१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
नवराज मैनाली काठमाडाैं
२o८२ असार २४ मंगलबार o६:३१:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीन वर्षअघि स्थगित डेढ अर्बको हतियार खरिद ठेक्का ब्युँताउन बिचौलियाको चलखेल जारी

विवादमा परिने भएपछि नेपाल प्रहरीले नयाँ ठेक्का प्रक्रिया थाल्ने, सशस्त्रले गरिसक्यो पुरानो ठेक्काको म्याद नथप्ने निर्णय

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार o६:३१:oo

नेपाल प्रहरी र सशस्त्रका लागि डेढ अर्बका हतियार किन्ने तीन वर्षअघि स्थगित ठेक्का ब्युँताउन बिचौलिया समूहको चलखेल अहिले पनि जारी छ । तर, विवादित ठेक्कामा फसिने डरले दुवै प्रहरीको नेतृत्व पन्छिन खोजेका छन् । बरु, राजनीतिक र प्रशासनिक दबाबै आए पनि नयाँ ठेक्का प्रक्रिया अघि बढाउने उनीहरूको प्रस्ताव छ ।

०७९ को निर्वाचनको मुखमा सरकारले दुवै प्रहरीलाई हतियार किन्न बजेट विनियोजन गरेको थियो । नेपाल प्रहरीका लागि करिब एक अर्बको र सशस्त्रका लागि करिब ५० करोड रुपैयाँको हतियार किन्ने ठेक्का सम्झौता भएको थियो ।

दुवै प्रहरीको ठेक्का विवादास्पद व्यापारी दीपक भट्टका कम्पनीहरूले हात पारेका थिए । तर,  खरिद प्रक्रियामा मिलेमतोको प्रश्न उठेपछि त्यतिखेर स्थगित गरिएको थियो । अहिले त्यही ठेक्का ब्युँताएर हतियार खरिद प्रक्रिया अघि बढाउन भट्टले चलखेल जारी राखेका छन् । सोही योजनअनुसार व्यापारी भट्टकै स्वार्थमा हालै सार्वजनिक खरिद नियमावलीसमेत संशोधन गरिएको थियो । संशोधनमा पहिला स्थगन गरिएका खरिद सम्झौतालाई निरन्तरता दिन सकिने विशेष प्रावधान राखिएको छ ।

पुरानै ठेक्कालाई अघि बढाउँदा विवादमा पर्नुका साथै मुद्दामामिलामा फसिने त्रासले प्रहरी नेतृत्व त्यसमा मानेको छैन । तर, गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबाट दुवै प्रहरीलाई चर्को दबाब छ । दबाबबिच नै सशस्त्रले पुरानो ठेक्काको म्याद थप नगर्ने निर्णय गरिसकेको छ भने नेपाल प्रहरीका आइजिपी दीपक थापाले पनि नयाँ प्रक्रियाबाट मात्रै अघि बढाउने प्रस्ताव गरेका छन् ।

संशोधित नियमावलीको प्रावधानअनुसार व्यापारी भट्टका कम्पनीहरूले तीन वर्षअघिकै सम्झौताअनुसार म्याद थप गरेर हतियार खरिदका लागि सशस्त्रमा गत १४ जेठमा निवेदन दिएको थियो । यसरी निवेदन परेको एक महिनाभित्र म्याद थप नगरे कारबाही हुने प्रावधानसहित सार्वजनिक खरिद नियमावली संशोधन गरिएको थियो ।

तर, सशस्त्र प्रहरीले म्याद थप नगर्ने निर्णय गरेको छ । ‘कानुनी रूपमा पनि अहिले पुरानो प्रक्रिया अघि बढाउन मिल्दैन भन्ने हाम्रो निष्कर्ष छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने, ‘बजेट पनि सरकारले दिएको छैन, त्यहीकारण म्याद थप नगर्ने निर्णय भएको छ ।’

सशस्त्र प्रहरीले म्याद थपबारे सार्वजनिक खरिद अनुगमनको कार्यालयसँग राय मागेको थियो । सो कार्यालयले राय दिन अस्वीकार गरेसँगै सशस्त्र नेतृत्व म्याद थप नगर्ने निष्कर्षमा पुगेको हो । सशस्त्र प्रहरीलाई हतियारभन्दा विपत् व्यवस्थापन र बिओपी निर्माणका लागि बजेट आवश्यक रहेको सशस्त्र प्रहरी अधिकारीले बताउँदै आएका छन् ।

तीन वर्षअघि सशस्त्रमा १९ लाख ६६ हजार डलरको पेस्तोल तथा १७ लाख ८२ हजार डलरको सटगन खरिदको सम्झौता भएर प्रतीतपत्र (एलसी)समेत खोलिएको थियो । पछि मन्त्रिपरिषद्ले नै स्थगन गर्ने निर्णयसँगै एलसीबापतको पैसा सरकारको राजस्व खातामा जम्मा भइसकेको छ । तर, फेरि त्यही एलसी नवीकरणका लागि विवादास्पद व्यवसायी दीपक भट्टले शक्तिकेन्द्रमार्फत दबाब दिइरहेको स्रोत बताउँछ ।

नौ एमएमको दुई हजार तीन सय थान पेस्तोल खरिदका लागि मक्र्युर (मिनेर्भाे कर्पाेरेसनको स्थानीय प्रतिनिधि) तथा दुई हजार थान सटगन खरिदका लागि पेरुन इन्टरप्राइजेज(एरियाज टेक्नोलोजी, हङकङको स्थानीय प्रतिनिधि)सँग सम्झौता भएको थियो । पेस्तोल ८५५ अमेरिकी डलर तथा सटगन ८९१ अमेरिकी डलरका दरले खरिद गर्न १६ असार ०७९ मा सम्झौता भएकोमा २७ असारमा एलसीसमेत खोलिएको थियो । सटगनको १७ लाख ८२ हजार डलको ठेक्का पेरुन तथा १९ लाख ६६ हजार पेस्तोल खरिदको ठेक्का मक्र्युरले पाएको थियो । सशस्त्र प्रहरीको ठेक्का पाउने दुवै कम्पनी व्यवसायी भट्टका कामदारको नाममा छन् । 

नेपाल प्रहरीमा कानुन मिचेर एक वर्ष म्याद थप
नेपाल प्रहरीमा भने गत वर्ष नै एक वर्ष म्याद थप भइसकेको खुलेको छ । गत वर्ष भदौ अन्तिममा तत्कालीन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एक वर्षका लागि भनेर ठेक्काको म्याद थप गरेका थिए । जसअनुसार आगामी भदौसम्म सो ठेक्काको म्याद छ । त्यतिवेला दबाबको भरमा कानुन मिचेर म्याच थप गरिएको पाइएको छ । सोहीअनुसार अहिले पनि सोही प्रक्रिया ब्युँताउन भनिएको छ ।

तर, सो खरिद प्रक्रियाबारे प्रश्न उठेको र त्यसका लागि बजेट नआएकाले नयाँ खरिद प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको तयारी छ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा प्रहरीलाई पेस्तोल र भिड नियन्त्रणका सामान आवश्यक भएको र त्यो नयाँ प्रक्रियाबाट खरिद गरिने बताउँछन् ।

‘पेस्तोल र भिड नियन्त्रणका सामान खरिदका लागि भनेर प्रहरीको सिलिङभित्रै सरकारले आगामी वर्षका लागि बजेट दिएको हो । नयाँ वर्षको बजेट भएकाले नयाँ आर्थिक वर्ष सुरु भएपछि नै त्यसको कार्यान्वयन हुन्छ । प्रहरीलाई पेस्तोल र भिड नियन्त्रणका सामग्री आवश्यक छ,’ उनले भने, ‘नयाँ प्रक्रियाबाट ग्लोबल टेन्डर गरेर पारदर्शी तरिकाले खरिद प्रक्रिया अघि बढाउँछौँ । पहिला स्थगन भएको ठेक्काका लागि बजेट पनि आएको छैन । खरिदको सबै काम नयाँ प्रक्रियाबाट हुन्छ ।’

पुरानो ठेक्काको म्याद थपको विषयमा आफूलाई विस्तृत जानकारी नभएको उनको भनाइ छ । आगामी आर्थिक वर्षका लागि सरकारले नेपाल प्रहरीलाई ‘सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति खर्च’मा एक अर्ब नौ करोड रुपैयाँ विनियोजन गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै पुरानै प्रक्रिया ब्युँताएर भुक्तानी दिन ठेकेदार दीपक भट्टले दबाब दिएका छन् ।

पुरानो प्रक्रिया ब्युँताउँदा कानुनी समस्या आउन सक्ने प्रहरी र गृहका अधिकारीले बताएपछि नयाँ ठेक्का आफूले नै पाउनुपर्ने गरी उनले लबिइङ अघि बढाएको स्रोत बताउँछ । पुरानो ठेक्का रद्द गरे जिटुजी प्रक्रियाबाट आफूनिकट कम्पनीकै हतियार खरिदका लागि पनि उनले छलफल अघि बढाएका छन् ।

त्यस्तै, गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि हतियार खरिदमा सघाए मुख्यसचिव बनाउन पहल गर्ने आश्वासन ठेकेदार भट्टले दिएको स्रोतको दाबी छ । त्यसपछि सचिव दुवाडीले प्रक्रिया छिटो अघि बढाउन नेपाल प्रहरी र सशस्त्रलाई दबाब दिइरहेका छन् । ‘गृहसचिव जसरी पनि ठेक्का अगाडि बढाउनुपर्छ भनेर लाग्नुभएको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

डेढ अर्बको ठेक्कामा ५० प्रतिशतभन्दा धेरै कमिसनको खेल, शक्तिकेन्द्रहरू नै सक्रिय
नेपाल प्रहरी र सशस्त्रका दुवै ठेक्का विवादास्पद व्यापारी दीपक भट्टका कम्पनीहरूले हात पारेका थिए । तिनैलाई अगाडि बढाउने चलखेलमा उनी छन् । यसका लागि भट्टले राजनीतिक र प्रशासनिक नेतृत्वलाई आवश्यकताअनुसार दबाब र प्रभावमा पारेको स्रोतको भनाइ छ ।

हतियार खरिदमा ५० प्रतिशतभन्दा धेरै कमिसनको चलखेल हुने भएकाले राजनीतिक शक्तिकेन्द्रहरू पनि भट्टको चासोअनुसार सक्रिय भएर लागेका छन् । हतियार खरिदका लागि मन्त्रिपरिषद्को समेत स्वीकृति आवश्यक हुने भएकाले प्रधानमन्त्री, गृहमन्त्रीको मिलेमतो र सहमतिविना यससम्बन्धी प्रक्रिया अघि बढ्न सक्दैन । त्यसैले उनीहरूलाई पनि मनाएर प्रक्रिया अघि बढाउन खोजिएको छ ।

त्यस्तै, गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि हतियार खरिदमा सघाए मुख्यसचिव बनाउन पहल गर्ने आश्वासन ठेकेदार भट्टले दिएको स्रोतको दाबी छ । त्यसपछि सचिव दुवाडीले प्रक्रिया छिटो अघि बढाउन नेपाल प्रहरी र सशस्त्रलाई दबाब दिइरहेका छन् । ‘गृहसचिव जसरी पनि ठेक्का अगाडि बढाउनुपर्छ भनेर लाग्नुभएको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

नेपाल प्रहरीले २० असार ०७९ मा हतियार खरिदका लागि मक्र्युर ट्रेडिङ प्रालि र ग्लोबल कन्स्टेलेसन ट्रेडिङ कम्पनीलाई जिम्मा दिने सम्झौता गरेको थियो । मक्र्युरसँग पेस्तोल र सटगन तथा ग्लोबलसँग गोली र टियरग्यास खरिदको सम्झौता थियो । मक्र्युरको सञ्चालक मनोजकुमार अग्रवाल तथा ग्लोबलको सञ्चालकमा दीपककुमार बोहरा र अभिषेक आनन्द छन् ।

सोही हतियार खरिद अघि बढाउन व्यापारी भट्टकै स्वार्थमा हालै सार्वजनिक खरिद नियमावली संशोधन गरिएको थियो । संशोधनमा पहिला स्थगन गरिएका खरिद सम्झौतालाई निरन्तरता दिन सकिने प्रावधान राखियो । गत १५ वैशाखमा राजपत्रमा प्रकाशित नियमावलीको चौधौँ संशोधनमा खरिद सम्झौताको अवधि थपसम्बन्धी विशेष व्यवस्था राखिएको छ । जसमा तोकिएको म्यादभित्र खरिद सम्झौताबमोजिम कार्य सम्पन्न हुन नसकी अधुरो रहेका, तर खरिद सम्झौताको म्याद सकिएका वा म्याद थप हुन नसकेका खरिद सम्झौताको हकमा संशोधित कार्यतालिका पेस गर्न सक्ने उल्लेख छ ।

दफा १२० मा ‘नेपाल सरकार, मन्त्रिपरिषद् वा सार्वजनिक निकायबाट जुनसुकै कारणले खरिद सम्झौताको स्थगन भएका’ खरिद सम्झौतामा निरन्तरता दिन सकिने उल्लेख छ । यसका लागि नियमावली पारित भएको ३० दिनभित्र निवेदन दिन सकिने प्रावधान छ । सोही प्रावधानमा टेकेर तीन वर्षअघिको ठेक्का नवीकरणका लागि चलखेल भएको हो । यद्यपि, व्यवसायी भट्टले भने आफूले हतियारको ठेक्कासम्बन्धी काम छाडिसकेको बताउँदै आएका छन् ।

त्यस्तै, ठेकेदार भट्टले संशोधित नियमावलीअनुसार पुरानो ठेक्काको म्याद थप्न गृह मन्त्रालयमार्पmत सशस्त्र प्रहरीलाई दबाब दिएका थिए । तर, सशस्त्रले म्याद थप नगर्ने निर्णय गरेको छ । ‘कानुनी रूपमा पनि अहिले पुरानो प्रक्रिया अघि बढाउन मिल्दैन भन्ने हाम्रो निष्कर्ष छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने, ‘बजेट पनि सरकारले दिएको छैन, त्यहीकारण म्याद थप नगर्ने निर्णय भएको छ ।’ सशस्त्रले म्याद थपबारे सार्वजनिक खरिद अनुगमनको कार्यालयसँग राय मागेको थियो । सो कार्यालयले राय दिन अस्वीकार गरेसँगै सशस्त्र नेतृत्व म्याद थप नगर्ने निष्कर्षमा पुगेको हो ।