
इरानका उप–विदेशमन्त्री माजिद तख्न–रावान्चीले अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने आश्वासन नदिएसम्म वासिङ्टन र तेहरानबिच कूटनीतिक वार्ता पुनः सुरु हुन नसक्ने बताएका छन्।
उनले आइतबार साँझ बिबिसीलाई इरानका तीन आणविक सुविधामा आक्रमण गरेको एक हप्तापछि अमेरिकाले वार्ताको टेबलमा फर्कन चाहेको संकेत गरेको बताए। ‘हामी कुनै पनि मितिमा सहमत भएका छैनौँ, हामी विधिमा सहमत भएका छैनौँ,’ उनले भने, ‘अहिले हामी यस प्रश्नको उत्तर खोजिरहेका छौँ– के हामी संवादमा संलग्न हुँदा आक्रामकताको पुनरावृत्ति देख्नेछौँ?’
अमेरिकाले ‘यो अत्यन्त महत्त्वपूर्ण प्रश्नमा एकदम स्पष्ट’ हुन आवश्यक रहेको उनले प्रस्ट पारे।
यस महिनाको सुरुमा इजरायलले इरानका आणविक स्थलहरू र सैन्य पूर्वाधारमा आक्रमण गर्दा इरान र अमेरिका तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्तामा थिए। जुन २१ मा तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फाहानमा बमबारी गरेर अमेरिका उक्त आक्रमणमा सामेल भयो।
उपविदेशमन्त्रीले अमेरिकाले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई लक्षित गरेर ‘शासन परिवर्तनमा संलग्न हुन नचाहेको’ संकेत दिएको बिबिसीलाई खुलासा गरे। तख्त–रावान्चीले इरानलाई अझै पनि युरेनियम संवर्धन गर्न अनुमति दिइनुपर्ने बताए।
‘यसको स्तरबारे छलफल गर्न सकिन्छ, क्षमताको बारेमा छलफल गर्न सकिन्छ, तर तपाईंसँग संवर्धन हुनुहुँदैन, तपाईंसँग शून्य संवर्धन हुनुपर्छ, र यदि तपाईं सहमत हुनुहुन्न भने, हामी तपाईंमाथि बम प्रहार गर्नेछौँ भन्नु, यो जंगलको कानुन हो,’ उनले भने।
इजरायलले इरानको आणविक कार्यक्रम बम उत्पादन गर्ने नजिक रहेको दाबी गरेको छ भने तेहरानले यो शान्तिपूर्ण उद्देश्यका लागि भएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पूर्ण रूपमा नष्ट’ भने पनि इरानको आणविक सुविधाहरूमा भएको आक्रमणले कति क्षति पुर्याएको छ भन्ने अझै स्पष्ट भएको छैन।
संयुक्त राष्ट्रसंघको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले इरानले ‘केही महिनाभित्र’ समृद्ध युरेनियम उत्पादन गर्न सक्ने बताएका छन्।