मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३० सोमबार o९:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बंगलादेशले नेपालसँगको मैत्रीपूर्ण फुटबल नखेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o९:५६:oo

बंगलादेशले नेपालसँग हुने भनिएको दुई मैत्रीपूर्ण खेल नखेल्ने घोषणा गरेको छ । गत साता अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटअगाडि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको थियो । एन्फाका अनुसार नेपाल र बंगलादेशबिचको खेल ६ र ९ सेप्टेम्बरमा हुनुपर्ने थियो । तर, बंगलादेशले दशरथ रंगशालामा हुने भनिएको नेपालसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल नखेल्ने जनाएको छ । बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ)ले दक्षिण एसियाबाहिरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो । 

‘बंगलादेशले दक्षिण एसिया राष्ट्रसँग नभएर यस क्षेत्रबाहिरका फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ,’ बिएफएफको शनिबार राति बसेको बैठकले जनाएको छ । बिएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लामले टोली बलियो बनाउन आफूभन्दा बलिया राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने निर्णय भएको बताए । ‘हामी आफू बराबर नभएर बलियो टोलीसँग खेल्ने योजना बनाएका छौँ,’ उनले भने, ‘यसले हाम्रो स्तर बढ्नेछ ।’ 

उनका अनुसार बंगलादेशसँग भियतनाम र कम्बोडिया मैत्रीपूर्ण खेल खेल्न इच्छुक छन् । बंगलादेशले एसिया कपका लागि युरोपका सात राष्ट्रसँग मैत्रीपूर्ण खेलको प्रस्ताव राखेको थियो । तर, बंगलादेशको प्रस्ताव युरोपियन राष्ट्रहरूले अस्वीकार गरेका थिए । बंगलादेशको पछिल्लो निर्णयसँगै नेपालको तयारी अन्योलमा परेको छ ।

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा मलेसिया, लाओस र भियतनामसँग छ । समूह चरणमा नेपालले दुई खेल गुमाएको छ । नेपाल मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो । नेपालले ९ अक्टोबरमा तेस्रो खेलमा भियतनामसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तालिका छ ।