मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ असार ३२ बुधबार १९:५१:oo
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

खडेरीको वेला किसानमा आशा जगाउँदै कमला नहर

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १९:५१:oo

मधेश प्रदेशमा खडेरी परेको वेला कमला नहरको पानी यति वेला कृषकको लागि आशाको केन्द्र बनेको छ। लामो समयदेखि वर्षा नहुँदा किसानहरू चिन्तामा रहेका वेला कमला सिँचाइ व्यवस्थापन कार्यालयले समयमा नै पानीको आपूर्ति गरी धनुषा र सिराहाका किसानहरूलाई ठुलो राहत दिएको छ।

वर्षा नहुँदा प्रदेश सरकारले मधेशलाई सुक्खा क्षेत्र घोषणा गरिसकेको छ। खडेरीको चपेटामा परेका यी क्षेत्रका किसानहरूले खेत सिँचाइ गर्न सक्ने भएपछि धान रोपाइँ अहिले धमाधम भइरहेको छ।

कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषाले सञ्चालन गर्ने कमला पश्चिमी नहर प्रणाली (धनुषा) र कमला पूर्वी नहर प्रणाली (सिरहा)अन्तर्गतका नहरहरूमा ९ असारमै कमला नदीको पानी प्रवाह सुरु गरिएको थियो। यसले गर्दा यहाँका कृषकहरूलाई रोपाइँका लागि आवश्यक पानी प्राप्त हुन थालेको छ। कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवका अनुसार हाल सिराहाको पूर्वी नहर र धनुषाको पश्चिमी नहरमा प्रतिसेकेन्ड १४ हजार-१४ हजार लिटर पानी गरी कुल २८ हजार लिटर पानी आपूर्ति भइरहेको छ।

साविकमा दुवै नहरको सिँचाइ क्षमता साढे १२ हजार हेक्टर/साढे १२ हजार हेक्टर गरी २५ हजार हेक्टर थियो। तर, पछिल्ला वर्षहरूमा साना पैनिहरूको विस्तारसँगै अब यो दायरा झण्डै ३० हजार हेक्टरसम्म पुगेको छ। प्रमुख यादव भन्छन्, ‘पहिला प्रत्येक वर्ष श्रावण १ देखि मात्र नहरमा पानी प्रवाह हुन्थ्यो, तर म आएदेखि असारमै पानी प्रवाह गर्न थालेका छौं। यसले किसानलाई समयमै रोपाइँ गर्न, लागत घटाउन र उत्पादकत्व बढाउन निकै मद्दत गरेको छ।’

खडेरीको समयमा नहरमार्फत पानी पाएपछि धान रोपाइँमा मजदुरी खर्च घटेको, उत्पादन लागत घटेको र सिँचाइको व्यवस्थापनसमेत प्रभावकारी बनेको प्रमुख यादवको भनाइ छ। शहिद नगर नगरपालिका निवासी किसान मनोज मरबैताले भने, ‘पानी नपरेर चिन्तामा थियौं, तर ९ असारेदेखि नै पानी आएपछि खेत जोत्न र धान रोप्न सकेका छौं। यो वर्ष कमला नहरले साँच्चै हाम्रा खेतहरूमा जीवन भरिदिएको छ।’

त्यसैगरी, चारनाथ गणेशमान नगरपालिकाका किसान शेषनारायण यादवले भने,‘ खडेरीको बेला कमला नहरमा पानी मात्र नभई यस क्षेत्रका कृषकहरुको आशा र भविष्यको बहाव बगिरहेको छ, कमला नहरले समयमा पानी आपुर्ति नगरेको भए हाम्रो जग्गा अझै बाँझो हुन्थ्यो।’

कमला सिँचाइ व्यवस्थापन कार्यालयले अहिले धनुषाका ६ नगरपालिका गणेशमान चारनाथ, सबैला, शहिद नगर, कमला, विदेह, हंसपुर तथा दुई गाउँपालिका जनक नन्दनी र औहरीमा सिँचाइ सुविधा पु¥याइरहेको छ।  त्यसैगरि, सिरहातर्फ कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर गरी पाँच नगरपालिका तथा विष्णुपुर, औहरी र अर्नामा गरी ३ गाउँपालिकामा सेवा विस्तार गरिएको छ। करिब २० हजारभन्दा बढी घरधुरीलाई कमला सिँचाइ योजनाबाट प्रत्यक्ष लाभ पुगेको प्रमुख यादवले जानकारी दिए।

हाल मधेश प्रदेशमा ३५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको देखिए पनि कमला नहरद्वारा सिंचित क्षेत्रमा ६० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ। यही गतिमा पानी आपूर्ति भए आगामी १० दिनभित्र सम्पूर्ण क्षेत्रको रोपाइँ सम्पन्न हुने प्रमुख यादवको विश्वास छ। तर, कतिपय स्थानमा किसानहरूले नहरको संरचना बिग्रिने गरी जबर्जस्ती पानी लगिरहेका छन्। यसले गर्दा नहरको क्षति हुने, विवाद सिर्जना हुने र अन्य कृषक प्रभावित हुने भएकाले यादवले किसानहरूलाई संयमित बन्न र सिँचाइ प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।

कमला पश्चिमी नहर प्रणालीअन्तर्गत १४.३ किलोमिटर लम्बाई भएको मुख्य नहरबाट रधुनाथपुर, प्रवाह, महिनाथपुर र खजुरी गरी ४ वटा शाखा नहरहरू विस्तार भएका छन्। उता पूर्वी नहर प्रणाली ३.१ किलोमिटर लामो छ, जसबाट भोक्राहा, सिक्रोन, मझाउ, कल्याणपुर, सुकठोर, सिरहा, लगडीगोठ र औरही गरी ८ वटा शाखा नहरहरू सञ्चालनमा छन्।

दुवै जिल्ला धनुषा र सिरहालाई समेट्ने कमला सिँचाइ प्रणाली सात सय किलोमिटरभन्दा लामो रहेको छ। यसले ४० हजारभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ दिइरहेको छ। कमला पश्चिमी नहर प्रणाली जल उपभोक्ता मूल समितिका अध्यक्ष श्यामबाबु यादवका अनुसार कमला नहरबाट पानी समयमै प्राप्त भएकाले रोपाइँ पनि समयमै भइरहेको छ। उनले भने, ‘यदि रोपाइँ समयमै सकियो भने किसानहरूले दोस्रो बाली पनि लगाउन सक्नेछन्, जुन अत्यन्तै लाभदायक हुनेछ।’

मधेशमा लामो समयदेखि पानीको कमीले गर्दा कमला नदीमा पानीको सतह पनि घट्दै गएको अध्यक्ष यादवको भनाइ छ। त्यसैले, आगामी दिनमा पानीको आपूर्ति सन्तुलित राख्न र वर्षभर सिँचाइ सम्भव बनाउन सुनकोशी–कमला डाइभर्सन परियोजना सरकारबाट छिटो अघि बढाउनुपर्ने उनले जोड दिए।