
तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर–कमला सडक योजनाको पश्चिम खण्डको निर्माण पाँच वर्ष हुन लाग्दा पनि सम्पन्न हुन सकेको छैन । सप्तरीको कुसहादेखि सिराहाको पश्चिमी सीमा कमला नदीसम्मको निर्माणकार्य चार वर्ष नौ महिना बित्दा ६५ प्रतिशत मात्रै सम्पन्न भएको योजना कार्यालयले जनाएको छ ।
योजनाको काम सुस्त भएपछि लहान मुख्य बजार क्षेत्रको सडक निर्माण अविलम्ब सुचारु गर्न माग गर्दै सोमबार स्थानीयले लहानमा करिब एक घण्टा चक्काजाम गरेका छन् । पूर्व–पश्चिम लोकमार्गको लहान खण्डमा निर्माण भइरहेको ओभरपास, अन्डरपास र अकासे पुलको पाइल फाउन्डेसन निर्माणको कारण मुख्य बजार क्षेत्रमा करिब दुई महिनादेखि धुलो उड्ने, हिलाम्मे हुने तथा दुर्घटनाको जोखिम पनि बढेको स्थानीयको गुनासो छ ।
पीडित नागरिकको अगुवाइ गरिरहेका राजनीतिकर्मी सत्यनारायण यादवले ठेकेदार कम्पनीले बलानदेखि पडरियासम्मको करिब पाँच किलोमिटर खण्ड छिटो निर्माण नगरेसम्म आन्दोलनलाई निरन्तरता दिइने बताए । ‘सडकको कारणले दुर्घटनासँगै सडकबाट उड्ने धुलोले सास फेर्नै गाह्रो भइरहेको छ,’ उनले भने, ‘स्थानीय व्यापार व्यवसाय चौपट बन्दै गएकाले दबाबका लागि सांकेतिक विरोधस्वरूप एक घण्टा चक्काजाम गरेका हौँ, निर्माण सुचारु नगरिए हरेक दिन एक–एक घण्टा बढाएर बन्द गर्नेछौँ ।’
एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत गरी कुल आठ अर्ब ३८ करोड ९९ लाख लागतमा निर्माण भइरहेको योजनाको पश्चिम खण्ड पनि चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुप कम्पनीले निर्माण गरिरहेको छ । सप्तरीको कुसहादेखि कमलासम्म कुल ४७ दशमलव चार किलोमिटर खण्डमध्ये ठाउँ–ठाउँमा गरी ३० किलोमिटर खण्ड कालोपत्रे गरिएको छ,’ उनले भने, ‘बाँकी १७ किलोमिटर खण्डको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’
सन् २०२४ को जुलाईदेखि फेब्रुअरी २०२५ सम्म सडक निर्माणको ठेक्का लिएको चाइना रेलवे नं.२ इन्जिनियरिङ ग्रुपले काम छाडेको भए पनि प्रधामन्त्री कार्यालयबाट पहल भएपछि पुन: ग्रुपले काम थालेको उनले बताए । सप्तरीको कञ्चनपुरदेखि सिराहा–धनुषा जोड्ने कमला नदीसम्मको ८६ दशमलव ८२ किलोमिटर कञ्चनपुर कमला सडक चार लेनमा स्तरोन्नति गर्न ग्रुपले सम्झौता गरेको थियो । सप्तरीको कुसहादेखि पूर्व ३९ दशमलव ४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड र पश्चिम खण्ड आठ अर्ब ३८ करोड ९९ लाखमा निर्माण सम्झौता गरेको थियो ।
योजनाअन्तर्गत कञ्चनपुरदेखि कमलासम्म ५४ पुल, आठ अन्डरपास र दुईवटा ओभरपासमध्ये कुसहादेखि कमलासम्मको पश्चिम खण्डमा एक सय १२ कल्भर्ट निर्माण भइसकेको, साना–ठुला गरी २५ पुलको ढलान गरी मिर्चैया पश्चिम बगहा, भालु, सुकलाहा र भिभाखोलाको पुलमा सवारीसाधन चलाउन खुला गरिएको उनले बताए । पुलमा रेलिङ, एक्सपान्सन ज्वाइन्ट र रङरोगन गर्न बाँकी रहेकाले छिट्टै सिध्याउने उनले बताए । उनका अनुसार कुसहा पश्चिम कमलासम्मको ४७ किलोमिटर खण्डमध्ये ३० किलोमिटर खण्ड कालोपत्रे गरिएको र बाँकी १७ किलोमिटर खण्ड आगामी डिसेम्बरभित्र कालोपत्रे गरी सवारीसाधन सञ्चालन गर्ने गरी काम भइरहेको छ ।
२९ अक्टोबर २०२० मा सुरु भई २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि निर्माण सम्पन्न नभएपछि पहिलोपटक २३ डिसेम्बर २०२४ सम्मका लागि म्याद थप गरिएको सडक स्तरोन्नति गर्न अन्तिमपटकका लागि २०२५ डिसेम्बरसम्मको म्याद थप गरिएको छ । योजनाको २ असारसम्म भौतिक प्रगति ६४.९७ प्रतिशत रहेको जनाइएको छ ।
मुख्य संरचनाका कारणले ढिलाइ भएको दाबी
कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्डका प्राविधिक शाखाका इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार लहानमा ओभरपास, अन्डरपास, अकासे पुलको पाइल फाउन्डेसनलगायत मुख्य संरचनाको काम नगरी अन्य काम गर्नै नसकिने भएकाले सडक निर्माणको काममा ढिलाइ भएको बताए । ‘मुख्य चोकमा रहेको ओभरपासका लागि ३५ मिटर गहिरो २६ वटा पाइल फाउन्डेसनको काम सकिएको छ,’ उनले भने, ‘त्यसको २८ दिनपछि परीक्षण गरेर मात्र अन्य काम गर्नुपर्ने बाध्यता छ ।’
त्यसबाहेक लहान बसपार्क, प्रादेशिक अस्पतालमा अकासे पुलका लागि फाउन्डेसनको काम सकिएको उनले बताए । ‘ओभरपासका लागि गरिएको पाइल फाउन्डेसनको माटो केही कमजोर देखिएकाले २० वटा ग्राभेल फाउन्डेसनको काम गर्नुपर्नेछ,’ उनले भने, ‘पाइल फाउन्डेसनको परीक्षण नगरी ग्राभेल फाउन्डेसनको काम गर्न नमिल्ने भएकाले केही ढिलाइजस्तो लागेको हो ।’ उनका अनुसार दरबार होटेलदेखि पडरियासम्म उत्तरतर्फको सर्भिस लेनको सबबेससम्मको निर्माण सकिएको भए पनि स्थानीयको अवरोधले रोकिएको उनले बताए । केही ठाउँमा नाला, खानेपानी र बिजुलीको खम्बाका कारणले निर्माण सुचारु गर्न समस्या भइरहेको जानकारी दिँदै उनले त्यसका लागि स्थानीय अगुवाले सहजीकरण गरिदिँदा कालोपत्रेसम्मको काम छिटो सकिने बताए ।
सडक खुलेको २२ वर्षपछि पक्की पुल निर्माण
बागलुङ/ बागलुङको दक्षिण कुश्मिसेरा जोड्ने सडकअन्तर्गत जुम्लीखोलामा सडक निर्माणको २२ वर्षपछि मोटरेबल पुल निर्माण भएको छ । विसं ०५६ सालदेखि निर्माण सुरु भएको सडकमा ०६५ देखि यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका– १ मा पर्ने जुम्लीखोलामा पुल भने भर्खरै निर्माण भएको छ । जुम्लीखोलामा पक्की पुल नबन्दा हरेक बर्खायाममा सडक बगाउने तथा पैदलयात्रीलाई समेत यात्रा कठिन हुन्थ्यो ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले २३ असार ०८१ मा पुल निर्माणका लागि बिमए/जयकालिका भगवती जेभीलाई जिम्मेवारी दिएको थियो । १५ पुस ०८२ मा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर जनकराज पन्तले बताए । उनका अनुसार एक करोड ९४ लाख लागतमा निर्माण थालिएको हो ।
हालसम्म ८० प्रतिशत भौतिक प्रगति भइसकेको पुलका अधिकांश काम सकिएका छन् । जुम्लीखोलामा १५.८० मिटर लामो र ८.४० मिटर चौडा पुल बन्नेछ । पुल निर्माणले जैमिनी नगरपालिका र दक्षिण बागलुङको विकासमा महत्ववपूर्ण योगदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । एसियाली विकास बैंकको सहयोगमा ०५६ सालमा निर्माण सुरु भएको दुई जिल्ला जोड्ने प्रमुख सडक भए पनि यो सडकका केही जोखिमपूर्ण खोलामा पक्की पुल बन्न सकेका थिएनन् । यही सडकअन्तर्गत यसै वर्ष जैमिनी नगरपालिका– ९ र १० को सिमानामा पर्ने ठेउले खोलाको रुम्टामा पनि पक्की पुल निर्माण भएको छ । पुल निर्माणपछि स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको उपप्रमुख शर्माको भनाइ छ ।
‘पुल बनाउँदा महत्ववपूर्ण कुरा मुख्य स्ट्रक्चरको हो, यो पलमा मुख्य स्ट्रक्चर बनिसकेको छ,’ पन्तले भने ‘निकै मिहिनेतपछि जुम्लीखोलाको पुल तयार भएको छ, सायद छिट्टै नै यसलाई सञ्चालनमा ल्याउनेछौँ ।’ सम्झौता मितिभन्दा पुल निर्माणको कामअगावै काम सकिएको पन्तले बताए । पुलको वारिपारि भने केही सडकतर्फको काम बाँकी रहेको र वर्षाका कारण कालोपत्रेको काम सकिन केही समय लाग्ने निर्माण व्यवसायी बताउँछन् ।