
सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि निर्मम हत्या भएको छ । आफ्नै ठुलोबुवाको छोरा र गाउँका दाइहरूबाट पूर्वयोजना बनाएरै यस्तो क्रूर अपराध भएको हो । घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
गत १० असारको बेलुका भोटेकोशी गाउँपालिका– ५, मार्मिङ छ्यादीमा मकैबारीमा बोलाएर बालिकामाथि सामूहिक बलात्कार भएको हो । बलात्कारपछि घटना लुकाउँदा सुरुमा घाँटी न्याकेर बेहोस बनाई भिरबाट लडाएर टाउकोमा ढुंगाले हानी हत्या गरिएको हो । भोटेकोशी– ५, मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङ्निमा तामाङ, ३२ वर्षीय नाम्ग्याल शेर्पा, २० वर्षका दावा तामाङ र २३ वर्षीय लाक्पा पासाङ तामाङ मिलेर बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेका हुन् । उनीहरू पाँचैजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए । यसरी क्रूर तरिकाले हत्या गरेको घटनामा बाँचुन्जेल कैद सजाय हुने कानुनी प्रावधान छ ।
एसपी कार्कीका अनुसार पूर्वयोजना बनाएरै उनीहरूले सामूहिक बलात्कार गरेको अनुसन्धानमा खुलेको छ । घटनाको अघिल्लो दिन उनीहरूले स्थानीय स्वास्थ्य चौकीबाट कन्डम किनेका थिए । १० गते बालिकाका ठुलोबुवाका छोरा निमाले उनलाई टिकटक हेर्न भन्दै योजनाअनुसार नै घरमै लगेर मोबाइल दिन्छन् । सोही मोबाइलमा साथीको मोबाइलबाट फोन गरेर मकैबारीमा बोलाउँछन् । ‘मकैबारीमा पाँचजना मदिरा पिएर बसेका थिए, बालिका त्यहाँ पुगेपछि सुरुमा उनलाई चुरोट किन्न पठाएको देखिन्छ,’ एसपी कार्की भन्छन्, ‘चुरोट लिएर आएपछि पालैपालो उनीहरूले बलात्कार गरेका हुन् ।’ बालिकाले प्रतिकार गरेपछि हातखुट्टा समाएर बलात्कार गरिएको पक्राउ परेका आरोपीले प्रारम्भिक सोधपुछमा बताएका छन् । एसपी कार्कीका अनुसार बलात्कारपछि उनीहरूले घाँटी न्याकेर बेहोस बनाएका थिए । त्यसपछि शव लुकाउन भिरबाट फालिदिए । भिरमा केही तल रुखमा शव अल्झिएपछि मृत्यु नभएको हुन सक्ने ठानेर त्यहाँ पुगेर टाउकोमा ठुलो ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको घरबाट करिब पाँच सय मिटरको दूरीमा रहेको मकैबारीमा यस्तो घटना भएको हो ।
घटनाको भोलिपल्ट बिहान ९:३० मा जंगलमा च्याउ टिप्न गएका स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । एसपी कार्की आफैँ घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका थिए । अनुहारसमेत नचिन्ने गरी बालिकाको टाउको फुटाइएको थियो । घटना शंकास्पद लागेपछि प्रहरीले काठमाडौंबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान अघि बढाएको थियो । कुकुरको सहयोगमा एकैदिन घटनामा संलग्नहरूको पहिचान गर्न प्रहरी सफल भएको हो ।
स्थानीयहरूसँग सोधपुछ गर्ने क्रममा केही स्थानीय युवामाथि प्रहरीले निगरानी बढाएको थियो । तालिमप्राप्त कुकुरले पनि ती युवालाई नै संकेत गर्यो । सोही आधारमा प्रहरीले ११ गते नै तीनजनालाई पक्राउ गरेको हो । अन्य दुईजनालाई १२ गते पक्राउ गरिएको एसपी कार्कीले बताए । पक्राउ परेकाहरूले अभियोग स्वीकार गरेका छन् ।
सात कक्षामा अध्ययनरत ती बालिकाकी आमा इराकमा छिन् । बुवा पनि वैदेशिक रोजगारमा बसेकोमा दुई महिनाअघि नेपाल आएका थिए । घटना भएको दिन बुवा पनि ससुराली गएका थिए । उनी घरमा दिदी र भिनाजुसँग बस्दै आएकी थिइन् । बिहेपछि पनि उनकी दिदी भिनाजुसहित माइतीघरमै बस्दै आएकी थिइन् ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार बालिकाले राम्रो अभिभावकत्व नपाएकाले अपराधीहरूले उनीमाथि बलात्कारको योजना बनाएको देखिन्छ । सुरुमा बालिकालाई टिकटिक हेर्न मोबाइल दिएर फकाई मकैबारीसम्म बोलाएर बलात्कार गरेका हुन् । घटनाको पोल खुल्ने डरले उनीहरूले पछि हत्या गरेर शव भिरबाट फालिदिएको हुन सक्ने एसपी कार्की बताउँछन् ।
हत्यापछि चारजना शव व्यवस्थापनमा लागेको र एकजना भने कन्डम फाल्न खोलातर्फ गएको खुलेको छ । प्रारम्भिक सोधपुछमा पाँचैजनाले अपराध कबोलेका छन् । उनीहरू सबै गाउँमै बस्दै आएको र कुनै काममा संलग्न नभएको प्रहरीले जनाएको छ । उनीहरूमाथि बलात्कार र हत्या मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालतले सात दिनको म्याद दिएको छ ।
जीवनभर जेल सजाय हुन सक्ने
यो घटनामा संलग्नहरूमाथि जीवनभर जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहितामा ६ प्रकारको अपराधमा जीवनभर जेल सजायको व्यवस्था छ । जसमा निर्ममतापूर्वक ज्यान मारेको र बलात्कारपछि हत्या गरेको अपराध पनि छ । यो घटनामा दुवै अपराध आकर्षित हुन्छ । उनीहरूले बलात्कारपछि हत्या गरेका थिए । अर्कातर्फ निर्ममतापूर्वक हत्या गरेका थिए । घाँटी न्याक्ने, भिरबाट लडाउने र टाउकोमा ढुंगाले हानेर बालिकाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
जसअनुसार उनीहरूमाथि आजीवन कारागारको सजायअन्तर्गत अभियोजन हुने जिप्रका सिन्धुपाल्चोकका एक अधिकारीले बताए । निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी विस्फोट गरी ज्यान मारेको, अपहरण गरी हत्या गरेको, सार्वजनिक रूपमा उपयोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, जाति हत्या गरेको र जबर्जस्ती करणी गरी ज्यान मारेको अभियोग पुष्टि भएमा जीवनभर जेल बस्नुपर्ने प्रावधान २०७४ सालमा ल्याइएको मुलुकी अपराध संहितामा राखिएको छ ।