
लालबहादुर शास्त्री भारतीय राजनीतिका अत्यन्त उच्च सम्मानित राजनेता हुन् । उनै शास्त्री त्यतिखेर उत्तर प्रदेशका गृहमन्त्री थिए । उनका एक साथी उनलाई भेट्न आए । भेटघाटपछि ती साथीले शास्त्रीलाई भने, ‘केवल आधा इन्च उचाइ कम भएका कारण मेरो छोराले इन्स्पेक्टरमा नाम निकाल्न सकेन, त्यसैले यस विषयमा तपाईंले केही सिफारिस गरिदिनुभए उसको काम बन्ने थियो र ऊ इन्स्पेक्टर हुन सक्ने थियो ।’
मित्रको अनुरोध सुनिसकेपछि शास्त्रीले शान्तिपूर्वक जवाफ दिए, ‘यदि साँच्चै तपाईंको छोराको उचाइ कम छ भने उसले यो पद कुनै पनि हालतमा पाउन सक्दैन । यसमा मैले सिफारिस गर्नु व्यर्थ हुन्छ । किनकि, उचाइ कम भएको मान्छेले त्यो पद पाउन सक्दै सक्दैन ।’
शास्त्रीको जवाफ सुनेपछि ती साथी अलि रिसाउँदै बोले, ‘तपाईंको उचाइ त आवश्यकताभन्दा धेरै कम छ र पनि तपाईं पूरै राज्यको गृहमन्त्री हुनुहुन्छ भने मेरो छोराको त उचाइ सिर्फ आधा इन्च कम भएको न हो । केवल त्यही कारण ऊ किन इन्स्पेक्टर बन्न सक्दैन ? के यो अन्याय होइन ?’
मित्रको आक्रोशपूर्ण अभिव्यक्ति सुनेपछि शास्त्री मुस्कुराए र भने, ‘ठिक भन्दै हुनुहुन्छ म पुड्को छु र पनि गृहमन्त्री बन्न सक्छु । तर, साँचो यो हो कि मलाई मन लाग्यो भने पनि म इन्स्पेक्टर बन्न सक्दिनँ । ठिक यसैप्रकारले तपाईंको छोरा पनि उचाइ कम भएको कारणले इन्स्पेक्टर बन्न सक्दैन, तर ऊ कुनै दिन मजस्तो गृहमन्त्री अवश्य बन्न सक्छ । मेरो शुभकामना उसको साथमा छ ।’ शास्त्रीको यो तर्क सुनिसकेपछि ती मित्र नाजवाफ बने ।