
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलता देखिएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबिच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुईतिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै तीन सय दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’
तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दासमेत कार्यान्वयन नभएको भन्दै उनले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाए । दाहालले भने, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट’ ?
‘प्रचण्ड’ले यस्तो कार्यशैलीले सरकारको घोषणा केवल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै, राष्ट्रिय गौरवका अन्य आयोजनामा समेत यस्तै लापरबाही दोहोरिएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनाबद्ध ढंगले निरन्तरता दिइनुपर्दछ । तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन ।’
सरकारलाई घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन उनको आग्रह थियो ।