
अलराउन्डर रसिद खानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुअघि अन्तिमपटक जन्मभूमि अफगानिस्तानमा प्रतिस्पर्धा गर्ने इच्छा राखेका छन् । अफगानिस्तानमा राजनीतिक अस्थिरताका कारण अहिले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएका छैनन् । अफगानिस्तानले आफूले आयोजना गर्ने खेल तटस्थमा भूमिमा खेल्दै आएको छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल नहुँदा अफगानी खेलाडीले युएईको मैदान प्रयोग गरिरहेका छन् ।
धेरैजसो अन्तर्राष्ट्रिय खेलमा अफगानी खेलाडी युएईमै सहभागी भइरहेका छन् । क्रिकेटबाट बिदा हुनुअघि कम्तीमा एकपटक भए पनि अफगानिस्तानमै खेल्ने मनसाय पूर्वकप्तान खानले देखाएका हुन् । ‘मैले अफगास्तिानको झन्डा फरफहराएर सबै पाएँ, मेरो खेलजीवनको अन्तिम इच्छा भनेकै मातृभूमिबाट अन्तिमपटक अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नु हो,’ खानले भने, ‘योबाहेक अरू केही पनि चाहना र इच्छा छैन ।’
अर्को वर्ष वेस्ट इन्डिज र न्युजिल्यान्डले अफगानिस्तानको भ्रमण गर्दै छन् । तर, राजनीतिक अस्थिरता कारण अफगानिस्तानले घरेलु मैदानमा उनीहरूसँग प्रतिस्पर्धा गर्ने सम्भावना निकै कम छ । देशको अवस्था सामान्यतर्फ उन्मुख नहुँदासम्म अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)ले न्युजिल्यान्ड र वेस्ट इन्डिजविरुद्धको खेल संयुक्त अरब इमिरेट्समा आयोजना हुने जनाएको छ । ‘हामी सबैलाई थाहा छ । देशको राजनीतिक अवस्था राम्रो छैन । यस्तोमा कसरी विदेशी खेलाडीको सुरक्षादेखि अन्य व्यवस्था हामीले गर्न सक्छौँ,’ एसिबीले जनाएको छ, ‘युएईमा गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन ।’
अलराउन्डर खानले भने न्युजिल्यान्ड र वेस्ट इन्डिजसँगको सिरिज आउन एक वर्ष बाँकी रहँदा देशको स्थिति सामान्य हुने आशा व्यक्त गरेका छन् । ‘हामीसँग अझै एक वर्षको अवधि छ । यसबिचमा अवस्था राम्रो पनि हुन सक्छ,’ उनले भने, ‘यस्तो हुँदा क्रिकेट र अफगानिस्तानका लागि शुभ समाचार हुन सक्छ ।’ दुई वर्षदेखि सुरक्षा व्यवस्था कमजोर रहेको अफगानिस्तानमा अन्तर्राष्ट्रिय खेल नहुन सक्ने पनि उनले खुलाएका छन् ।
युएई र भारतमा खेल्न बाध्य
अफगानिस्तानमा क्रिकेट आयोजना नभएको वर्षौँ भइसकेको छ । सुरुवाती दिनमा अफगानी खेलाडीले युएई, पाकिस्तान र भारतका मैदान प्रयोग गरेका थिए । पाकिस्तानमा पनि राजनीति अवस्था र त्यहाँको सुरक्षा व्यवस्था कमजोर हुँदा अफगानिस्तानले पछिल्लो समयमा युएई र भारतलाई तटस्थ भूमि र घरेलु मैदानका रूपमा प्रयोग गरेको छ । फ्युचर टुर प्रोगाम (एफटिपी)ले अफगानिस्तान सामान्य अवस्थामै रहेको र बाहिर सोचेजस्तो नभएको सन्देश दिन न्युजिल्यान्ड र वेस्ट इन्डिजसँगको सिरिज व्यवस्थापन गरेको हो । सबै सोचेजस्तो हुँदा अफगानिस्तानले आगामी फेब्रुअरीमा न्युजिल्यान्ड र वेस्ट इन्डिजसँग सिरिज खेल्नेछ । ‘हामीहरूको योजना पहिलोपटक अफगानिस्तानमा क्रिकेट जगत्कै दुई ठुलो राष्ट्रलाई खेलाउनु हो,’ एफटिपीले भनेको छ, ‘यो सिरिज ऐतिहासिक हुनेछ । हामीले सरकार र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग छलफल गरिरहेका छौँ ।’
एसियाकै दोस्रो बलियो राष्ट्र हुने योजना
टेस्ट मान्यताप्राप्त गरेपछि अफगास्तिानले एकदिवसीय र टी–२० आईमा उत्कृष्ट नतिजा निकालिरहेको छ । विशेषतः टी–२० आईमा अफगानी खेलाडीको प्रदर्शन अब्बल छ । क्रिकेट बोर्डको योनजा नै अफगानिस्तानलाई एसियामा भारतपछि शक्तिशाली राष्ट्र बनाउने हो । सन् २०२४ को टी–२० विश्वकपको समूह चरणमा अफगानिस्तानले सनसनी मचाउँदै अस्ट्रेलियालाई हराएको थियो । त्यसवेला रसिद खानले आफूहरूको क्रिकेट इतिहासमै ठुलो नतिजा हात पारेको बताएका छन् । ‘अस्ट्रेलियाविरुद्धको जित अहिलेसम्मकै ऐतिहासिक रह्यो,’ उनले भनेका थिए, ‘हाम्रो लक्ष्य नै एसिया शक्तिशाली राष्ट्र बन्नु हो ।’