
माथिल्लो कर्णालीको (पहिलो) राराताल, (दोस्रो) फोक्सुन्डाे तालपछि तेस्रो ठुलो गिडीदह (ताल) हो । तातोपानी गाउँपालिका– ४ मा अवस्थित गिडीताल समुद्री सतहदेखि तीन हजार ४८५ मिटर उचाइमा छ । पहाडै–पहाडको खोँचमा रहेको ताल जंगलले ढाकिएको छ । मानवबस्तीदेखि निकै टाढा पाटन क्षेत्रमा ६ महिना हिउँ जम्ने गर्छ ।
गिडीदहमा जाने पर्यटकको सहजताका लागि तातोपानी गाउँपालिकाले हालै सम्पन्न गाउँ सभाबाट होटेल सञ्चालनका लागि अस्यायी अनुमति दिने नीति ल्याएको छ । होटेल सञ्चालनको नीति गाउँ सभाबाट पारित भएको छ । अब कार्यविधि र निर्देशिका बनाएर आर्थिक वर्ष ०८२/८३ मा कार्यान्वयन गर्ने योजना रहेको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए ।
गुमनाम यो तालमा गएका केही वर्षदेखि यो क्षेत्रको पर्यटन प्रवर्द्धनका निकै पहल र प्रयास भएका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको नेतृत्वमा पहिलोपटक स्थानीय सरकारको टोली गिडीहल पुगेको थियो । भविष्यमा धेरै पर्यटक भित्र्याउने लक्ष्यसहित पदमार्गलगायत पर्यटन प्रवर्द्धनको काम अघि बढाइएको वडाध्यक्ष रोकायाले बताए । गत वर्ष ‘दहकिनारमा निर्मित धर्मशालादेखि पदमार्ग निर्माण गरिएपछि सहज भएको छ ।
चालू आर्थिक वर्षमा फुलचौल्या पाटनमा धर्मशाला निर्माण, पदमार्ग निर्माणदेखि खोलामा वारपार गर्नका लागि झोलुंगे पुल निर्माण भएका छन् । ‘पर्यटन प्रवर्द्धनका पूर्वाधार निर्माण गरेका छौँ । अझै निर्माण हुने क्रममै पनि छन् । कर्णाली राजमार्गको जिरो प्वाइन्ट ऐरेनीदेखि फुलचौल्या पाटनसम्म मोटरबाटो निर्माण पहल थालेका छौँ,’ वडाध्यक्ष रोकायाले भने, ‘हाँकुस्थित तिला नदीमाथि पुक्की पुल र गिडीखोलाको पाण्डेवाडा पत्थेनीमा पुक्की पुलको अवश्यकता छ । यसका लागि संघ र प्रदेश सरकारसँग पहल गरेका छौँ ।’
कर्णाली राजमार्गको ऐरेनीदेखि गिडीदहसम्मको दूरी २९ किलोमिटर रहेको छ । यो दूरीमा फुलचौल्या, बाइस पाटनलगायतका पर्यटकीय क्षेत्र छन् । तातोपानी– ४ को आग्रहमा ताल विकास बोर्डको टोली आएर पनि गिडीदहको अवस्था अध्ययन गरेर गएको छ । टोलीले तालमै -याफ्टिङ गरेको थियो । ताल विकास बोर्डको प्रतिवेदनअनुसार गिडीदहको लम्बाई १५१० मिटर रहेको छ । जसमा ठुलो दहको (ताल) चौडाई ३१० मिटर, गहिराइ ४२.८ मिटर रहेको छ ।
समग्र गिडीदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ १८ प्रकारका चरा, सात प्रकारका स्तनधारी जनावर, ७४ प्रजातिका चराचुरुंगी रहेका छन् । ताल निकै नीलो र गहिरो छ । भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङले ०३०/३१ सालतिर सो तालसम्म जाने प्रयास गरेका थिए । तर, पदमार्गसमेत नहुँदा उनी पुग्न सकेनन् । करिब चार–पाँच दिनको चिसो, उकालो र पाटन क्षेत्रको यात्रा पार गरेपछि मात्रै त्यहाँ पुगिन्छ । ब्लडप्रेसर, दमलगायतका दीर्घरोगीलाई हाई अल्टिच्युड लाग्ने खतरा हुने भएकाले उनीहरूले यात्रापूर्व नै ध्यान
पुर्याउनुपर्ने देखिन्छ । हिउँदको ६ महिना हिउँ जम्ने भएकाले त्यो तालमा बर्खायाममा मात्रै यात्रा गर्न मिल्छ । त्यो तालमा पानी पश्चिमतिरबाट बगेर आउँछ ।
तालबाट बगेर जाने पानी गिडी खोलामा मिसिन्छ । तालबाटै खोलाको नामकरण भएको ठानिन्छ । जो गिडी खोला जुम्लाका कैयौँ ठाउँ छिचोल्दै तिला नदीमा पुगेर मिसिन्छ, त्यो तालबाट बगेर आएको पानी किसानका खेतसम्म पुग्छ । गिडी तालआसपास बजेडी, लसुनवारी, ठाकुरज्यु, विष्टज्यु, नाना हांक, ठुला हाँक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौडलगायतका दुई दर्जन पाटन छन् । यो तालको छेउछाउमा ठाकुरज्यु दह, विष्टज्यु दह, नदै दह, शंख, पाले दह, राक्षस दह, खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह, जोगिनी दहजस्ता दर्जनौँ अन्य स–साना दहसमेत छन् ।
गिडीदहआसपास झन्डै दुई दर्जन विभिन्न प्रजातिका वन्यजन्तु र लोपोन्मुख पक्षी पाइन्छन् । कस्तुरी, रेडपान्डा, घोरल, थार, बाघ, भालु, रतुवाजस्ता जनावर र डाँफे, कालिज, फग्रास, ढुकुरजस्ता पक्षीसमेत यसै क्षेत्रमा पाइन्छन् । यार्सागुम्बा, जटामसी, पाँचऔँले, खिरौलो, पदमचाल, भूतकेश, सिलाजितजस्ता सयौँ प्रकारका जडीबुटी पनि पाइन्छन् ।