मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
पूर्णकुमार (पिके) शेर्पा
Invalid date format ११:o२:oo
Read Time : > 2 मिनेट
फिचर

हिमाल सफाइमा जीवन समर्पण 

Read Time : > 2 मिनेट
पूर्णकुमार (पिके) शेर्पा
नयाँ पत्रिका
Invalid date format ११:o२:oo
  • मेरो जीवन प्रकृतिलाई समर्पण गरिसकेँ । ‘प्राण’ रहुन्जेल प्रकृति जोगाउने ‘प्रण’ गरिरहन्छु । अझै धेरै गर्न बाँकी छ ।
पूर्णकुमार (पिके) शेर्पा, सगरमाथा आरोही 

मेरो बाल्यकाल ताप्लेजुङको मैवाखोलामा बित्यो । परिवारको मुख्य कर्म खेती–किसानी थियो । बुबाआमाले खेतीपाती र घरगोठ समाल्नुहुन्थ्यो । बुबाआमासँगै गाईगोठ र घरको काम गर्थेँ । मेरो बाल्यकालको दैनिकी गाईगोठ, घाँस–दाउराबाट सुरु हुन्थ्यो । घरपरिवार चलाउन हिमाली भेगको दु:ख उस्तै हुन्थ्यो । म काम खोज्ने सिलसिलामा काठमाडौं आएँ ।

तर, सन् २००५ तिरको कुरा हो । विदेशी टोलीसहित भरियाको रूपमा जाँदा मकालु हिमाल गएको थिएँ । तर, दुर्भाग्य आरोण गर्न सकिए । मसँग पर्याप्त तालिम थिएन । म शरीरिक रूपमा निकै बलियो थिएँ । हिमालको अनुभव थिएन । त्यसवेला मैले हिमाललाई नजिकबाट देख्न पाएँ । त्यसपछि हिमालप्रति मेरो आकर्षण बढ्यो ।

हिमालको फेदमा जाँदा चक्लेटको खोल देख्थेँ । प्लास्टिक, चक्लेट बिस्कुटको खोल हिमालको फेदमा देख्दा किन यसरी फ्याँकेको होला भन्ने लाग्थ्यो । म भरियाकै रूपमा सगरमाथा पनि जान थालेँ । हिमालप्रति जिज्ञासा बढ्दै गयो ।

हिमालमा फोहोर देख्दा सफा गर्नुपर्छ भन्ने लाग्यो । सगरमाथा बेस क्याम्पमा आसपास झन् धेरै फोहोर देखिन्थ्यो । मलाई फोहोर नउठाई हिँड्न मन लागेन । भारीसँगै फोहोर उठाएर बोक्न थालेँ । मलाई फोहोर संकलन गर्दा पागल पनि भन्थे ।

सन् २००७ तिरको कुरा हो । आरोहणका क्रममा सगरमाथा बेस क्याम्पमा प्लास्टिकको थुप्रो देखेँ । त्यो प्लास्टिकले हिमालमा कति असर गर्छ होला भन्ने लाग्यो । यो घटना मनमा गडिरह्यो र सन् २०१० मा सगरमाथा आधार शिविरवरपर फाहोर संकलन गर्ने योजना बनाएँ । त्यसअघि मैले ‘मेरा पिक’, ‘आइल्यान्ड पिक’लगायत हिमाल आरोहण गरिसकेको थिएँ । ती हिमाल पनि फोहोर संकलन र अध्ययन गर्न चढेको थिएँ । त्यतिवेला सगरमाथाको शिरमा फोहोर कति होला भन्ने मनमा कुरा खेल्थ्यो । यही कारण सन् २०१९ मा सगरमाथाको ‘डेथ जोन’भन्दा माथिबाट सरसफाइ गर्ने योजना बनाएँ । डेथ जोन आफैँमा जोखिमपूर्ण क्षेत्र हो । यसलाई सगरमाथा आरोहण बाटोको ‘मृत्यु क्षेत्र’ भनेर पनि चिनिन्छ । त्यहाँ झन् कति फोहोर थुप्रिएको होला भन्ने सोच जाग्यो । त्यसवेला १८ सय केजी फोहोर संकलन गर्‍र्यौैँ । ‘डेड बडी’ पनि संकलन गरेका थियौँ । सफाइ निकै गाह्रो थियो । खुम्बु आइसफलमा हराएका शवको टुक्रा बेस क्याम्पमा समेत भेटेका थियौँ ।

त्यसपछि हिमाल सरसफाइलाई अभियानलाई झन् सशक्त बनाउन मन लाग्यो । सगरमाथासँगै कञ्चनजंघा, मकालुलगायत हिमाल सफाइ अभियान चलाएँ । अधिकांश हिमालको फोहोर संकलन गरेर सचेतना अभियान चलाएँ । हिमाल सफाइ अभियान चलाउने व्यक्ति म नै पहिलो हुँ । त्यतिवेला एक्लो अभियन्ता थिएँ ।

सगरमाथा हिमालमा संकलन गरेको फोहोर आधार शिवरमा लगिँदै

हिमाल सफा गर्नु सजिलो थिएन । पछि विभिन्न संघसंस्थालाई जोडेर पनि सफाइ अभियान चलाएँ । त्यसवेला हिमाल सफा राख्नुपर्छ भन्ने मान्छेमा चेतना नै थिएन । हुन त हिमाल आरोहण अध्ययनमा नगएको भए ममा पनि यस्तो सोच आउँदैनथ्यो होला । हिमालबारे धेरै कुरा सिक्न पाएँ । मेरो अभियानलाई सञ्चार माध्यम र सर्वसाधारणले खासै चासो नदिए पनि निरन्तर लागिरहेँ । चुपचाप आफ्नै सपनाको बाटोमा हिँडिरहेँ । पछि राज्यको आँखा खुल्यो र यो अभियान थप विस्तार भयो ।

जलवायु परिवर्तनको जोखिममा नेपालको सूची शीर्ष स्थानमा पर्छ । यसमा नेपालको योगदान कम भए पनि पीडा व्यहोर्नेमा अग्रस्थानमा छौँ । त्यसैले विश्वलाई झक्झकाउनैपर्छ भन्ने सोच आयो । हिमाल सफा अभियान बोकेर सगरमाथाचाहिँ अरोहण गरेरै छोड्छु भन्ने सोच बनाएँ । हिमालको फेदमा प्लास्टिकजन्य फोहोर थुप्रिएको देख्दा एकदमै चिन्ता लाग्थ्यो । एक्लैले सफा गर्न नसके पनि कम्तीमा जनचेतना फैलाउनुपर्छ भन्ने लाग्यो । अर्काे प्रकृति बचाउनुपर्छ भनेर संसारलाई सुनाउनु पनि थियो । साथै, नयाँ पुस्तालाई प्रकृति बचाउन उत्तरदायी बनाउनुपर्छ भन्ने महसुस भयो ।

...अनि छोरालाई पनि हिमाल सफा गर्न लगेँ

खुम्बु आइसफल क्षेत्रबाट फोहोर संकलन गरी आधार शिविर झर्दै

सधैँ एक्लैले हिमाल सफा गर्ने अभियान चलाउन सक्दिनँ होला जस्तो लागेर चार वर्षअघिदेखि छोरालाई पनि साथै लैजाने गरेको छु । नयाँ पुस्तालाई पनि हिमाल आरोहण र सरसफाइमा जोड्दा पुस्तान्तरण हुन्छ भन्ने आशा छ । त्यसैले १७ वर्षीय छोरा (सोनाम शेर्पा)लाई अभियानमा जोडेँ ।

सन् २०२१ मा ‘हिउँ रहे पानी, पानी रहे जीवन’ र प्रकृति बचाऊ, जलवायु न्यूनीकरण भन्ने नारासहित सगरमाथा आरोहणकोे तयारी गर्‍यौँ । जलवायु परिवर्तनविरुद्ध सन्देश लिएर सातै महादेशको हिमाल आरोहण योजना बनाएँ । जसबाट संसारभर सन्देश दिन सकिन्छ भन्ने लाग्यो । सगरमाथा आरोहणमार्फत हामीले त्यो अभियान सुरु गर्‍यौँ । लामो समयको प्रयासपछि १० जेठ ०७८ मा छोरा सोनाम शेर्पासँगै सगरमाथाको सफल आरोहण गरेँ ।

मैले रेकर्ड बनाउने इच्छाले कहिल्यै हिमाल आरोहण गरिनँ । मूल उद्देश्य नै फोहोर सफा गर्ने र जनचेता फैलाउने थियो । सगरमाथा आरोहण पनि अभियानकै एक हिस्सा हो । मैले सातवटै हिमाल चढ्ने योजना बनाउँदा अरू कसैले आँट गरेका थिएनन् । अहिले पनि यो अभियानमा निरन्तर लागिरहेको छु । केही समयअघि मात्रै अफ्रिका महादेशका हिमाल आरोहण गरेँ । हिमाल आरोहण आफैँमा जोखिम छ । मेरो जीवन प्रकृतिलाई समर्पण गरिसकेँ । ‘प्राण’ रहुन्जेल प्रकृति जोगाउने ‘प्रण’ गरिरहन्छु । अझै धेरै गर्न बाँकी छ ।

कञ्चनजंघा आधार शिविरमा समूह बनाएर फोहोर संकलन गर्दै