
सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म सगरमाथा वृक्षरोपण हुने वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बताए।
कार्बन उत्सर्जन न्यूनीकरण र अनुकूलनमा योगदान, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनर्स्थापना र जैविक विविधता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय समुदायको जीवनस्तर सुधार तथा भावी पुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माणका लागि महाभियान थालिएको मन्त्री शाहीले जनाए।
नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता गरिसककेको छ भने हालै सम्पन्न सगरमाथा संवाद, २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु संकट र त्यसको असरबारे विश्व जगतलाई ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’का लागि आह्वान गरेको थियो। संवादको मूल मर्म र भावनाअनुरूप नेपालबाट नै हिमालय जोगाउने प्रयासका रूपमा वृक्षरोपण अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने सरकारको निर्णयअनुसार वृक्षरोपण महाभियान सुरु भएको निमित्त वनसचिव डा. बुद्धिसागर पौडेलले बताए। अभियानले वनबाट समृद्धि, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरिएको साथै वनजंगल, वन्यजन्तु, वातावरण तथा जैविक विविधताका विषयहरू संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा समावेश छन्।
आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्यमा सामुदायिक वन तथा राजमार्ग किनार, खोला किनार, पर्ती जमिन, विद्यालय तथा कार्यालय प्रांगण, सार्वजनिक तथा निजी जग्गामा फलफूल, जडीबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षरोपण गर्न नागरिक तथा समुदायलाई प्रोत्साहन गरिने उल्लेख छ।