
माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भ्रष्टाचार, अराजकता र दलाल प्रवृत्तिको बोलवाला भएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा सोमबार विशेष समय लिएर बोलेका प्रचण्डले गम्भीर आत्मसमीक्षा र कठोर निर्णय नगरे जनधैर्यको सीमा विस्फोटमा परिणत हुने चेतावनी दिए । उनले सरकार, प्रधानमन्त्री र मन्त्रीहरूमाथि दर्जनौँ प्रश्न पनि उठाएका छन् ।
प्रचण्डले सरकार गठन हुँदा आफूले बिचौलियाको स्वार्थ पूर्ति गर्न बनेको भनेको र आज एक वर्षपछि सत्तारूढ दलकै नेता–कार्यकर्ता पनि त्यो निष्कर्षमा पुगेको बताए । ‘त्यति वेला मैले सरकारबारे टिप्पणी गर्दा सत्ता छोड्दाको छट्पटी भनियो । तर, यो एक वर्षमा सरकार जसरी प्रस्तुत भयो, संख्याको दम्भमा जसरी कुशासनका पहाड ठडिए, जसरी दलाल, बिचौलियाहरूका पक्षमा सरकार नतमस्तक बन्यो । सरकार आज दलाल र बिचौलियाको स्वार्थपूर्तिमा छ भन्ने कुरा आमनागरिक र सत्तारूढ दलकै नेता–कार्यकर्ताको समेत भाष्य बन्न पुगेको छ,’ उनले भने ।
प्रचण्डले प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच रहेको अब आमजनतालाई जानकारी भएको उल्लेख गरे । ‘संसदीय समितिबाट पारित भएका विधेयकमाथि बिचौलियाले चलखेल गरे भनेर सत्तारूढ दलकै जिम्मेवार पदाधिकारीले भनिरहेका छन् । सरकारमै रहेका पार्टीका नेताले गठबन्धनको औचित्य पुष्टि गर्न माग गरेका छन्,’ उनले भने, ‘आमनागरिकका भाषामा पनि सरकार संख्याको बलमा टिकेको त छ, तर त्यहाँ जनभरोसा छैन । सरकार बिचौलियाको आदेशपालक बन्न पुगेको छ ।’
वर्तमान सरकार बन्नुको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उदांगो भइसकेको प्रचण्डको भनाइ थियो । ‘दलाल र बिचौलियाहरूको स्वार्थ पूरा नहुँदा, रातारात अर्बौँको चलखेल हुने परिस्थिति उल्ट्याउन खोज्दा र सेटिङ भत्काउन खोज्दा अप्राकृतिक गठबन्धन बनेको हो भन्ने तपाईंहरूले नै पुष्टि गर्नुभएको छ,’ उनले भने ।
प्रचण्डले अहिले एकपछि अर्को गरी हालसम्म सुशासन कायम गर्न सक्षम देखिएका नियामक संस्थालाई पनि बिचौलियाहरूकै तजबिजमा भ्रष्टीकरणतिर लगेको देखिएको बताए । ‘नियुक्तिमा भएको चलखेल, हाकाहाकी भएको कमिसन डिल र बिचौलियाहरूकै इसारामा अघि बढाइएका कार्यहरूबाट यो सरकारको उद्देश्य र चरित्र अझ प्रस्ट हुन गएको छ,’ उनले भने ।
प्रचण्डले धितोपत्र बोर्डदेखि जग्गा काण्डहरू, भुटानी शरणार्थी काण्डदेखि मेरिटोक्रेसी भत्काउनेसम्म, विद्युत् बक्यौता नतिर्नेलाई चोख्याउनेदेखि भूमाफियालाई कानुनी संरक्षण गर्नेसम्मका तथ्यहरूले आफूले भनेको प्रमाणित गरेको उल्लेख गरे । सरुवा र नियुक्तिमा मन्त्रीहरूबाटै लाखौँका डिल भएका विषय सार्वजनिक हुँदासम्म र दलालहरूको स्वार्थपूर्ति गर्ने गरी बजेट ल्याइँदासम्म सरकार केका लागि बनेको थियो भन्ने पुष्टि गरेको उनको आरोप छ ।
प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्यमाथि पनि प्रश्न उठाए । ‘के तपाईंहरू अझै पनि यो अप्राकृतिक गठबन्धनको औचित्य पुष्टि गर्ने ठाउँमा हुनुहुन्छ ? के अझै पनि सरकारसँग जनताको भरोसा र नैतिक धरातल छ भन्ने ठान्नुभएको छ ?’ उनको प्रश्न छ, ‘राज्यको स्रोत र साधन दोहन गर्न पाइरहेका सीमित दलाल पुँजीपति र बिचौलियाबाहेक तपाईंहरूसँग को खुसी छ ?’
दुईतिहाइको सरकार हुँदा पनि निराशा बढाउने काम भइरहेको उनको भनाइ छ । ‘५० औँ हजार शिक्षकहरू सडकमा उत्रिए । हजारौँ निजामती राष्ट्रसेवकहरूले कार्यालय ठप्प पार्ने चेतावनी दिइरहेका छन् । चिकित्सकहरू बारम्बार सडकमा आउने अवस्था छ । सहकारीपीडितको आक्रोश र पीडा उस्तै छ । मिटरब्याजपीडितका समस्या झनै जटिल भइरहेका छन् । भ्रष्टाचारीहरूलाई चोख्याइँदै छ, नागरिक संस्था र समूहमा आक्रोश र असन्तुष्टि छ । जनतामा झन् निराशा बढाउने काम हुँदै छ । यो सबै तपाईंहरूकै कारणले हो,’ उनले भने । सरकारको काम–कारबाहीले सत्तारूढ कार्यकर्ता नै सन्तुष्ट हुन नसकेको भन्दै उनले सोधे, ‘यो एक वर्षमा कसको विश्वास जित्नुभयो प्रधानमन्त्रीज्यू ? कुनचाहिँ वर्गका मानिस खुसी छन् ? सरकारका गतिविधिले कसले पाउँदै छ लाभ ? जनताको त कुरै छोडौँ सरकारका गतिविधि र नेतृत्वको प्रवृत्तिले तपाईंहरूकै कार्यकर्तासमेत सन्तुष्ट हुन सकिरहेका छैनन् ।’
सरकारबाटै गणतन्त्र संकटमा
प्रचण्डले राजावादी वा प्रतिगामी शक्तिभन्दा गणतन्त्रका लागि ठुलो खतरा सरकारको कार्यशैली भएको टिप्पणी गरे । ‘तपाईंहरूकै कुशासनको परिणामस्वरूप मैले एक वर्षअगाडि प्रकट गरेको चिन्ता केही समयअघि तीनकुने र देशका विभिन्न भागमा भएका प्रतिगामी हर्कतका रूपमा देखा पर्यो । यही कारण व्यवस्था र प्रणालीमाथि नै प्रश्न उठाउनेहरू सक्रिय बने,’ उनले भने ।
उनले प्रधानमन्त्री ओलीको लोकतन्त्रप्रतिको विश्वासमा शंका गर्नुपर्ने बताए । ‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाडा भनिरहँदा या पटक–पटक संसद् विघटनका शृंखला हेर्दा र प्रतिगमनकारीहरू सल्बलाउँदा वा व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउन सकिने आधार देखिँदैन,’ उनले भने, ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट छैन, सरकारकै कार्यशैलीबाट छ । तर, तपाईंहरू अझै पनि संख्याको दम्भमा जे गरे पनि हुन्छ भनेर कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ ।’ प्रचण्डले आत्मसमीक्षा र आफूलाई सच्याउने कठोर संकल्प नगर्ने हो भने जनताको धैर्यको सीमा विस्फोट हुने चेतावनी दिँदै सतर्क हुन अपिल गरे ।
कांग्रेस पनि ‘स्वर्ग र नर्ककै गोलचक्कर’मा
प्रचण्डले सत्तासाझेदार कांग्रेसमाथि पनि प्रश्न उठाए । ‘कांग्रेस संसद्को सबैभन्दा ठुलो दल हो । एकपछि अर्को स्वेच्छाचारिताका शृंखला जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ । यसबाट कांग्रेस पनि ‘स्वर्ग र नर्ककै गोलचक्कर’को पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ,’ उनले भने ।
मन्त्रीहरू घुस लिएर भूमि आयोगको पदाधिकारी परिवर्तनमा
विपक्षी दलका नेता प्रचण्डले भूमिहीनलाई जग्गाको लालपुर्जा दिनुपर्नेमा सरकारका मन्त्रीहरू घुस लिएर भूमि आयोगका पदाधिकारी परिवर्तनमा लागेको टिप्पणी गरे । ‘मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा ५ लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गरी गृहकार्य गरिएको थियो । तर, दुईतिहाइको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी परिवर्तन गर्नुबाहेक सिन्कोसमेत भाँच्न सकेन,’ उनले भने, ‘भूमिहीनलाई जग्गा स्वामित्वका लागि सघन प्रयास गरिनुपर्नेमा सरकारका मन्त्रीहरू सरुवा तथा भूमिहीनका लागि स्थापना भएको आयोगको पदाधिकारी चयन गर्नसमेत बिचौलियासँग लाखौँको डिल गरिरहेका छन् ।’
जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति
प्रचण्डले अहिले जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति भनेजस्तो भएको टिप्पणी गरे । प्रधानमन्त्रीले दिएको ‘चित्रगुप्तलाई बयान दिन तयार छु’ भन्ने अभिव्यक्ति स्मरण गर्न उनले अनुरोध गरे । ‘राज्यका आधिकारिक निकाय र प्रणालीसँग समानान्तर हुने गरी संरचना नै बनाएर असुली गरिएका समाचार आउन थालेका छन् । देशभित्र मात्र नभएर विदेशमा समेत, जहाँ जहाँ प्रधानमन्त्रीले पाइला टेक्नुहुन्छ, त्यहाँ विवाद हुने गरेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, खुलमखुला सरकारका मन्त्रीहरूमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागिरहँदासमेत तपाईंलाई सरकार अझै सुशासनकै दिशामा छ भन्ने लाग्छ ? के दिनुहुन्छ अब बयान ? यस्ता अनगिन्ती उदाहरणले प्रधानमन्त्रीज्यूको ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने बडो राम्रो भनाइ र गराइ मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाएजस्तै भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाऊँ भन्ने रहेछ भन्ने साबित भएको छ ।’
राजनीतिक प्रतिशोध
प्रचण्डले सरकारविरुद्ध भ्रष्टाचारका स्पष्ट प्रमाणहरू हुँदाहुँदै दोषीहरू जोगाइएका र विपक्षीप्रति राजनीतिक प्रतिशोध साधिएको दाबी गरे । ‘बिचौलियाका पक्षमा अध्यादेश ल्याउनेदेखि बक्यौता नतिर्नेहरूको तिरो तिर्न प्राधिकरणका निर्देशकलाई निष्कासन गर्नमा तपाईंहरूले भएभरको ऊर्जा खर्चिनुभयो । तपाईंहरू भागबन्डा, मिलेमतो र न्यायालयदेखि सत्ताका हरेक अंगहरूमा चरम राजनीतीकरण, सरुवा आतंक सिर्जना गर्नमै व्यस्त हुनुभयो,’ प्रचण्डले भने, ‘जनजीविकाका सवाल, सुशासनका मुद्दा, सामाजिक न्याय र आर्थिक समृद्धि तपाईंहरूका लागि घाँडो भएका छन् । एउटै मुद्दामा आफ्नाहरूलाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधसहित फसाउने कुरामा त तपाईंहरूको सरकारको विश्व रेकर्ड नै बनेको छ । दुनियाँले हेरिराखेका छन् ।’
सरकारले हाकाहाकी भ्रष्टाचारी जोगाउँदै छ
प्रचण्डले देश सम्पत्ति शुद्धीकरणको सघन अनुगमन सूची (ग्रे–लिस्ट)मा परेका वेला भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्नेमा सरकारका कदमहरू भ्रष्टाचार नियन्त्रणतर्फ नदेखिएको बताए । ‘मैले त्यतिवेलै भनेको थिएँ– यो सरकार सुशासनको डरले बनेको हो भनेर । सुशासनसँगको त्यो डर आज पर्यन्त कायमै छ । त्यही डरले दुई ठुला दल मिलायो अनि अहिले त्यही डरले सरकारले हाकाहाकी भ्रष्टाचारीहरूलाई जोगाउँदै छ,’ उनले भने, ‘भ्रष्टाचारका फाइलहरू बन्द गरिँदै छन् । भ्रष्टाचार झन् मौलाउँदै गएको छ । सम्पत्ति शुद्धीकरणका क्रियाकलाप बढ्दै गएका छन् । अनि देश कसरी आउँछ ग्रे–लिस्टबाट बाहिर ?’
भिजिट भिसा प्रकरण
अध्यक्ष प्रचण्डले भिजिट भिसाको विषय केवल प्रशासनिक त्रुटि मात्र नभई गम्भीर राष्ट्रिय अनुसन्धानको विषय भएको बताए । ‘यो समस्या लामो समयदेखि चल्दै आएको देखिन्छ र यसमा अन्तर्राष्ट्रिय कैयन संस्थाहरूको संलग्नता पनि कतै न कतै देखिन गएको छ,’ उनले भने, ‘त्यसैले यस विषयमा गहिरो र निष्पक्ष छानबिनको सर्तमा विधेयकहरू पारित गराउन एक जिम्मेवार प्रतिपक्षका हैसियतले सदनको अवरोध हटाएका हौँ ।’
संसद् बिचौलियाको खेलमैदान
संसद्को गरिमा बिचौलियाको चलखेलमा क्षतविक्षत भएको आरोप लगाउँदै प्रचण्डले दुई ठुला दलको मिलेमतोमा संसद्लाई बिचौलियाको खेलमैदान बनाइएको बताए । ‘आज संसद् र संसदीय समितिहरू कसरी चलेका छन् ? हामीले अनुभूति गरेकै छौँ । हजारौँ पेसाकर्मी शिक्षकहरूसँगको सहमति पालना नगरी विद्यालय शिक्षा विधेयकलाई बिचौलियाको हितमा बन्धक बनाइँदै छ,’ उनले भने, ‘संवैधानिक निकायमा राजनीतिक भागबन्डा, अदालतमा आफ्ना मान्छे र संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू रातारात प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी गरेर कस्तो शासनको अभ्यास गरिँदै छ ?’ उनले थपे, ‘दुई दलको अहंकारले सार्वभौम संसद्लाई समेत बिचौलियाहरूको खेलमैदान बनाइएको छ ।’