
इन्जुरी समयको अन्तिम सेकेन्ड सम्हालिन नसक्दा नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३–२ ले पराजित भएको छ । बंगलादेशको बसुन्धारा किंग्स मैदानमा नेपालले उत्कृष्ट पुनरामगन गर्दै दुई गोलले पछि रहेको अवस्थामा बंगलादेशलाई २–२ को बराबरीमा रोकेको थियो ।
भुटानी रेफ्रीले सात मिनेट अतिरिक्त समय थपेकी थिइन् । यसै समयमा बंगलादेशले बाजी मारेको हो । बराबरीतर्फ अग्रसर भएको खेल सकिन केही सेकेन्डअघि नेपाली डिफेन्डरले कमजोर प्रदर्शन गरेका थिए । यसैको फाइदा लिँदै बंगलादेशले नेपालमाथि ३–२ को सनसनी जित निकाल्यो । बंगलादेशको तेस्रो गोलसँगै खेल पनि समाप्त भएको थियो । अन्तिम सेकेन्ड सम्हालिन नसक्दा नै नेपालले महत्वपूर्ण अंक गुमाएको छ ।
बंगलादेशको जितमा सिन्हा शिखा, सागोरिका र श्रीमोती तृस्ना रानीले समान एक गोल गरेका थिए । नेपालबाट डिफेन्डर अनिशा राई र मीना देउवाले समान एक गोल फर्काए । डबल राउन्ड रोबिन लिगमा बंगलादेशले लगातार दुई खेलमा जित निकाली शीर्ष स्थान बलियो बनाएको छ । नेपालले दुई खेलमा समान एक हार र जित निकालेको छ । दोस्रो चरणको राउन्ड रोबिन लिगमा आयोजक बंगलादेश नेपालमाथिको जितका कारण बलियो देखिएको छ । पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले हराएको थियो । नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिक गरेकी थिइन् । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९–१ ले हराएको हो ।
मध्यान्तरपछि दुवै टोली १० खेलाडीमा सीमित
प्रतिस्पर्धाको ५७औँ मिनेटमा नेपाल र बंगलादेश समान १० खेलाडीमा सीमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी स्ट्राइकर सागोरिकाले सिधै रातो कार्ड पाएका थिए । राई र सागोरिकाले मैदानमा हात हालाहाल गरेपछि भुटानी रेफ्री छिरिङ याङखेले उनीहरूलाई सिधै रातो कार्ड देखाएकी हुन् । त्यसपछि दुवै टोलीले १० खेलाडीमै प्रतिस्पर्धा गरेका थिए । बंगलादेशको स्ट्राइकरले रातो कार्ड पाएपछि फिनिसिङ लाइनअप कमजोर देखियो ।
नेपालले १० खेलाडीमा रहेको बंगलादेशविरुद्ध मध्यान्तरपछि भरपूर फाइदा लियो । नेपालले बंगलादेशविरुद्ध दुवै गोल मध्यान्तरपछि नै गरेको थियो । बंगलादेशले भने एक खेलाडी नहुँदा कमजोर प्रदर्शन गर्यो । नेपालले बराबरी गोल फर्काउँदा बंगलादेशका खेलाडी आत्तिएका देखिन्थे । यद्यपि, अन्तिम सेकेन्डमा बंगलादेशले बाजी मार्यो ।
दुवै हाफमा समान दुई गोल
बंगलादेशले खेलको १४औँ मिनेटमा सिन्हा शिखाको गोलबाट १–० को अग्रता लियो । मुन्की अख्तरले नेपाली गोलरक्षक सुजाता तामाङसहित चार डिफेन्डरलाई बिट बल प्रहार गरेकी थिइन् । नेपाली डिफेन्डर गंगा रोकायले गोललाइनबाट बल राम्रोसँग क्लियर गर्न सकिनन् । सिन्हाले सिक्स यार्ड बक्समा सहज अग्रता गोल गरेकी हुन् । दोस्रो हाफमा रातो कार्ड पाएकी सागोरिकाले ३६औँ मिनेटमा बंगलादेशलाई २–० को अग्रता दिलाएकी थिइन् । शान्ति मार्दीको क्रसलाई गोलरक्षक सुजाताले नियन्त्रणमा लिन सकिनन् । डिबक्सभित्र रिबाउन्ड बलमा सागोरिकाले सहजै गोल गर्दै बंगलादेशलाई दोहोरो अग्रता दिलाइन् ।
खेलको ७६औँ मिनेटमा नेपालले बंगलादेशविरुद्ध २–१ को गोलअन्तर बनायो । डिफेन्डर अनिशाले पेनाल्टीमा गोल गरेकी हुन् । अट्याकर मीना देउवालाई बंगलादेशकी बिबी रिताले बक्सभित्र लडाएपछि रेफ्री छिरिङले नेपाललाई पेनाल्टी दिएकी हुन् । खेलको ८६औँ मिनेटमा नेपालले २–२ को बराबरी गोल ग¥यो । अट्याकर मीनाले काउन्टरमा बराबरी गोल फर्काइन् । काउन्टरमा अर्की स्ट्राइकर पूर्णिमा राईले मिलाएको पासलाई बक्सभित्रबाट मीनाले वान टचमै गोल गरेकी हुन् ।