मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका कञ्चनपुर
Invalid date format o९:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको संख्या घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o९:४४:oo

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको संख्या घटेको छ ।  नेपाल पन्छी संरक्षण संघ (बिसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतकाे तुलनामा तोपचराको संख्या घटेको पाइएको हो ।

नेपाल पन्छी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको संख्या १८४ रहेको पाइएको छ । गत वर्ष गरिएको गणनामा तोपचराको संख्या २१३ रहेको थियो । ‘घाँसेमैदान विनाश नै सुनौलो तोपचराको विनाशको प्रमुख कारणका रूपमा रहेको छ,’ उनले भने, ‘पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन् ।’

उनका अनुसार घाँसेमैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्दछन् । संरक्षण क्षेत्रबाहिर रहेका ती क्षेत्र नासिँदै गएका छन्  । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसेमैदान मात्र बाँकी छ । सुनौलो तोपचरा आहाराका लागि निकुञ्जनजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । ‘कृषिमा अन्धाधुन्ध रूपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन्,’ उनले भने। 

अर्को सुनौलो तोपचरा विनाशकाे कारणमा अन्य सिकारी चराले प्रजननका वेला गुँडमा रहेका बच्चा र अन्डा खाइदिने गरेको उनको भनाइ छ । निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले बसाइँसराइका कारणले पनि यस चराको संख्या घट्नुमध्येको एक कारण हुन सक्ने बताउँछन् । निकुञ्जभित्रको घाँसेमैदानको वासस्थानमा पहिलेको भन्दा केही फरक नरहेको उनी बताउँछन् । 
 
उनका अनुसार सुनौलो तोपचरा तराई क्षेत्रमा मात्र पाइने चरा हो । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन् । सुनौलो तोपचरा विश्वमै दुर्लभ संकटापन्न अवस्थामा रहेको छ । यस चराले मेदेखि सेप्टेम्बरसम्म प्रजनन गर्ने गर्दछ । नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सुनौलो तोपचराले निकुञ्जको घाँसेमैदानका बिचभागमा गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोपचरा भनिएको चराविज्ञ डगौराले बताए। 

‘रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ,’ उनले भने, ‘तोपचरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।’ सन् १९९६ मा निकुञ्जमा सुनौलो तोपचरा पहिलोपटक देखिएको थियो । त्यसपछि निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्यांक संकलन गरिरहेको छ । निकुञ्जमा किसानको साथीका रूपमा रहेको सुनौलो तोपचराले किराफट्यांग्रा खान मन पराउँछ ।

निकुञ्जका सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ । निकुञ्जनजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको छ । 

निकुञ्ज र बिसिएनका आठजनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोपचराको गणनाको कार्य गरेका हुन् । निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अन्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोपचरा गणनाको कार्य गरिएको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोपचरासँगै चार सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् ।