मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १२ सोमबार o८:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी यू–२० च्याम्पियनसिप छनोट : नेपाली टोलीमा एक खेलाडी परिवर्तन

गत साता बंगलादेशमा भएको साफ यू–२० च्याम्पियनसिपमा सहभागी भएकी डिफेन्डर झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानले मौका पाइन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार o८:२३:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी यू–२० महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । छनोट प्रतियोगितामा आगामी ६ अगस्टदेखि हुनेछ । एन्फाले २३ सदस्यीय टोली घोषणा गर्दा एक खेलाडी मात्र परिवर्तन गरेको छ । गत साता बंगलादेशमा भएको साफ यू–२० च्याम्पियनसिपमा सहभागीमध्ये एक खेलाडीले मात्र स्थान बनाउन सकिनन् । 

बिर्सना चौधरीको कप्तानीमा घोषित नेपाली टोलीमा डिफेन्डर झुमा विश्वकर्माले स्थान बनाउन सकिनन् । उनको स्थानमा सजिना स्याङ्तानले स्थान बनाइन् । यमप्रसाद गुरुङको प्रशिक्षणमा रहेको नेपाली टोलीले तीनपटकको विश्वकप विजेता उत्तर कोरियासँग समूह ‘ए’मा प्रतिस्पर्धा गर्नेछ । 

छनोट प्रतियोगिता भुटानको थिम्पुमा हुनेछ । नेपालले शक्तिशाली राष्ट्र उत्तर कोरियाबाहेक आयोजक भुटान र साउदी अरेबियाविरुद्ध खेल्नेछ । एसियन फुटबल काउन्सिल (एएफसी)को ड्रमा नेपाल र उत्तर कोरिया एकै समूहमा परेका छन् । मंगोलियाले भने नाम फिर्ता लिएको छ । 

नेपालले पहिलो खेलमा ६ अगस्टमै आयोजक भुटानसँग खेल्नेछ । ८ अगस्टमा साउदी अरेबिया र १० अगस्टमा उत्तर कोरियासँग नेपालको प्रतिस्पर्धा हुनेछ । प्रत्येक समूहका शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा छनोट हुनेछ । समूहमा उत्कृष्ट दोस्रो हुने टोलीको पनि छनोट हुने सम्भावना रहनेछ । एएफसीले आठ समूहमध्ये तीनवटा उत्कृष्ट दोस्रो टोली मात्र छनोट हुने जनाएको छ । 

उत्तर कोरिया र साउदी अरेबिया नयाँ प्रतिद्वन्द्वी
उमेर समूहमा नेपालका नयाँ प्रतिद्वन्द्वीका रूपमा उत्तर कोरिया र साउदी अरेबिया रहेका छन् । दुई वर्षअघि मात्र साउदी अरेबिया फुटबल महासंघले यू–१७ टोलीलाई यू–२० महिला फुटबल टोलीका रूपमा परिमार्जित गरेको हो । साउदी अरेबियाले अहिलेसम्म पाँचवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको छ । जसमा चार हार र एकमा जित निकालेको छ । उत्तर कोरियाले भने फिफाले आयोजना गरेको महिला यू–२० विश्वकप प्रतियोगिता तीनपटक जितेको छ । साथै उत्तर कोरियाले एएफसी यू–२० च्याम्पियनसिप दुईपटक जितेको छ । उत्तर कोरिया विश्वकप तथा एएफसी यू–२० च्याम्पियनसिपको साबिक विजेतासमेत हो । उसले छनोट प्रतियोगितामा गत संस्करणको विश्वकप विजेता खेलाडीलाई नै समावेश गरेको छ ।