
सहिद नेत्रलाल अभागी (वि.सं. २००१—२०४१) नेपालको वामपन्थी राजनीति र प्रगतिशील साहित्यका क्षेत्रमा एउटा उल्लेखनीय हस्ताक्षर हुन् । खासगरी दाङमा जन्मिएर सिंगो पश्चिम नेपालको राजनीतिक, शैक्षिक र साहित्यिक क्षेत्रमा उनको योगदान अविस्मरणीय छ । साहित्यका विभिन्न विधामा कलम चलाए पनि मूलत: काव्य सिर्जनामा स्पष्ट पहिचान बनाएका अभागीका विभिन्न कृति प्रकाशित छन् । उनको ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ नामक कविता संग्रह र त्यसभित्रका केही कविता विशेष चर्चित छन् । सहादत प्राप्त गरेको चार दशक पुगिसक्दा पनि उनका बारेमा खोज र अध्ययन भइरहेका छन्, जसले उनको व्यक्तित्व र कृतित्वका विविध आयाम उजागर गरिदिएको छ ।
यसै क्रममा सहिद नेत्रलाल स्मृति प्रतिष्ठान, दाङ देउखुरीले ‘अग्रमगनका मार्गदर्शक सहिद नेत्रलाल अभागी’ शीर्षकमा एउटा महत्वपूर्ण स्मृतिग्रन्थ ०८१ सालमा प्रकाशित गरेको छ । करिब सात सय पृष्ठको भीमकाय स्मृतिग्रन्थबारे यहाँ सामान्य चर्चा गर्न खोजिएको छ ।
यसको प्रधान सम्पादक पद्मप्रसाद शर्मा तथा सम्पादन सदस्यमा सर्वजित वली, सरस्वती गौतम खत्री, कुलबहादुर केसी, इन्द्रकुमार शर्मा, लक्ष्मी शर्मा, माया नेपाली र गोपाल गिरी रहेका छन् । स्मृतिग्रन्थलाई नौओटा विभिन्न शीर्षकमा व्यवस्थित गरिएको छ । स्मृतिग्रन्थको पहिलो खण्डमा सहकर्मीका लेखरचना राखिएका छन् । अमृतकुमार बोहरा, ईश्वर पोखरेल, गुणनिधि भुसाल, गोपाल शाक्य, गोविन्दप्रसाद कोइराला, जीवराज आश्रित, डा. मुकेश चालिसे, देवेन्द्र घिमिरे, प्रदीप नेपाल, वामदेव गौतम, मदन भण्डारी, माधवकुमार नेपाल, मोदनाथ प्रश्रित, मोहनविक्रम सिंह, मोहन वैद्य, शान्ता मानवी, सिपी मैनाली र युवराज ज्ञवाली गरी १९ जनाका लेख छन् ।
दोस्रो खण्डमा परिवारजन र आफन्तका लेखरचना छन् । पत्नी विष्णु शर्मा, छोरा अजय शर्मासहित आठजनाका रचना छन् । तेस्रो खण्डमा राजनीतिक व्यक्तित्वका रचना शीर्षक राखेर पाँचजनाका सामग्री समाविष्ट छन् । यसभित्र केशवप्रसाद बडाल, प्रकाश ज्वाला, रश्मिराज नेपाली, रेखा शर्मा र शङ्कर पोखरेलका रचना रहेका छन् ।
ग्रन्थको अन्त्यमा परिशिष्ट खण्ड रहेको छ, जसभित्र केही महत्वपूर्ण दस्ताबेज, नेत्रलालसँग सम्बन्धित पुराना तस्बिर, उनका हस्तलिखित कविता, उनले लेखेका चिठीपत्र, उनका प्रकाशित पुस्तकका आवरण, उनले पढेपढाएका विद्यालय तथा कलेज एवं उनका नाममा स्थापित विभिन्न संस्थाका तस्बिर, उनका दिवङ्गत सहयोद्धा, मुख्य आश्रयदाता र सहयोगीको तस्बिर राखिएका छन् ।
यसरी प्रस्तुत स्मृतिग्रन्थको मूलखण्डमा नेत्रलाल अभागीसम्बन्धी १४० वटा विभिन्न शीर्षकका रचनाले स्थान पाएका देखिन्छन् । तीमध्ये यसभित्र शालिकराम रजौरे, कविराज पौडेल, गोमा पोखरेल गौतम, गोविन्द पोखरेल, शरद गौतम, अम्बर गिरी, विमला गौतम, उमाकान्त न्यौपाने, हिरा डिसी, विष्णु बञ्जाडे र अन्य केही विद्यार्थीका कविता राखिएका छन् । यस्तै यसभित्र रहेका लेखमध्ये भुवन चौधरीको थारू भाषाको लेख पनि समाविष्ट छ ।
नेत्रलाल अभागी मूलत: राप्ती क्षेत्रका वामपन्थी आन्दोलनका एक अनुकरणीय चरित्रका बिम्ब मानिन्छन् । उनी नेपालको प्रगतिशील कविता आन्दोलनका एक सशक्त हस्ताक्षर मानिन्छन् । उनी यस क्षेत्रका एक असल शिक्षक, एक आदर्श कवि र राजनीतिक आन्दोलनका एक सिपाही हुन् । भौतिक रूपमा उनी धरतीबाट बिदा भएर गएको पनि चार दशक नाघिसक्यो । तर पनि उनी अझै आफ्ना कालजयी साहित्य सिर्जना र कर्ममा बाँचिरहेका छन्, उनी आफ्ना सहयात्री, आफन्त र जनजनको स्मृतिमा जीवितै छन् ।
अग्रगमनका मार्गदर्शक सहिद नेत्रलाल अभागी नामक स्मृतिग्रन्थ यसैको विश्वासिलो अभिलेख बनेर प्रकाशित भएको छ । यसले अभागीको व्यक्तिगत जीवन र कर्मका आयामलाई मात्र प्रस्तुत गरेको छैन, तत्कालीन समय, राजनीति र परिवर्तनबोधी चेतना बोकेर राजनीतिमा होमिएका तमाम मानिसको संकल्प र सपनालाई समेत समेटेको देखिन्छ । अन्य स्मृतिग्रन्थमा जस्तै यसमा पनि कतिपय प्रसंग र घटनाको पुनरावृत्ति भएको पाइन्छ । साथै कतिपय भाषिक अशुद्धि विद्यमान रहेका छन् । यी कतिपय सीमाबाहेक समग्रमा नेत्रलाल अभागीको प्रस्तुत स्मृतिग्रन्थ सबैका लागि पठनीय र संग्रहणीय ऐतिहासिक सामग्री बन्न सफल भएको छ ।