मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
२o८२ असार ३० सोमबार १९:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेपानीमा लगाइएको करको विरोधमा फेडवासन बाराद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार १९:४१:oo

सरकारले खानेपानी उपभोक्ता समितिहरूको आम्दानीमा लगाएको कर खारेजीको माग गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) बाराले जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाएको छ।

महासंघका जिल्ला अध्यक्ष सुदर्शनप्रसाद कोइरालाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीमार्फत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो।

अध्यक्ष कोइरालाका अनुसार अघिल्लो व्यवस्थाअनुसार आयकर ऐन, २०५८ को दफा १० (ट)मा जलस्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले आर्जन गरेको रकममा कर छुटको व्यवस्था गरिएकोमा आर्थिक विधेयक २०८१ को दफा ३६(२) बाट उक्त कर छुट व्यवस्था हटाइएपछि समुदायमा आधारित खानेपानी संस्थाहरूलाई ठुलो आर्थिक भार पर्ने खतरा देखिएकाले कर खारेजीको माग गरिएको हो।

ज्ञापनपत्रमा सरकारको यो निर्णयले नेपालको संविधानले दिएको मौलिक हकमा प्रत्यक्ष असर पार्ने दाबी गरिएको छ। खानेपानीलाई व्यापारिक वस्तुजस्तो व्यवहार गर्दै त्यसमा कर लगाउने सरकारी निर्णयप्रति महासंघले गम्भीर आपत्ति जनाउँदै सो कार्य संविधान, जलस्रोत ऐन २०४९, खानेपानी तथा सरसफाइ ऐन २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्मविपरीत रहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरिका करिब ४५ हजारभन्दा बढी सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले जनताको मौलिक हकको रूपमा पानी सेवा दिँदै आएका छन्। सरकारले यसमाथि कर लगाउने निर्णय फिर्ता गरी कर छुट र आवश्यक विद्युत् महसुल छुटको व्यवस्था तुरुन्त गर्न हामी हार्दिक अनुरोध गर्दछौँ।’

महासंघले सरकारसँग जलस्रोत ऐन, खानेपानी तथा सरसफाइ ऐन र स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत विधिवत रूपमा दर्ता भएका गैरनाफामूलक, सामुदायिक सेवा प्रवाह गर्ने खानेपानी तथा सरसफाइ संस्थाहरूलाई पुनः कर छुट दिने स्पष्ट कानुनी व्यवस्था गर्न र भविष्यमा यस्ता संस्थाहरूलाई करको मारबाट जोगाउन माग गरेको छ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को देशव्यापी कार्यक्रमअनुसार बारामा पनि प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको अध्यक्ष कोइरालाले जानकारी दिए।