मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १३ मंगलबार o९:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियन जुनियर पारा तेक्वान्दोमा सहभागी हुँदै नेपाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार o९:१९:oo

नेपाली पारा तेक्वान्दो टोलीले मलेसियामा आयोजना हुने दशौँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि४) मा प्रतिस्पर्धा गर्दै छ । २४ जुलाई देखि १ अक्टोबरसम्म हुने प्रतियोगितामा नेपालबाट पाँचजना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पाराको ग्योरोगीतर्फको खेल १ अगस्टमा हुनेछ । प्रतियोगितामा ४५ राष्ट्रका एक सय ५० जना खेलाडीको सहभागिता रहने जनाएका छन् । 

नेपालबाट सहभागी पाँचै खेलाडीले के–४४ क्याटेगोरीअन्तर्गत विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले भाग लिनेछन् । महिला ५७ केजीमुनि पेरिस पाराओलम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्नेछन् । कामना र रेणुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा उतैैबाट मलेसिया जानेछिन् ।

नेपाली टोलीका प्रशिक्षक कविराज नेगीले प्रतियोगितामा पदकको आशा गरेको बताए । ‘हामीहरूको तयारी राम्रो छ । मलेसियामा नेपालले पदक जित्नेछ,’ नेगीले भने, ‘यसअघि पनि हामीले पदक जितेका थियौँ ।’ नेपालले पहिलो संस्करणदेखि नियमित रूपमा प्रतियोगितामा भाग लिएको छ । अहिलेसम्म नेपालले एक रजत र पाँच गरी ६ पदक जितेको छ । रञ्जना धामीले रजत र कांस्य जितेकी छिन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलगायतले सोमबार सहभागी हुने खेलाडी र अफिसियललाई बिदाइ गरेका छन् । सदस्यसचिव घिसिङले नेपाली पारातेक्वान्दो ‘ब्रान्ड’का रूपमा स्थापित भएको बताए । ‘अहिले पारातेक्वान्दो नेपालमा एक किसिमले ब्रान्ड नै बनेको छ । अन्तर्राष्ट्रिय मञ्चमा पारातेक्वान्दोले हासिल गरेको उपलब्धिलाई निरन्तरता दिने विश्वास छ,’ उनले भने । राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले पारातेक्वान्दोमा एसिया बलियो क्षेत्र भएकाले यो प्रतियोगितामा पदक जित्न सके ओलम्पिकमा पदक जित्ने सम्भावना प्रवल हुने बताए ।