१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
दिर्क बाउर
Invalid date format o९:१८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण

सुनको मूल्यमा हालैको उछालले के अर्थ राख्छ ?

Read Time : > 2 मिनेट
दिर्क बाउर
नयाँ पत्रिका
Invalid date format o९:१८:oo

सुनको मूल्य दिनहुँ बढिरहेको छ । यो वर्षको सुरुदेखि सुनको भाउ निरन्तर बढिरहेको छ । बहुमूल्य यस धातुको मूल्य सन् २०२४ मा एक असाधारण गतिमा बढ्यो (२७ प्रतिशत), जुन १४ वर्षमा सबैभन्दा ठुलो वृद्धि हो । यस मूल्यवृद्धिपछाडिका कारकमा बढ्दो अनिश्चितता र मुद्रास्फीतिको डर छन्, जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क लगाउने धम्की र केन्द्रीय बैंकहरूको बढ्दो मागले साथ दिएका छन् ।

सुन मूल्यको वृद्धि गर्ने खेलमा धेरै कारक तŒव छन् । सुनखानी उत्पादन र पुन: प्रयोगमार्फत सुनको आपूर्ति तुलनात्मक रूपमा स्थिर छ । तर, माग बढी परिवर्तनशील छ र यसमा चार प्रमुख घटक छन्– गहना, प्रविधि, लगानी र केन्द्रीय बैंकहरू । सन् २०२४ मा गहनाको माग कुल मागको लगभग ५० प्रतिशत थियो । त्यस्तै प्रविधि वा औद्योगिक माग पाँच प्रतिशत थियो भने लगानीको माग २५ प्रतिशत र केन्द्रीय बैंकको माग २० प्रतिशत थियो । लगानीको माग भन्नाले सुनलाई सम्पत्तिको रूपमा खरिद गर्ने लगानीकर्तालाई जनाउँछ । केन्द्रीय बैंकहरूले सामान्यतया आफ्नो ‘रिजर्भ होल्डिङ’मा विविधता ल्याउन सुन किन्छन् ।

सुनको मूल्य गतिविधिलाई कहिलेकाहीँ गहनाको माग, कहिले लगानीकर्ताको माग र कहिलेकाहीँ केन्द्रीय बैंकको मागद्वारा (हाल यो माग बढी छ) कायम गरिएको छ । सुनको आपूर्ति र सुनको माग दुवै विश्वव्यापी हुँदा समस्या थपिएको छ । सुन आपूर्ति विश्वभरका सुनखानीबाट आउँछ । अफ्रिकाका उदीयमान देशहरू तथा अस्ट्रेलिया र क्यानडाजस्ता औद्योगिक देशबाट पनि सुन आउँछ । मागको हकमा पनि त्यस्तै छ । लगानीको मागजस्तै धेरै देशबाट उपभोगको माग आउँछ । चीन र भारतले गहनाको मागमा प्रभुत्व जमाएका छन् । विश्वभरका ठुला र साना केन्द्रीय बैंकबाट पनि यसको माग बढ्दो छ ।

किन बढिरहेको छ माग ?
सुनको लोकप्रियताको एउटा प्रमुख कारण यो हो कि यसलाई मूल्यको भण्डार मानिन्छ । यसको अर्थ सुनको मूल्य मुद्रास्फीतिसँगै बढ्छ र लामो समयसम्म यसले मूल्य कायम राख्छ । अर्को शब्दमा भन्नुपर्दा २० वर्षपहिलेको तुलनामा आज एक औंस सुनले सामानको एउटै टोकरी (वा बढी) किन्छ । यो युएस वा अस्ट्रेलियाली डलरजस्ता मुद्राको मामला होइन । मुद्रास्फीतिको कारण पैसाको मूल्य स्थिर छैन ।

संकटको समयमा मानिसले सुन भण्डारण गर्ने प्रवृत्ति छ । उदाहरणका लागि २००१ को सेप्टेम्बर ११ मा भएको अतिवादी हमला, २००८ मा विश्वव्यापी वित्तीय संकटको सुरुवात र कोभिड प्रकोपको प्रतिक्रियामा सन् २०२० मा लगानीकर्ताले प्रशस्त सुन किने । सुन सुरक्षित माध्यम भए पनि यसको प्रभाव सामान्यतया अल्पकालीक हुन्छ । प्राय: करिब १५ दिनपछि सुनको मूल्यमा गिरावट आउँछ । 

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी हमला र त्यसपछि रुसमाथि लगाइएको प्रतिबन्ध (विशेषगरी विदेशमा रुसको विदेशी सरकारी सम्पत्तिको जफत) ले सरकारलाई विदेशी पुँजीको पकडमा पहुँच गुमाउने जोखिमलाई प्रकाश पारेको छ । 

यस्तो देखिन्छ कि केही सरकार वा केन्द्रीय बैंकहरूले सुन खरिद बढाएर यसको प्रतिक्रिया दिएका छन् । जसका कारण २०२२ मा केन्द्रीय बैंकले कीर्तिमानी एक हजार ८२ टन सुन खरिद गरेका थिए । २०२३ मा इतिहासको दोस्रो उच्चतम वार्षिक खरिद एक हजार ५१ टन भएको थियो, त्यसपछि २०२४ मा एक हजार ४१ टन खरिद भएको थियो ।

सुनको मूल्य र मुद्राबिचको उल्टो सम्बन्धले पनि सुनलाई करेन्सी हेज (भविष्यमा एक विशेष दरमा मुद्रा खरिद गर्ने सम्झौता) बनाउँछ । यसको अर्थ सुनले लगानीकर्तालाई अस्थिर विनिमय दरको कारणले हुने सम्भावित नोक्सानबाट जोगाउन सक्छ । यो प्रभाव विशेषगरी अस्ट्रेलियाली डलरजस्ता अस्थिर मुद्राका लागि देखिन्छ । 

बृहत् आर्थिक चिन्ता
ट्रम्पको पुनरागमनले कर र व्यापार युद्धका कारण उच्च मुद्रास्फीतिको जोखिम मात्र बढाएको छैन, यसले भूराजनीतिक जोखिम पनि बढाएको छ किनकि अमेरिकी सरकारले अन्य देशसँगको आफ्नो गठबन्धनको पुनर्मूल्यांकन गरिरहेको छ । आफ्ना पूर्ववर्ती र राजनीतिज्ञको तुलनामा ट्रम्पको अनिश्चित नीतिले पनि सुनको मूल्यवृद्धिमा सहयोग गरेको हुन सक्छ । हालैको सुनको मूल्य प्रवृत्तिले ‘सुनले नराम्रो समाचार मन पराउँछ’ भन्ने कुरालाई प्रकाश पार्छ । सुनको मूल्यले भूराजनीतिक झट्का वा उच्च मुद्रास्फीतिको पूर्वानुमान गर्न सक्छ । महामारीपछि मुद्रास्फीति बढ्नुभन्दा धेरैअघि सुनको मूल्य बढेको थियो र २०२२ मा मुद्रास्फीति चरम सीमामा पुगेपछि घट्न थाल्यो । २०२५ मा सुन किन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ भन्ने कुरा स्पष्ट छैन, तर यो सम्भवत: विश्व अर्थतन्त्रका लागि सुखद खबर होइन ।

– द कन्भर्सेसनबाट