
कोशी प्रदेशका एक सांसदले विश्वको सार्वोच्च शिखर सगरमाथामा वर्षौदेखि थुप्रिएको फोहोर र अलपत्र शव तत्काल सरसफाइमा पहल गर्न प्रदेश सरकारसमक्ष माग राखेका छन्। फोहोर र आरोहीहरूको शव व्यवस्थापन नहुँदा नेपालकै शाख गिर्न थालेको भन्दै उनले यस्तो माग गरेका हुन्।
सोलुखुम्बुबाट निर्वाचित माओवादीका सांसद गोम्बु शेर्पाले कोशी प्रदेश सभाबाट सगरमाथामा यत्रतत्र थुप्रिएको फोहार र आरोहीहरूको अलपत्र शव व्यवस्थापन गर्न संघीय सरकारसँग पहल गर्न प्रदेश सरकार गुहारेका हुन्।
सोमबार कोशी प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद शेर्पाले सर्वोच्च शिखर सगरमाथामा वर्षौँदेखिको २० हजार केजीभन्दा बढी फोहोर थुप्रिएको र हिमाल आरोहण गर्दा मृत्यु भएका आरोहीहरूको शव टेक्नुपर्ने बाध्यता रहेको बताए। उनले संसदमा भने, ‘सगरमाथा हाम्रो पालनकर्ता पनि हो, यसैले सरसफाइ र सुरक्षाको जिम्मा हाम्रो पनि हो यसबारे तुरुन्त प्रदेश सरकारले संघीय सरकारसँग पहल गर्नुपर्छ।’
सोलुका पर्वतारोही पासाङ शेर्पाको भनाइ उदृत गर्दै सांसद शेर्पाले सगरमाथा आरोहण गर्दा आरोहीहरूले चार पाँच ठाउँमा शवमा टेकेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताए। ‘मरेको मान्छेलाई टेकेर अगाडि बढ्नुपर्दा आरोहीहरूको मानसिक अवस्था के होला? यसैले सगरमाथामा वर्षौँदेखि अलपत्र रहेका शवहरू तुरुन्त निकालेर व्यवस्थापन गर्ने काम गरिनुपर्छ,’ सांसद शेर्पाले भने।
उनले वर्षाैँदेखिको फोहोर बेसक्याम्पदेखि शिखरसम्म थुप्रिएको भन्दै चाँडो सफा नगरे प्रसिद्ध शिखर सगरमाथा विश्वमा बदनाम हुँदै जाने र नेपालको शान, मान धरापमा पर्ने चेतावनी दिए। सांसद शेर्पाले कोशी सरकारको ध्यानआकर्षित गराउँदै भने, ‘संघ र प्रदेश दुवैको पालनकर्ता सगरमाथामा पार्थिव शरीर र फोहोरको थुप्रो राखेर टुलुटुलु हेरेर कोही पनि बसिरहन सुहाउँदैन, तुरुन्त यसबारे प्रदेश सरकारले संघसँग समन्वय गरोस्।’