
म्यानमारको जुन्ता प्रमुख मिन आङ ह्लाइङले यही वर्षको अन्त्य (डिसेम्बर) वा आगामी वर्षको सुरुसम्म निर्वाचन गर्ने योजना बनाएको बताएका छन् । सन् २०२१ मा म्यानमारको नागरिक सरकारलाई सत्ताच्युत गरेको सेनाले निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएको हो । म्यानमारको सरकारी पत्रिका ‘द ग्लोबल न्यू लाइट अफ म्यानमार’का अनुसार जुन्ता प्रमुखले बुधबार राजधानी नेपिडोमा आयोजित एक सम्मेलनमा यस्तो घोषणा गरेका थिए ।
जुन्ता सरकारले शान्तिको मार्गको रूपमा आफ्नो चुनावी योजनालाई अगाडि सारेको हो । तर, पर्यवेक्षकले भने पूर्ववर्ती सरकारका अधिकांश सदस्य थुनामा रहेको, विपक्षी समूहले मतदान बहिष्कार गर्ने सम्भावना रहेको र धेरैको धेरै भाग विद्रोहीको नियन्त्रणमा रहेकाले जुन्ता सरकारले निष्पक्ष निर्वाचन गराउन सक्नेमा शंका व्यक्त गरेका छन् ।
निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएपछि सैन्य सरकार र प्रजातन्त्र पक्षधरबिच गृहयुद्ध सुरु भएको छ । त्यसबाहेक कैयौँ जातीय समूहले पनि दशकौँदेखि सेनाविरुद्ध लडिरहेका छन् ।