१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
सोभियत ढकाल
२o८२ असार १४ शनिबार o८:३४:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मदनले देखेको बाटो

आन्तरिक जनवादले सुसज्जित भए मात्र बलियो पार्टी हुन सक्छ

Read Time : > 3 मिनेट
सोभियत ढकाल
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार o८:३४:oo

आज मदन भण्डारी ७५औँ जन्म दिवस । ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ’ भन्नुहुने जननेता मदन भण्डारीको सन्दर्भमा देशमा मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा पनि चर्चाको विषयवस्तु बन्ने गर्छ । कम्युनिस्ट आन्दोलनभित्रको जडतालाई तोडेर शास्त्रीय मार्क्सवादी रचनाभित्र सिर्जनात्मकताको खोजी गर्ने मदनले स्थापित गरेको जबजलाई नाकमा लगाउने बुलाकीजस्तो बनाउने त होइनन् ? भन्ने चर्चा–परिचर्चा कम्युनिस्ट आन्दोलनलाई माया गर्ने शुभचिन्तकले चासोपूर्वक लिने गर्छन् । 

मदनको नाम लिएर धेरै प्रधानमन्त्री बने । मन्त्री र सांसद त हजारौँ बने । तर, जब मदन जयन्ती आउँछ, जब स्मृति–दिवस आउँछ, सो दिनमा मदनले स्थापित गरेको जबजको चर्चा–परिचर्चा हुने गर्छ । तर, उनको सिद्धान्त व्यवहारमा किन कार्यान्वयन हुन सक्दैन ? के सिद्धान्तअनुसारको व्यवहार नभएरै हो त ? जबज नेपाली क्रान्तिको विशिष्टताको उपज तथा नेपालका सर्वहारा वर्गीय श्रमजीवी जनताको मुक्तिको सिद्धान्त हो भन्नेमा कसैको दुईमत छैन । यो नेपाली क्रान्तिको मार्क्सवाद हो भन्नेमा पनि दुईमत छैन । 

सिद्धान्तत: शान्तिपूर्ण क्रान्तिलाई कम्युनिस्ट पार्टीले विश्वास नगरेको स्थितिमा जनवादी राज्यव्यवस्थालाई प्रजातान्त्रिकीकरण गर्ने र बहुदलीय प्रतिस्पर्धाको ग्यारेन्टी जबजले स्थापित गर्‍यो । विगतमा कम्युनिस्ट पार्टीले राज्यसत्ता चलाउँदा गरेका त्रुटिलाई पहिचान गर्दै जबज पहिलो संघटक अंगका रूपमा प्रस्तुत हुन पुग्यो । पहिलो पक्ष, यो सिद्धान्त ‘शासन प्रणालीमा द्वन्द्ववादको प्रतिस्थापन’ र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणका रूपमा मदनले अगाडि सारे । शासन प्रणालीका द्वन्द्ववादको प्रतिस्थापनका सन्दर्भमा मदन भण्डारीले स्पष्ट पार्नुभएको थियो । मार्क्सवादको दृष्टिकोण र दर्शनबिच द्वन्द्वात्मक अन्तरसम्बन्ध रहेको मार्क्सवादले स्वीकार अवश्य गर्छ । एउटा जनताकै जनवादी व्यवस्थामा भए पनि अर्थतन्त्र, संस्कृति र समाजभित्र अनिवार्य रूपमा द्वन्द्व हुन्छ । शत्रुता स्वयं द्वन्द्व हो, अन्तरविरोध हो, यदि बुझाइ गलत नभएमा । तर, सबै अन्तरविरोध शत्रुतापूर्ण हुँदैनन् । यदि द्वन्द्व सार्वभौम नियम हो भन्ने कुरा साँचो हो भने राजनीतिमा चाहिँ किन द्वन्द्व हुन नदिने ? किन एक–आपसमा प्रतिस्पर्धा हुनबाट वञ्चित गर्ने ? यो प्रश्न यतिवेला गम्भीर रूपमा निरुत्तरित बन्न पुगेको छ । यदि मदनको विचारलाई नमान्ने हो भने ! कुनै पनि वस्तुमा रहेको द्वन्द्वात्मक यथार्थलाई दमन गरेर प्रकट हुन दिइँदैन भने त्यसले शत्रुता र विस्फोटको रूप लिन सक्छ । त्यसकारण कुनै पनि राज्यव्यवस्थामा तत्कालीन समाजमा रहेका राजनीतिक दृष्टिकोणको बिचमा संविधानसम्मत ढंगले प्रतिस्पर्धा हुन दिनुपर्छ । समाजमा रहेका विविधतालाई व्यक्त हुन दिनुपर्छ । यो नै साँचो अर्थमा जनवादी प्रणाली हुन सक्छ ।

दोस्रो पक्ष, कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण हो । ‘एकपटक कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गरेपछि सत्तामै रहिरहने व्यवस्था कहिल्यै पनि प्रजातान्त्रिक व्यवस्था हुन सक्दैन,’ मदनले भन्नुभएको थियो । कम्युनिस्ट पार्टीले नेतृत्व अर्थात् मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने सर्वहारा, श्रमजीवी वर्गको राजनीतिक पार्टीको नेतृत्वमा मात्र जनताको जनवादी व्यवस्थामा सुदृढीकरण र समाजवादमा संक्रमण गर्ने काम सम्पन्न गर्न सक्छ । त्यसकारण सर्वहारा र श्रमजीवी वर्गले मार्क्सवादी, लेनिनवादी पार्टीको नेतृत्व गर्न अनिवार्य छ । तर, त्यो संघर्ष जनताको सेवा, पहलकदमी र प्रतिस्पर्धाबाट मात्र हातमा लिन सकिन्छ भनेर तीन ‘प­’ को अवधारणा अगाडि सार्नुभयो । सारको विषय थियो, प्रतिस्पर्धामा श्रेष्ठता, पहलकदमी र परिवर्तनशीलता । यो जनतालाई आशा जगाउने विचारको हतियार हो । यसलाई सैद्धान्तिक रूपमा उल्लेख गरेर वा राजकीय बल प्रयोग गरेर होइन, लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै अगाडि बढ्न सक्नुपर्छ, यो हाम्रो विशेषता हो । 

कम्युनिस्ट आन्दोलनका लोकतान्त्रीकरणका चार पक्ष
कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण चार पक्षसँग सम्बन्धित छ । पहिलो– कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण, दोस्रो– कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित हुने जनआन्दोलनको लोकतान्त्रीकरण, तेस्रो– राज्यसत्ताको लोकतान्त्रीकरण र चौथो– अर्थतन्त्रको लोकतान्त्रीकरण ।

पहिलो पक्ष, कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण गर्नु भनेको प्रतिस्पर्धामा उत्कृष्टताले मात्र शत्रुलाई पराजित गर्न सक्छ । बहुमतले आत्मसात् गरेको कम्युनिस्ट पार्टी मात्र आन्तरिक जनवादयुक्त पार्टी हुन सक्छ । आन्तरिक जनवादले सुसज्जित पार्टी मात्र बलियो पार्टी हुन सक्छ । सिद्धान्तको सिर्जनात्मक प्रयोग गर्न सक्ने पार्टी मात्र गतिशील हुन सक्छ । कसैलाई आग्रह–पूर्वाग्रह नगरी कामको मूल्यांकन गरेर परिभाषित पार्टी नेता–कार्यकर्तालाई सिर्जनात्मक मूल्यांकन गरी जिम्मेवारी दिने र प्रतिस्पर्धामा चुन्न र चुनिन दिने पार्टी बनाउनु नै कम्युनिस्ट पार्टीको लक्ष्य हो । कम्युनिस्ट पार्टीलाई लोकतान्त्रीकरण गर्न जनताको मूल्यांकनको विषय बनाउन, सधैँ आन्तरिक एवं बाह्य प्रतिस्पर्धामा लगाउन, बहुमतको विचारको प्रतिस्थापन गर्न, जनताको बहुमतको कदर गर्न र पार्टी सदस्य तथा कमिटीको बहुमतको कदर गरिन आवश्यक हुन्छ ।

पहिलो पक्ष, राज्यसत्ताको लोकतान्त्रीकरण हो । उत्पादक शक्तिको बहुमत हिस्सालाई सामेल नबनाई राज्यसत्ता उत्पादक शक्तिको चासोको विषय बन्न सक्दै सक्दैन । बहुदलीय राजनीतिक प्रणालीको शासन भएको राज्यसत्ता मात्र जनताको मूल्यांकनको विषय बन्न सक्छ । उत्पादक शक्तिको रक्षा जनताको मूल्यांकनको विषय बनाउन बहुदलीय राजनीतिक प्रतिस्पर्धाको शासन प्रणाली अपनाउनु नै राज्यसत्ताको प्रजातान्त्रीकरण हो ।

दोस्रो पक्ष, जनआन्दोलनको लोकतान्त्रीकरण हो । वर्ग संघर्षलाई आत्मसात् नगरी गरिएको आन्दोलन सफल हुन सक्दैन । प्रगतिशील सुदृढताले मात्र आन्दोलन सफल हुन सक्छ । आन्तरिक प्रतिस्पर्धामा संलग्न नभएको शक्ति प्रगतिशील र सुदृढ हुन सक्दैन । वर्गसंघर्षको नियम, विजयको ग्यारेन्टी र सुव्यवस्थित योजनाअनुरूप आन्दोलनको लोकतान्त्रीकरण हुन सक्छ । त्यसका लागि जनआन्दोलनलाई वर्गसंघर्षको नियमअनुसार सञ्चालन, प्रगतिशील शक्तिको विजयको ग्यारेन्टीका साथ जनआन्दोलन सञ्चालन र उत्पादक शक्तिको बहुमत हिस्सालाई आन्दोलनमा संलग्न गराउँदै आन्तरिक प्रतिस्पर्धामा अगाडि बढाउनुपर्छ ।

तेस्रो पक्ष, अर्थतन्त्रको लोकतान्त्रीकरण हो । समाजमा विद्यमान भिन्न किसिमका आर्थिक प्रणालीसँग प्रतिस्पर्धामा जान नसक्ने आर्थिक प्रणाली प्रगतिशील आर्थिक प्रणाली हुन सक्दैन, यो मदनको विचार हो । उत्पादक शक्तिको विकासमा योगदान गर्न भिन्न–भिन्न आर्थिक प्रणाली र प्रणालीभित्रका क्षेत्रमा प्रतिस्पर्धामा जाने कुरालाई अर्थतन्त्रको लोकतान्त्रीकरण भनिन्छ । 

अर्थतन्त्रको लोकतान्त्रीकरणका लागि उत्पादक शक्तिको विकासका लागि अर्थतन्त्रको निर्माण, समाजमा विद्यमान सबै आर्थिक प्रणालीबिच प्रतिस्पर्धा र अर्थतन्त्रको सबै क्षेत्रमा प्रतिस्थापन गर्नुपर्छ ।

एमालेसँग मदनले छाडेको अजेय शक्ति
जबजले कार्यक्रमिक पक्ष, कार्यनीतिक पक्ष, पार्टी निर्माणको विषय, कार्यशैलीलगायत थुप्रै सैद्धान्तिक पक्षको विश्लेषण गरेको छ, जो नेपालको कम्युनिस्ट आन्दोलनमा नै थपिएको नयाँ सिद्धान्त हो । उक्त विचारलाई नेकपा (एमाले) ले क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको छ र यसको रक्षा, प्रयोग र विकास गर्ने प्रतिबद्धता जाहेर गरेको छ । सिद्धान्तलाई वास्तविक जीवन र प्रयोगमा स्थापित गर्न सकिएन भने जनता गलत सिद्धान्तको भरमा पर्नेछन् । सही सिद्धान्तको अनुयायी भनेर मन्त्र जपे पनि हामी व्यवस्थामा त्यसको विरोधी साबित हुनेछौँ । जबजको क्रान्तिकारी सारको दृढतालाई समाउँदै त्यसलाई लोकतान्त्रिक प्रक्रियाअनुरूप व्यवहारमा लागू गर्दै अगाडि बढ्ने कोसिस नगर्ने हो भने मदनले भनेझैँ सिद्धान्त, सिद्धान्तमा मात्र सीमित रहन्छ, त्यो कदापि जीवनका लागि हुन सक्दैन, यो ध्रुवसत्य हो । 

एमालेसँग मदनले छाडेको उत्कृष्ट सिद्धान्त छ, विचारको हतियार छ, अझ यसो भनौँ एमालेसँग मदनले छाडेको अजेय शक्ति छ । तर, शक्तिको नियम के हो भने शक्तिलाई सही किसिमले प्रयोग गरियो भने यो निर्माणको स्रोत बन्न सक्छ, गलत तरिका र बलले प्रयोग गरियो भने यो विध्वंसको कारक बन्न सक्छ । आज मदनको जन्मजयन्ती मनाउँदै गर्दा दिवंगत मदनलाई सम्झिँदै गर्दा हामी विध्वंसको कारक नबनौँ न, निर्माणको स्रोत बने के फरक पर्छ ! अरू तपसीलका कुरा त छँदै छन् ।