
कञ्चनपुरको माध्यामिक शिक्षा परीक्षा(एसइई) ०८१ को नतिजा अत्यन्तै नाजुक आएको छ। परीक्षामा सहभागी आधाभन्दा बढी विद्यार्थी फेल (माथिल्लो कक्षा अध्ययन गर्न नपाउने) भएका छन् ।
अघिल्लो शैक्षिक सत्र ०८० मा दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका थिए, ०८१ मा कुनै पनि विद्यार्थीले ४ जिपिए ल्याउन सकेनन्। अघिल्नो वर्ष इन्टरनेसल स्कुल महेन्द्रनगरका सोमित कार्की र कञ्चनजंगा बोर्डिङ स्कुलका रोहित विष्टले ४ जिपिए ल्याएका थिए ।
गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई नतिजाको तथ्यांकअनुसार नतिजा अन्यन्तै नाजुक आएको हो । राष्ट्रिय परीक्षा बोर्डले गत चैत ०८१ पहिलो सातादेखि सञ्चालन गरेको परीक्षामा यहाँबाट नियमिततर्फ आठ हजार ६३९, ग्रेटवृद्धि २ हजार ४७८, प्राविधिक धारतर्फ एक सय ७४ गरेर ११ हजार २९१ विद्यार्थीले फारम भएको र ४५ जना परीक्षामा सहभागी भएका थिएनन्।
११ हजार २४६ मध्ये आधाभन्दा बढी तीन हजार ९९४ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । सात हजार, २५२ विद्यार्थी फेल भएका छन् । ३६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। तर, शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको तथ्यांकमा ग्रेटवृद्धिका विद्यार्थी समावेश गरिएका छैनन्।
जम्मा आठ हजार ९२९ विद्यार्थीले मात्रै परीक्षा दिएका छन्। जसमध्ये ३ हजार ९९४ उत्तीर्ण र चार हजार ८३४ विद्यार्थी अनुत्तीर्ण भएका छन्। शिक्षाको तथ्यांकअनुसार ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण र ५५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार ३.६ देखिमाथि ४ भन्दा कम जिपिए ल्याउने ३९२, ३.२ देखिमाथि ३.६ सम्म जिपिए ल्याउने एक हजार ७५, २.८ देखि ३.२ सम्म जिपिए ल्याउने एक हजार ३७८, २.४ देखि २.८ सम्म जिपिए ल्याउने एक हजार २, २.० देखि २.४ सम्म जिपिए ल्याउने एक सय ४६ र १.६ देखि २ सम्म जिपिए ल्याउने एक मात्रै विद्यार्थी छन्।
परिणाम नराम्रो आएपछि अर्कोलाई आरोप प्रत्यारोपको क्रम बढेको छ । आँगनमै विद्यालय हुँदासमेत नतिजा अन्त्यन्तै नाजुक आउन थालेपछि समग्र शिक्षा प्रणालीमाथि प्रश्न उठिरहेको छ।
कञ्चनपुरका अभिभावक खेमराज ऐरीले विद्यार्थी, शिक्षक, अभिभावकले आ–आफ्नो कर्तव्य निर्वाह नगर्दाको परिमाण नतिजा निराशाजनक आएको बताए। उनले शिक्षकले सबैभन्दा पहिला मिहिनेत गर्नुपर्ने सुझाव दिए। पढाउन छाडेर राजनीतिदेखि व्यावसायिक कामकाजमा व्यस्त शिक्षकमाथि शिक्षा नियमावलीअनुरूप कडाइ आवश्यक रहेको बताए।
भृकुटी माध्यामिक विद्यालयका प्रधानाध्यापक किशोर महराले आधारभूत तहबाटै विद्यार्थीको धरातल कमजोर हुँदै आएको बताए। शिक्षक, विद्यार्थी र अभिभावकले आ–आफ्नो कर्तव्य निर्वाहमा चुकेपछि नतिजामा प्रभाव परिरहेको बताए। ‘अभिभावक पनि सरकारी विद्यालयमा वास्ता नराख्ने, निजीमा राख्छ,’ प्रअ महराले भने, ‘हामीले १० कक्षाकोे नतिजालाई मात्रै मापन गरेर गर्ने विषयले समेत समग्र शैक्षिक सुधारमा प्रभाव पर्दै छ।’
शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले नतिजा अपेक्षाकृत र उत्साहजनक नआएको बताए। हाम्रा विद्यालयको नतिजा सुधारका लागि राज्यको लगानी त्यसतर्फ नगइरहेको र खाली भौतिक संरचनातर्फ केन्द्रित हुँदा पनि समस्या आइरहेको बताए। ‘हाम्रो लगानी मूलभूत गरेर कक्षाकोठाको पाठ्यक्रमसँग लक्षित हुनुपर्ने थियो, हुन लागेको छैन,’ उनले भने, ‘हामी पाठ्यक्रममा होइन भौतिक संरचना निर्माण केन्द्रित बढी जोडदिन लागेका छौँ, जसले अपेक्षाकृत नतिजा ल्याउन सकेको छैन।’
पाठ्यक्रमले निर्दिष्ट गरेअनुरूप विद्यालयमा पठनपाठन हुन नसक्नु पनि विडम्बना भएकाले अब त्यसतर्फ शिक्षकले गम्भीर भएर सोच्नुपर्ने वेला आएको बताए। शिक्षा विकास तथा समन्वय इकाइमार्फत नमुना विषयगत कक्षा सञ्चालन गरिरहेको बताउँदै उनले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला गम्भीर हुनुपर्नेमा उनको जोड छ।