
नयाँ आर्थिक वर्षको सुरुवातमा नेपाली सेयर बजार उत्साहप्रद देखिएको छ । साउन महिनाको पहिलो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखाएको हो । १ साउनदेखि नै बढ्न थालेको नेप्से परिसूचक ८ साउनसम्म आइपुग्दा ११२.०१ अंकले वृद्धि भई तीन हजारनजिक पुगेको छ ।
नेप्से परिसूचक ८ साउनमा २,९८२ विन्दुमा पुगेको छ, जुन पछिल्लो ५२ हप्ताको उच्च विन्दु ३,०००.८१ निकट हो । लगातार ६ दिनसम्मको सुधारले बजारमा सकारात्मक मनोवृत्ति बलियो बनाएको छ । वित्तीय क्षेत्र, जीवन बिमा, बैंकिङ, जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्सलगायत समूहहरूमा उल्लेखनीय खरिद दबाब देखिँदा बजार उकालो लागेको हो ।
विश्लेषकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको नाफा सुधार, ब्याजदर घट्ने आशा र अर्थतन्त्रका सूचकमा सुधार देखिएको छ । साथै, जोखिम बहन गर्ने नयाँ लगानीकर्ताको प्रवेशले बजार विस्तार भइरहेको संकेत पनि दिइरहेको छ ।
साताकाे नेप्से
१ साउन : नेप्से परिसूचक २,८७०.६३, कारोबार रकम १६ अर्ब ३० करोड रुपैयाँ
४ साउन : परिसूचक ०.३२ अंकले बढेर २,८७०.९५, कारोबार रकम २० अर्ब ९६ करोड रुपैयाँ
५ साउन : परिसूचक २१.७६ अंकले वृद्धि भएर २,८९२.७२, कारोबार रकम १६ अर्ब १० करोड रुपैयाँ
६ साउन : ८०.९७ अंकको वृद्धि भई परिसूचक २,९७३.७०, कारोबार रकम १९ अर्ब ८२ करोड रुपैयाँ
७ साउन : परिसूचक ५.१७ अंकले वृद्धि भई २,९७८.८८, कारोबार रकम १९ अर्ब १० करोड रुपैयाँ
८ साउन : परिसूचक ३.७६ अंकले बढेर २,९८२.६४, कारोबार रकम १८.१३ अर्ब रुपैयाँ