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । 

कृषि विज्ञका अनुसार भदौ दोस्रो सातापछि मात्रै स्याउ टिप्नु उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको छ । परिपक्व र स्याउको रङ ७०  प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन गरिएको प्रमुख अधिकारीले बताए।  

जिल्लामा करिब १८ हजार घरपरिवारमध्ये १६ हजार घरपरिवारले स्याउखेती गरेको तथ्यांक छ । पछिल्लो समय स्याउखेतीको क्षेत्रसमेत विस्तार हुँदै गएको छ । जिल्लामा चार हजारभन्दा बढी हेक्टर जमिनमा स्याउखेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । 

त्यसैगरी, तातोपानी गाउँपालिकाले पनि स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ १५ गतेपछि मात्र स्याउ संकलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँपालिकाले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।