
एमालेले पार्टीका सबै संगठित सदस्यबाट सुझाव संकलन गर्ने भएको छ । केन्द्रीय संगठन विभागको सोमबारको बैठकले विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि पार्टीका सबै सदस्यलाई सक्रिय सहभागी भएर सुझाव दिन आह्वान गर्ने निर्णय गरेको हो ।
एमालेले विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न ५ साउनमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकलगत्तै सुझाव प्राप्त हुने गरी केन्द्रीय संगठन विभागले केही दिनभित्रै सुझावका लागि सबै पार्टी सदस्यलाई आह्वान गर्ने निर्णय भएको विभागका सदस्य तथा पूर्वमन्त्री गणेश पहाडीले बताए ।
२० देखि २२ भदौसम्म ललितपुरको गोदावरीमा एमालेले पार्टीको विधान महाधिवेशन आयोजना गर्दै छ । विभागले पार्टीको वडाकेन्द्रित जरा अभियान, सदस्यता नवीकरणलगायतका विषयमा समीक्षा गरेको छ ।
महाधिवेशन वर्ष भएकाले विगतभन्दा सदस्यता नवीकरणलगायतका संगठनात्मक काम उत्साहजनक रूपमा सम्पन्न भएको बैठकले निष्कर्ष निकालेको छ । सोमबारसम्म नवीकरणसहित कम्तीमा पार्टी सदस्य संख्या ६ लाख नाघेको एमालेले अनुमान गरेको छ ।
असार मसान्तभित्र सबै जिल्लाबाट नवीकरणको अभिलेख आएपछि संगठित सदस्य संख्या यकिन हुनेछ । बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको दशौँ महाधिवेशनले विधान सम्बन्धमा गरेको निर्णयलाई अपव्याख्या गरेर भ्रम सिर्जना खोजिएको प्रस्ट्याएका थिए ।
उनले दशौँ महाधिवेशनबाटै कार्यकारी पदमा उम्मेदवारी र कुनै पनि व्यक्ति अध्यक्ष पदमा कतिपटक निर्वाचित हुन पाउने विषय हटाइसकिएको जानकारी पनि दिएका थिए ।