मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
दमास्कस
२o८२ श्रावण २ शुक्रबार १o:o९:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सिरियामा भड्किएको साम्प्रदायिक हिंसामा ३६० जना मारिएको दाबी

Read Time : > 1 मिनेट
दमास्कस
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार १o:o९:oo

आइतबारदेखि दक्षिणी सिरियामा भड्किएको साम्प्रदायिक हिंसामा ३६० भन्दा बढी मानिस मारिएको ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । तथापि, स्थानीय स्रोतले भने कम्तीमा १६९ को मृत्यु भएको बताएका छन् । 

दक्षिणी प्रान्त स्वेइडामा भड्किएको झडपलाई सिरियामा वर्षौंयता भएको सबैभन्दा घातक साम्प्रदायिक हिंसामध्ये एक बताइएको छ । स्वेइडा क्षेत्रमा प्रभावशाली रहेका ड्रुज धार्मिक अल्पसंख्यकका मिलिसिया समूह र देशका बहुसंख्यक सुन्नी सम्प्रदायका बेदुइन समूहबिच आइतबारदेखि झडप सुरु भएको थियो । 

यस घटनामा छिमेकी इजरायलले अल्पसंख्यक ड्रुजको सुरक्षाका लागि भन्दै सोमबार र मंगलबार स्वेइडामा परिचालित सिरियाली सरकारी सेनाविरुद्ध हवाई आक्रमण गर्‍यो । बुधबार इजरायलले सिरियाको राष्ट्रपति कार्यालयनजिकै सैन्य मुख्यालयमै शक्तिशाली हवाई आक्रमण गरेको थियो । आक्रमणमा कम्तीमा तीनजना मारिएको र ३४ जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो हिंसात्मक झडपले सिरियाको नवगठित सरकारले देशभर अधिकार स्थापित गर्न भोगिरहेको कठिनाइमाथि प्रकाश पारेको छ । झडप सुरु भएपछि छिमेकी इजरायलले पनि स्वेइडा क्षेत्रमा खटिएमा सिरियाली सरकारी सेनामाथि शृंखलाबद्ध हवाई आक्रमण गर्‍यो । मंगलबार सिरिया सरकारले अतिरिक्त सेना पठाएर प्रान्तको हिंसा नियन्त्रण गर्ने प्रयास गरेको थियो । 

चार दिनको झडपपछि बुधबार ड्रुज समूह, बेदुई समुदाय र सरकारी फौजबिच युद्धविराम भएको छ । 

बेलायतमा रहेर सिरियाली द्वन्द्वको अनुगमन गर्दै आएको ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’का अनुसार बेदुइन घुमन्ते जातिका सदस्यले स्वेइडाको मुख्य राजमार्गमा एक ड्रुज व्यक्तिमाथि आक्रमण गरेर लुटपाट गरेपछि आइतबारको झडप सुरु भएको थियो । आइतबारदेखि नै स्वेइडामा रहेका ड्रुज जाति सम्मिलित मिलिसिया र हतियारधारी बेदुइन समूहबिच पटक–पटक हिंसात्मक झडप भएको थियो । बेदुइन समूहलाई सुन्नीबहुल केन्द्र सरकारको समर्थन रहेको केहीले आरोप लगाएका छन् । 

अशान्ति बढ्दै गएपछि सिरियाली सरकारले सोमबार झडप साम्य पार्न सैन्य बल तैनाथ गरेका थिए । तर, नयाँ सरकारप्रति गहिरो अविश्वासका कारण ड्रुज मिलिसिया समूहले भने सरकारी सेना बेदुइन समूहलाई सहयोग गर्न र आफूमाथि आक्रमण गर्न आएको सोचेको ड्रुस मिलिसिया नेताले बताए ।