मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format o९:४३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्डको कमजोर प्रदर्शन

तेस्रो टेस्टको दोस्रो इनिङ्समा कमजोर ब्याटिङ गरेपछि इंग्ल्यान्ड १९२ रनमै समेटियो । भारतले जितका लागि सहज १९३ रन पाएको छ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४३:oo

घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टमा कमजोर प्रदर्शन गरेको छ । लड्र्स मैदानमा आइतबार इंग्ल्यान्ड दोस्रो इनिङ्समा १९२ रनमै समेटिएको छ । भारतले जितका लागि सहज १९३ रन पाएको छ । इंग्ल्यान्डले पहिलो इनिङ्समा ३८७ रन जोडेको थियो । भारतको पहिलो इनिङ्स पनि ३८७ रनमै सीमित भयो । दोस्रो इनिङ्समा इंग्ल्यान्डविरुद्ध भारतीय बलरले कसिलो बलिङ प्रदर्शन गरे । 

लड्र्स मैदानमा भारतले ऐतिहासिक जित निकाल्न अझै पाँचौँ दिनको खेल बाँकी रहेको छ । यद्यपि, भारतले लक्ष्य पछ्याएको इनिङ्समा चार विकेट गुमाइसकेको छ । इंग्ल्यान्डविरुद्ध दोस्रो इनिङ्समा वासिङटन सुन्दरले उत्कृष्ट बलिङ गरेका थिए । उनले १२.१ ओभरमा २२ रन खर्चेर चार विकेट हात पारे । सिमर जसप्रीत बुमराहले १६ ओभरमा ३८ रन खर्चेर दुई विकेट लिए । मोहमद सिराजले ३१ रनमा दुई विकेट हात पारे । नीतीश कुमारले २० रनमा एक विकेट लिए ।

अर्धशतकविनाको इंग्ल्यान्डको दोस्रो इनिङ्स
इंग्ल्यान्डको दोस्रो इनिङ्सको ब्याटिङमा कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । सो इनिङ्समा सर्वाधिक रन जोए रुटले बनाए । उनले ४० रनको योगदान दिन १४० बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । उनले पहिलो इनिङ्समा शतकीय इनिङ्स खेलेका थिए । कप्तान बेन स्टोक्सले ३३ रन जोडेका थिए ।

उनले ९६ बलमा तीन चौका प्रहार गरेका थिए । भारतको कसिलो बलिङमा इंग्ल्यान्ड इनिङ्सको एक समय ८७–४ को स्थितिमा थियो । त्यसपछि रुट र बेनले पाँचौँ विकेटका लागि ६७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १५४–५ को स्थितिमा राखे । पुछारका कुनै पनि खेलाडीले गतिलो योगदान दिन नसक्दा इंग्ल्यान्डले भारतलाई ठुलो लक्ष्य दिन नसकेको हो । भारतले इंग्ल्यान्डलाई ३२ अतिरिक्त रन दिएको थियो । इंग्ल्यान्डले १० रनको अन्तरमा अन्तिम चार विकेट गुमाएको थियो । 

इंग्ल्यान्डमा राखे गिल र बुमराहले रेकर्ड 
भारतका कप्तान शुभमन गिल र बलर जसप्रीतले रेकर्ड बनाएका छन् । गिल इंग्ल्यान्डविरुद्धको एकै सिरिजमा ६ सय रन बनाउने दोस्रो भारतीय ब्याट्सम्यान बनेका छन् । यसैगरी फास्ट बलर बुमराह घरबाहिर सर्वाधिक पाँच विकेट लिने खेलाडी बने । घरबाहिर भएका टेस्टमा बुमराहले सर्वाधिक १३ पटक पाँच विकेटको प्रदर्शन गरेका छन् । उनले पहिलो इनिङ्समै टेस्ट करिअरमा ४५० विकेट संख्यासमेत पूरा गरे । पूर्वकप्तान कपिल देवले भारतबाहेक अन्य भूमिमा १२ पटक पाँच विकेटको प्रदर्शन गरेका थिए । 

यसैगरी, इंग्ल्यान्डका रुटले भारतविरुद्ध ११ टेस्ट शतक लगाएका छन् । उनले करिअरकै ३७औँ टेस्ट शतक लगाएका हुन् । अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथको नाममा रहेको ३६ शतक रेकर्ड रुटले तोडेका छन् । स्मिथले पनि भारतविरुद्ध समान ११ टेस्ट शतक बनाएका छन् । 

टेस्ट करिअरमा बुमराहले रुटलाई १५ पटक आउट गरेका छन् । यसैगरी, टेस्ट क्रिकेटमा इंग्ल्यान्डका रुट सबैभन्दा बढी क्याच लिने फिल्डर बनेका छन् । उनले १५६ टेस्टमा सर्वाधिक २११ क्याच लिएका छन् । यसअघि यो रेकर्ड भारतका राहुल द्रविडको नाममा थियो । द्रविडले १६४ टेस्टमा २१० क्याच लिएका थिए ।