मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 28 July, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o६:३७:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक वर्षमा ५८,४७२ अपराधका उजुरी

०८०/८१ को तुलनामा १.२३ प्रतिशत अपराध कम, साइबर र बैंकिङ कसुरमा भने वृद्धि

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३७:oo

प्रत्येक वर्ष बढ्दो अपराधदर गत आवमा भने झिनो संख्याले घटेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष १.२३ प्रतिशतले अपराध घटेको छ । समग्रमा तथ्यांक तल आए पनि साइबर र बैंकिङ कसुरका अपराध भने बढेका छन् । 

नेपाल प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आर्थिक वर्ष ०८१/८२ मा मुलुकभर ५८ हजार ४७२ मात्रै अपराध दर्ता भएका छन् । जबकि ०८०/८१ मा ५९ हजार २०३ अपराध दर्ता थिए । अर्थात् आव ०८१/८२ मा ०८०/८१ मा भन्दा ७३१ कम अपराध भएका छन् । यस्तै, आव ०७९/८० मा ५६ हजार ३२३ र ०७८/७९ मा ४६ हजार ९०२ अपराधका घटना दर्ता भएको प्रहरीको तथ्यांक छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले यस आर्थिक वर्ष अपराधदर घटेको बताए । उनका अनुसार पछिल्लो आवको तुलनामा गत आवमा विशेषगरी कर्तव्य ज्यान, अपहरण, हातहतियार, सार्वजनिक प्रकृतिका अपराध र जबर्जस्ती करणीजस्ता घटना घटेका छन् । ‘विगतका वर्षहरूको तथ्यांक हेर्दा अपराधको ग्राफ निरन्तर बढेको देखिन्छ । तर, आव ०८१/८२ मा अपराध १.२३ प्रतिशतले घट्यो । यस्तो देखिनु राम्रो संकेत हो,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी घिमिरेले भने, ‘विशेषगरी कर्तव्य ज्यान, अपहरण, हातहतियार, सार्वजनिक प्रकृतिका अपराध र जबर्जस्ती करणीजस्ता घटना घटेको देखिन्छ । साइबर र बैंकिङ कसुरसँग सम्बन्धित अपराधको दर बढेको देखिन्छ ।’

आव ०८०/८१ मा मुलुकभर संगठित प्रकृतिका ६६ घटना प्रहरी कार्यालयमा दर्ता भएका थिए । जबकि आव ०८१/८२ मा यस्ता घटना ३८ मात्रै दर्ता भए । यो दर विगतको वर्षभन्दा ४२.४२ प्रतिशतले कम हो । त्यस्तै, आव ०८०/८१ मा सार्वजनिक प्रकृतिका अपराध १० हजार ७५६ दर्ता भएका थिए । आव ०८१/८२ यो संख्या दुई हजार २३७ ले घटेर आठ हजार ५१९ मा झरेको छ । यो विगतको वर्षभन्दा २०.७९ प्रतिशतले कम हो । कर्तव्य ज्यानसँग सम्बन्धित कसुर पनि विगतको वर्षभन्दा ११.४५ प्रतिशत कम दर्ता भएका छन् । यो कसुर ०८०/८१ मा ५७६ र आव ०८१/८२ मा ५१० दर्ता भएका थिए । 

त्यस्तै, हातहतियार तथा खरखजनासँग सम्बन्धित कसुर १०.८३ प्रतिशतले घटेको छ । यो कसुर आव ०८०/८१ मा २०३ र आव ०८१/८२ मा १८१ दर्ता भएका थिए । जबर्जस्ती करणीसँग सम्बन्धित कसुर पनि यस आवमा १०.१३ प्रतिशतले घटेका छन् । आव ०८०/८१ मा यो कसुर मुलुकभर दुई हजार ५०७ र आव ०८१/८२ मा दुई हजार २५३ दर्ता भएका थिए । त्यस्तै, आत्महत्यासँग सम्बन्धित कसुर ४.७५ प्रतिशत, चोरीका कसुर २.७१ प्रतिशत र अपहरणसँग सम्बन्धित कसुर २.०६ प्रतिशतले घटेका छन् । 

आव ०८/०८१ संगठित अपराध ६६ रहेकोमा ०८१/८२ मा ३८, आव ०८०/८१ मा सार्वजनिक अपराध १०,७५६ रहेकोमा ०८१/८२ मा ८,५१९, आव ०८०/८१ मा कर्तव्य ज्यान ५७६ रहेकोमा ०८१/८२ मा ५१०, आव     ०८०/८१ मा हातहतियार २०३ रहेकोमा ०८१/८२ मा १८१, आव ०८०/८१ मा जबर्जस्ती करणी २,५०७ रहेकोमा ०८१/८२ मा २,२५३, आव ०८०/८१ मा आत्महत्या ७,१९४ रहेकोमा ०८१/८२ मा ६,८५२, आव ०८०/८१ मा चोरी ३,७५८ रहेकोमा ०८१/८२ मा ३,६५६ र आव ०८०/८१ मा अपहरण १४५ रहेकोमा ०८१/८२ मा १४२ देखिएको छ । 

यस्तै, बैंकिङ कसुरतर्फ ०८१/०८२ मा उपत्यकामा ८,०८०, मधेशमा १,२७८, कोशीमा १,२५३, लुम्बिनीमा ८८२, गण्डकीमा ८०६, बागमतीमा ७९८, सुदूरपश्चिममा ४४३ र कर्णालीमा २९७ अपराध दर्ता भएका छन् । प्रहरीले अपराध घट्नुमा प्रहरीको सक्रियता मुख्य कारण रहेको बताएको छ । डिआइजी घिमिरेले भने, ‘मेजर किसिमका अपराध घटेका छन् । यसको कारण प्रहरीको सक्रियता नै हो । जस्तो विगत वर्षमा आत्महत्याका घटना धेरै हुन्थे । यस वर्ष हामीले आत्महत्याविरुद्धका अभियान देशव्यापी चलायौँ । यस्तै अभियान अन्य प्रकृतिका अपराधमा चलायौँ, जसको परिणाम देखियो ।’

सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि अपराध घट्नुमा प्रहरीको सक्रियतालाई नै मुख्य कारण ठान्छन् । ‘तथ्यांकले केही मेजर अपराध घटेको देखाउँछ । यसो हुनुमा प्रहरीले चलाएको अपराधविरुद्धको अभियान नै मान्नुपर्छ,’ उनले भने, ‘अर्को लागुऔषधजस्ता अपराध बढेका छन् । यसमा ट्रेन्डलाई हेर्नुपर्छ । अनि मात्रै यसको जरासम्म पुग्न सक्छौँ ।’ 

लागुऔषध कसुर बढ्यो 
नेपाल प्रहरीको तथ्यांकअनुसार लागुऔषधसँग सम्बन्धित कसुर भने बढेको छ । तथ्यांकअनुसार आव ०८०/८१ मा यो कसुरसँग सम्बन्धित मुद्दा चार हजार ३९८ मात्रै दर्ता भएका थिए । तर, आव ०८१/८२ मा ६६३ ले बढेर पाँच हजार ६१ पुग्यो । अर्थात् यो अपराध विगत वर्षको तुलनामा १५.०७ प्रतिशतले बढ्न पुग्यो । त्यस्तै, आव ०८०/८१ मा साइबर अपराधसँग सम्बन्धित कसुर २५५ मात्रै भएका थिए । आव ०८१/८२ मा यो संख्या २९१ पुग्यो । विगत वर्षको तुलनामा यो कसुर १४.११ ले बढ्न पुग्यो । यस अवधिमा मानव बेचबिखनसँग सम्बन्धित कसुर भने ०.६६ प्रतिशतले बढ्न पुग्यो । आव ०८०/८१ मा मानव बेचबिखन १५१ रहेकोमा ०८१/८२ मा १५२ पुगेको छ । 

सबैभन्दा धेरै अपराध उपत्यकामा 
नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै अपराध काठमाडौं उपत्यकामा हुने गरेको देखिएको छ । आव ०८१/८२ मा मुलुकभर ५८ हजार ४७२ अपराधका घटना दर्ता भए । जसमध्ये १६ हजार ५७५ अपराध काठमाडौं उपत्यकामा दर्ता भए । यो कुल दर्ता भएका अपराधको २८.३४ प्रतिशत हो । त्यसपछि सबैभन्दा धेरै अपराध मधेश प्रदेशमा भएका छन् ।

यस प्रदेशमा आव ०८१/८२ मा नौ हजार ५९९ कसुर दर्ता भए । यो कुल अपराध संख्याको १६.४१ प्रतिशत हो । त्यस्तै, यस अवधिमा कोशी प्रदेशमा कुल अपराध संख्याको १६.१८ प्रतिशत (९,४६१), लुम्बिनीमा १२.७६ प्रतिशत (७,४६६ ), गण्डकीमा ७.०३ प्रतिशत (४,११५ ), बागमतीमा ९.१२ प्रतिशत (४,११५ ), सुदूरपश्चिम प्रदेशमा ६.७३ प्रतिशत (३,९३६) र कर्णालीमा ३.३९ प्रतिशत (१,९८७) घटना दर्ता भएका छन् ।

०८१/८२ को कार्यप्रगति विवरण पेस गर्दै नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले भने

मेजर किसिमका अपराध घटेका छन् । यसको कारण प्रहरीको सक्रियता नै हो । जस्तो विगत वर्षमा आत्महत्याका घटना धेरै हुन्थे । यस वर्ष हामीले आत्महत्याविरुद्धका अभियान देशव्यापी चलायौँ । अन्य प्रकृतिका अपराधमा पनि अभियान चलायौँ, जसको परिणाम देखियो ।

पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्– तथ्यांकले केही मेजर अपराध घटेको देखाउँछ । यसो हुनुमा प्रहरीले चलाएको अपराधविरुद्धको अभियान नै मान्नुपर्छ । अर्को लागुऔषधजस्ता अपराध बढेका छन् । यसमा ट्रेन्डलाई हेर्नुपर्छ । अनि मात्रै यसको जरासम्म पुग्न सक्छौँ ।