मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १३ मंगलबार o८:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता : मिति नसर्ने गरी घोषणा गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार o८:१४:oo
  • खेलकुदमन्त्री, राखेपका सदस्यसचिव र २२ संघका पदाधिकारीसँगै सोमबार २०औँ एसियन खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर दसौँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गर्न ओलीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले सोमबार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसर्ने गरी घोषणा गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएका छन् । तीनपटकसम्म स्थगित भएको राष्ट्रिय प्रतियोगिताको सबै किसिम अध्ययनपछि नयाँ मिति तोक्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् । बालुवाटारस्थित प्रधाममन्त्री क्वार्टरमा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँगै राखेपका पदाधिकारीलाई बोलाएर छलफल गरेपछि ओलीले यस्तो निर्देशन दिएका हुन् । 

राखेपका संरक्षकको हैसियतमा ओलीले विभिन्न २२ राष्ट्रिय खेल संघका पदाधिकारसिँग पनि दशौँ राष्ट्रिय खेलकुदबारे छलफल गरेका छन् । उनले मन्त्रालय र राखेपबिच समन्वय गर्न पनि निर्देशन दिएका छन् । खेलकुदमन्त्री र सदस्यसचिवबिचको सम्बन्ध राम्रो छैन । ‘प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले १०औँ राष्ट्रिय खेलुकद गर्न सम्पूर्ण तयारी र अध्ययन गरेर मात्र मिति घोषणा गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिनुभयो,’ राखेपका सदस्य कमल भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले खेलकुद मन्त्रालय र खेलकुद परिषद्बिच उचित समन्वय हुनुपर्ने विषयमा पनि निर्देशन दिनुभएको छ ।’

निर्धारित समयअनुसार कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गत वर्षको मंसिरको पहिलो सातामै हुनुपर्ने थियो । तर, खेलकुदमन्त्री र राखेपका सदस्यसचिवबिच एकआपसमा समन्वयन नहुँदा कर्णालीले सबै तयारी पूरा भइसक्दा पनि प्रतियोगिता आयोजना भएन । मन्त्री चौधरीले गत वर्षकै चैतमा प्रतियोगिताको मिति घोषणा गरे । उनले त्यसपछि प्रतियोगिता गत जेठमा हुने भनियो । 

तर, चर्को गर्मीमा कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्न नसकिने र समयअनुकूल मिलाएर नयाँ मिति सार्वजनिक हुने मन्त्री चौधरीले बताए । प्रतियोगिताका लागि सुर्खेतमा सबैखाले भौतिक पूर्वाधार तयार भइसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्यसचिव विश्वामित्र संज्यालले बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा हुने 

२०औँ एसियन खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएको बताएका छन् । ‘राष्ट्रिय खेलकुुदको भव्य तयारी हुनुपर्ने, मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय परिवर्तन नगर्न पनि आग्रह छ,’ प्रधानमन्त्री ओलीले भने । 

४४ वर्षमा नवौँ संस्करण मात्र
राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक दुई वर्षमा हुने भनी राष्ट्रिय खेलकुद प्रतियोगिता ०३८ सालमा सुरु गरेको थियो । प्रतियोगिता सुरु भएको ४४ वर्ष भइसकेको छ । तर, अहिलेसम्म केवल नौपटक मात्र प्रतियोतिगा आयोजना भएको छ । अहिलेसम्म कुनै वाधा अवरोध नहुँदा यो प्रतियोतिगा २२औँ संस्करण हुनुपर्ने थियो । पछिल्लोपटक ०७९ मंसिरमा गण्डकी प्रदेशमा भएको थियो । गण्डकीबाट कर्णालीले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको झन्डा बोेकेको थियो ।

‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’
प्रधानमन्त्री ओलीले नेपाल ओलम्पिक कमिटी (एनओसी)मा देखिएको गतिरोध हटाउन निर्देशन दिएका छन् । एनओसीको वर्तमान कार्यसमितिलाई विघटन गरेर नयाँ ओलम्पिक दर्ता प्रक्रिया अगाडि लैजान उनले निर्देशन दिएका छन् । खेलकुदमन्त्री चौधरी, राखेपका पदाधिकारीसँगै २२ भन्दा बढी संघका पदाधिकारीसँगको संयुक्त भेटमा ओलीले नयाँ ओलम्पिकको दर्ता प्रक्रिया बढाउने बताएका हुन् । २२ भन्दा बढी खेल संघका पदाधिकारीले एनओसीको निर्वाचन र उसका गतिविधिबारेमा पुन: एकपटक खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । ‘नेपाल ओलम्पिक कमिटीको सुरुदेखि नै दर्ता प्रक्रियामै त्रुटि थियो । 

तत्कालीन समयमा सरकारले समेत सो कमिटीलाई साथ दिएर गल्ती गर्‍यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक सहभागीले भने, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग आवश्यक समन्वय गर्नुहोस् । सरकारको पूरै साथ रहन्छ ।’ सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई अवैध घोषणा गरेको छ । सरकारले सातदोबाटोमा रहेको एनओसीको केन्द्रीय कार्यालय बन्द गराएको छ ।