मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format १५:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अपांगता बालबालिकाको घरमै स्कुल

हरेक दिन शिक्षककै उपस्थितिमा घरमै पठनपाठन गर्दछन् अपांगता बालबालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

तातोपानी गाउँपालिका– ४, नियापानी गाउँका १४ वर्षीय मुकेन्द्र सार्की अति असक्त अपांगता भएका व्यक्ति हुन् । उनी आफैँ हिँडेर स्कुलसम्म पुग्न सक्दैनन् । उनले विद्यालय पनि देखेका थिएनन् । यस्तै, तातोपानी गाउँपालिका– ५, श्रीनगर गाउँका १३ वर्षीय प्रकाश रोकाया एक बहुअपांगता भएका व्यक्ति हुन् । उनी बोल्न र हिँडडुल गर्न सक्दैनन् । उनी जन्मदेखि नै बहुअपांगता भएका व्यक्ति हुन् । उनी पनि आफैँ हिँडेर स्कुल पुग्न सक्ने अवस्था छैन । 

तातोपानी गाउँपालिका– ७, बाँरागाउँकी १४ वर्षीया सम्झना रावत पनि अपांगता भएकी व्यक्ति हुन् । उनीहरू तीनजना विपन्न घरपरिवारका अपांगता भएका व्यक्ति हुन् । उनीहरू अपांगता भएकै कारण पढ्न–लेख्नका लागि स्कुलसम्म पुग्न सकेका थिएनन् । हिमाली जिल्ला जुम्लाको भौतिक संरचनादेखि भौगोलिक बनावट पनि अपांगमैत्री छैन । 

जसका कारण अपांगता भएका व्यक्तिले सहजै रूपमा शिक्षा आर्जन गर्न नसकेको अवस्थामा तातोपानी गाउँपालिका जुम्लासँगको सहकार्यमा किर्डाक नेपाल जुम्लाले सहयात्रा परियोजनाअन्तर्गत घरमै पठनपाठनको वातावरण सिर्जना गरिएको छ । घरमै विद्यालय कार्यक्रम सञ्चालन गरी तीनजना बहुअपांगता भएका बालबालिकाका लागि विद्यालयकै वातावरणमा पठनपाठन गर्दै आएका छन् ।  

घरमा नै विद्यालय कार्यक्रमअन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०२४ देखि सहयात्रा तेस्रो परियोजना लागू भएपश्चात् तीनजना बालबालिकालाई विद्यालयमा भर्ना गरी घरमा नै विद्यालयको सेवा–सुविधाबाट पढ्नपाठनको वातावरण सिर्जना गरिएको हो  ।उनीहरूको घरमै पठनपाठनका लागि शिक्षकको पनि व्यवस्थापन गरिएको किर्डाक नेपाल जुम्लाका शिक्षा संयोजक ख्यामराज लामिछानेले बताए । उनले तीनजना बहुअपांगता भएका बालबालिका लागि तीनजना नै शिक्षकको व्यवस्थापन गरिएको बताए । यस्तै, आवश्यक शैक्षिक सामग्री पनि व्यवस्थापन गरिएको छ ।

शिक्षकहरू सावित्रा नेपाल, उषा रावल र सीता बस्नेत हुन् । उनीहरु (शिक्षक) हरेक दिन अपांगता भएका बालबालिकाको घरमै पुगेर १० देखि २ बजेसम्म पढाउने गरेका छन् । 

अपांगता बालबालिकालाई पढाउँदै आएकी शिक्षिका उषा रावलका अनुसार बालबालिकाको शिक्षा र रहनसहनमा सुधार हुँदै आएको छ । सुरुमा उनीहरूले कोही मान्छे आयो । हामी शिक्षक पनि घरमा पुगेपछि उनीहरूले अप्ठ्यारो महसुस गर्थे । अनुहार मलिन बनाउनेजस्तो गर्दै आएका थिए । तर, उनीहरूमा नयाँ कुराको सिकाइ हुनुका साथै आनीबानीमा पनि सुधार भएको देखिन्छ । 

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा ल्याउने उद्देश्य भएकाे बताए । तीनजना बहुअपांगता बालबालिका विद्यालयसम्म पुग्न नसक्ने भएपछि तातोपानी गाउँपालिकामा सञ्चालित सययात्रा परियोजनाअन्तर्गत घरमै पठनपाठनको व्यवस्थापन गरिएको हो ।