मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
२o८२ श्रावण १३ मंगलबार o६:१९:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस बागमती संसदीय दल नेताको छिनोफानो आज, लामाले राजीनामा नदिए मतविभाजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार o६:१९:oo

मुख्यमन्त्रीसमेत रहेका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मंगलबार छिनोफानो हुने भएको छ । लामाले राजीनामा नदिए मतविभाजन हुने भएको हो । सोमबारको छलफल मंगलबार बिहान १० बजे बस्ने गरी स्थगित भएको छ । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि राजेन्द्र केसीले सोमबारको छलफलले अविश्वासको प्रस्तावलाई सहमतिमा टुंग्याउने गरी निष्कर्ष निकालेको बताए । ‘सोमबार दिनभर औपचारिक र अनौपचारिक छलफल भयो । मोटामोटी सहमतिमा पुगेका छौँ,’ केसीले भने, ‘वर्तमान संसदीय दलको नेताले मार्ग प्रशस्त गर्ने भन्ने छ । खालि यसको मोडालिटी कस्तो हुने भन्ने मात्रै कुरा हो । मंगलबार १० बजेपछि टुंगिन्छ ।’ दुवै पक्षबिच सहमति भएमा मत विभाजन प्रक्रिया अगाडि नबढ्ने उनले बताए ।

मुख्यमन्त्री लामानिकट रहेका उपनेता रामकृष्ण चित्रकारले पनि अविश्वासको प्रस्तावलाई सहमतिमै टुंग्याउने गरी छलफल अगाडि बढेको बताए । ‘अविश्वासको प्रस्तावको विषयमा सहमति हुन सक्छ कि भन्ने विषयमा गहन छलफल भएको छ । सहमतिको विषयलाई सम्बोधन गर्दा यसले पार्टी र आमरूपमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने विषयमा सबैले सचेत भएर छलफल गरेका छौँ,’ उनले भने, ‘सहमतिको कुन मोडालिटीमा जाने भन्ने विषयमा निष्कर्षमा पुगेका त छैनौँ, तर अविश्वासको प्रस्ताव फिर्ता गरेर वर्तमान संसदीय दलका नेताले मार्गप्रसस्त गर्न सकिन्छ कि भन्ने विषयमा भने छलफल भएको छ ।’

कांग्रेस प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको अगुवाइमा संसदीय दलका नेता तामाङविरुद्ध गत शुक्रबार २१ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । बागमतीमा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको नेता परिवर्तनका लागि १९ जनाको मत आवश्यक पर्छ । संसदीय दलको नेताको टुंगो लागे बागमतीमा मुख्यमन्त्रीको विषयले प्रवेश पाउनेछ । कांग्रेसको विधानअनुसार र गठबन्धन दलसँगको सहमतिअनुसार कांग्रेसको संसदीय दलको नेता नै मुख्यमन्त्री हुने केसीले बताए ।