
बागमती प्रदेशमा कांग्रेसको संसदीय दल नेतृत्वमा चलिरहेको शक्तिसंघर्षमा नयाँ मोड आएको छ। कांग्रेस संसदीय दलको नेताबाट बहादुरसिंह लामालाई हटाउने अभियानमा हस्ताक्षर गरेका दुई सांसदले समर्थन फिर्ता लिएका छन् । चितवनकी सांसद माया श्रेष्ठ र काठमाडौंकी मीना पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूले कांग्रेस संसदीय दलको नेतामा लामालाई नै समर्थन गर्ने निर्णय लिएको घोषणा गरेका छन् । उनीहरूले बानियाँ पक्षमा गरेको हस्ताक्षर फिर्ता लिँदै लामालाई नै निरन्तरता दिनुपर्ने बताए ।
गत शुक्रबार मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा श्रेष्ठ र पराजुलीसहित २१ सांसदको हस्ताक्षर रहेको थियो। दुई सांसदको समर्थन फिर्ता भएसँगै अब इन्द्रबहादुर बानियाँ समूहको पक्षमा हस्ताक्षर गर्ने सांसद १९ बाँकी रहेका छन्। यसैबिच, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्दै पदबाट राजीनामा दिए।
खड्काले बानियाँको पक्षमा उभिँदै संसदीय दलको नेतामा परिवर्तनको पक्षमा मत दिने निर्णय गरेका हुन् ।बानियाँ समूहले थप समर्थन जुटाउने प्रयासस्वरूप नेता शेखर कोइराला समूहका तीन सांसदलाई पनि आफ्नो पक्षमा ल्याउने तयारी गरिरहेको छ ।यसबिच, कांग्रेस संसदीय दलले मंगलबार (आज) मत विभाजन प्रक्रिया सुरु गर्दै छ । प्रस्ताव पारित गर्न कम्तीमा ५१ प्रतिशत सांसदको समर्थन आवश्यक पर्ने जनाइएको छ ।
सहमतिबाट नयाँ नेता चयन गर्ने प्रयास गरिए पनि सहमति नजुटे प्रक्रियामार्फत नयाँ नेता चयन गरिने दलका सचिव तामाङले बताएका छन् ।