मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
Invalid date format १४:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पामा सवारी लाइसेन्स किनबेच, चिनेकालाई २०, नचिनेकालाई ३० हजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

पाल्पामा सवारी लाइसेन्स लिनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म लेनदेन हुने गरेको भेटिएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले लिखित र ट्रायलमा अनुत्तीर्णलाई लाइसेन्स दिएर एजेन्टमार्फत रकम असुल्ने गरेको पाइएको हो । कर्मचारीले भनेको स्थानमा पुगेर नगद २० हजार दिएर लाइसेन्स लिएका पाल्पा माथागढीका एक पुरुषले भने, ‘विदेशका लागि टिकट काटिसकेको जानकारी गराएपछि रकम तिरेर लाइसेन्स दिने विकल्प भेटेँ, ३० हजार भनिएको थियो पछि चिनजानका एक जनप्रतिनिधिले भनिदिएपछि २० हजारमा कुरा मिल्यो ।’ उनी ट्रायल फेल भएका थिए ।

वालिङबाट स्कुटरको लाइसेन्सका लागि पाल्पा आएकी एक महिलाले ३० हजार रुपैयाँ दिएर लाइसेन्स निकालेको भेटिएको छ। उनका आफन्त रिदम कुँवरका अनुसार फाँटका कर्मचारीले दिएकोे एकाउन्टमा फोन पे गरेपछि लाइसेन्स लिएको उनको भनाइ छ । उनले १० महिनाअघि यातायात व्यवस्था सेवा कार्यालय पाल्पाबाट स्कुटरको लाइसेन्स निकालेकी हुन् ।

मागेरै पनि लिइन्छ रकम
१५ दिनअघि मोटरसाइकलको लाइसेन्स लिएका तानसेनका १९ वर्षीय एक युवकले पहिलोपटक ट्रायल पास गर्न सकेनन् । उनीसँग फाँटका कर्मचारीले १५ हजार रुपैयाँ मागे, तर ती युवकले दिएनन्। ‘मागेरै लिइने रहेछ, कहाँबाट पैसा दिनु,’ उनका अभिभावक नाम नखुलाउने सर्तमा नयाँ पत्रिकासँग भन्छन्, ‘कोसिस गरेर पास गरेर निकाल भनेपछि दोस्रोपटकमा लाइसेन्स आयो ।’ अनुत्तीर्णलाई पैसा कमाउने बाटो बनाएको यातायात व्यवस्था सेवा कार्यालयले असफल भए कोसिस गर्नुपर्छ भनेर सुझाव दिनुको सट्टा कमाउने धन्दा गरेको धेरै सेवाग्राहीको गुनासो छ ।

मेरो संलग्नता छैन : लक्ष्मण घिमिरे, कार्यालय प्रमुख
यातायात व्यवस्था सेवा कार्यालयल पाल्पाका प्रमुख लक्ष्मण घिमिरे रकम लेनदेनमा आफ्नो संलग्नता नभएको बताउँछन् । ‘हामीले नियमअनुसार काम गरेका छौँ, मलाई थाहा नै नभई कर्मचारीले केही गरेका छन् भने म अनुसन्धान गर्छु,’ घिमिरेले भने, ‘यति धेरै विषय उठान भएपछि थप चनाखो हुनेछु ।’ घिमिरे लाइसेन्स प्रक्रियासँग धेरै सेवा प्रदायक र व्यक्ति जोडिने भएकाले कसैले चलखेल गरेर रकम असुल्ने र कार्यालयको नाम बेच्ने गरेको हुन सक्ने सम्भावना रहेको तर्क गर्छन् ।

पत्रकारसँग प्रशासनले भन्यो– निगरानी बढाउँछौँ 
यातायात व्यवस्था कार्यालयमा भएको आर्थिक लेनदेन र लाइसेन्स वितरणका विषयमा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सूक्ष्म निगरानी गर्ने बताएका छन्। प्रजिअ सुवेदीले पत्रकारहरूसँगको अन्तर्क्रियामा भने, ‘यहाँहरू सबैले समस्या छ भनेपछि म र मेरो कार्यालयबाट हुने निगरानी बढाउँछु।’ 
रकम लेनदेनका लागि ट्रायल स्थलमा मार्किङ नगर्ने, स्थल अवलोकनका लागि छेकबार गर्नेलगायतका काम गरेको पत्रकार मुक्तिप्रसाद न्यौपाने बताउँछन्। पत्रकार माधव अर्यालले यातायात व्यवस्था सेवा कार्यालयमा भएको बेथितितर्फ सरोकारवाला गम्भीर हुनुपर्ने बताएका छन्।