मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ३१ मंगलबार १२:२४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १२:२४:oo

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबिच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ । मिडिया रिपोर्टअनुसार, यस सम्झौताअनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलरबराबरको सहायता प्याकेज पठाउनेछ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन् । यद्यपि, यी हतियारबारे अन्तिम निर्णय भने बाँकी नै रहेको बीबीसीले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार नै अमेरिकाले नाटोमार्फत युक्रेनलाई हतियार पठाउने र त्यसको सम्पूर्ण खर्च नाटोले व्यहोर्ने बताएका थिए ।

नाटो एक अन्तर्राष्ट्रिय सैन्य गठबन्धन हो । अमेरिका स्वयं नाटोको सदस्य हो । सन् २०२५ सम्म नाटोका ३२ सदस्य राष्ट्र छन् । यसको उद्देश्य सदस्य राष्ट्रहरूको सामूहिक सुरक्षाको सुनिश्चितता गर्नु र बाह्य आक्रमणबाट रक्षा गर्नु हो । अमेरिकाले नाटोले गर्ने खर्चको ६६ प्रतिशत हिस्सा व्यहोर्छ ।

ट्रम्पले सोमबार प्रेसिडेन्सियल ड्रडाउन अथोरिटीअन्तर्गत युक्रेनलाई हतियार पठाउने अनुमति दिएका छन् । यो एउटा कानुनी प्रक्रिया हो, जसबाट राष्ट्रपतिको अधिकारअन्तर्गत आपतकालीन अवस्थामा अमेरिकी भण्डारबाट सिधै हतियार पठाउन अनुमति हुन्छ ।

यसअघि ट्रम्प नेतृत्वको वर्तमान सरकारले पूर्वराष्ट्रपति जो बाइडनद्वारा स्वीकृत हतियार मात्र युक्रेनलाई पठाएको थियो ।

पहिले अमेरिकाले सिधै युक्रेनलाई हतियार पठाउँथ्यो, तर अब यो प्रक्रिया नाटोमार्फत हुने ट्रम्पले बताएका छन् । ट्रम्पले भनेका छन्, ‘हामी नाटोलाई हतियार दिनेछौँ र नाटोले यसको सम्पूर्ण रकम तिर्नेछ । त्यसपछि नाटोले युक्रेनलाई ती हतियार दिनेछ ।’