
जिल्ला अस्पताल खोटाङलाई १५ शय्याबाट विस्तार गरी ५० शय्याको सेवा शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारले गत जेठ १२ गते ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेपछि आइतबार स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गरेका हुन्।
अस्पताल भवन निर्माणको काम बाँकी रहे पनि अन्य सेवा विस्तारका लागि ५० शय्याको अस्पताल उद्घाटन गर्नुपर्ने बाध्यता सिर्जना भएको मन्त्री राईले बताए। ‘१५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न मन्त्रालयले पर्याप्त बजेट उपलब्ध गराएको छ। ५० शय्याको सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन’, उनले भने, ‘अब लोकसेवा आयोगले विशेषज्ञ डाक्टरसहितको दरबन्दी खुलाउँछ। आगामी भदौसम्ममा यो अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ।’
विगतमा जस्तो अब सामान्य उपचारको लागि हेलिकप्टर चार्टर गर्न सिरानीमा पैसा राखेर बस्नु नपर्ने उनको भनाइ थियो। अस्पताल परिसरमा आयोजना गरिएको ५० शय्याको सेवा शुभारम्भ एवम् पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री राईले औषधि प्रशोधन केन्द्र, उपकरण तथा औषधि खरिदलगायतका लागि मन्त्रालयबाट पर्याप्त बजेटको व्यवस्था गरिएको बताए।
२०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालमा ५० शय्याको सेवा शुभारम्भ गरिएसँगै सबै प्रकारका बिरामीहरूको उपचार सेवा जिल्लामै उपलब्ध गराउने गरी स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको मन्त्री राईले बताए। ‘मन्त्रालयबाट विशेषज्ञ चिकित्सकसहित ५९ स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको छ’, उनले भने, ‘पहिलो चरणमा यहीँका स्वास्थ्यकर्मी परिचालन गरेर भिडियो एक्स–रे सेवाबाट ५० शय्याको अस्पतालको सेवा शुभारम्भ गरिएको छ। आगामी दिनमा थप सेवा÷सुविधासमेत विस्तार गर्दै पूर्ण क्षमतामा सञ्चालन लगिनेछ।’
अस्पताल स्थापना भएको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नति गरिएको अस्पताल उद्घाटन गरिए पनि अहिलेसम्म भवन निर्माणको काम सम्पन्न नहुँदा सेवा प्रभावित भएको छ। निर्माणाधीन अस्पताल भवनको काम सम्पन्न नभई ५० शय्याको सेवा शुभारम्भ गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङलगायतले सामाजिक सञ्जालमार्फत बिरोध जनाइरहेका छन्।
अस्पताल भवन निर्माणको ठेक्का रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले लिएको छ। ठेकेदार कम्पनीले ३० महिनाभित्र सक्ने गरी २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो।
निर्माणाधीन अस्पताल भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ। ठेकेदारसँग सम्झौता गरिएअनुसार २०८० पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि पुनः थप गरिएको म्याद आगामी मङ्सिरसम्म छ। भवन निर्माणको काम नसकिएपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले निर्माण सम्बद्ध ठेकेदार कम्पनीहरूलाई ताकेता गरिरहेका छन्। ठेकेदारले ताकेतापछि आगामी मङ्सिरभित्र सक्नेगरी कार्यतालिका बनाएर अस्पताल व्यवस्थापन समितिलाई बुझाएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए।
निर्माणाधीन जिल्ला अस्पतालको भवन तोकिएकै मितिमा सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारीमा रहेको ठेकेदार कम्पनीले जनाएको छ। निर्माणाधीन अस्पताल भवनको काम ठेकेदारको लापरबाहीका कारण समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन्।